Sunday, September 28, 2008

Hitler ra Yahudi: हिटलर र एहुदी

नेपाली पाठकहरुमा आफ्नो मनोविज्ञान र दर्शन समाहित रचनाहरुले छुट्टै छाप छाड्न सफल बहुआयामिक व्यक्तित्वका धनी साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाद्वारा रचित हिटलर र यहूदी दार्शनिक अभिव्यक्तिहरु सन्चित् एउटा सफल उपन्यास हो । कोइरालाका जीवनदर्शन यौनकुण्ठा मनोदशा र मनोविज्ञानमिश्रित 'दोषी चस्मा' र 'श्वेत भैरवी'जस्ता कथाहरु साथै 'सुम्निमा', 'तीन घुम्ती', 'नरेन्द्रदाई', 'मोदिआइन' र 'बाबु आमा र छोरा' जस्ता उपन्यासहरु हामीमाझ छुट्टै छाप छोड्न सफल रचनाहरु हुन्। एक महान् राजनीतिज्ञ र नेता हुँदाहुँदै पनि आफ्नो रचनाहरुमा राजनीतिक गन्ध आउन नदिनु सफल साहित्यकारको विशेषता हो । उपन्यासकारको समयको व्यस्तता र अभावले गर्दा अपूरै रुपमा प्रकाशित हुन गएपनि यस उपन्यासका हरेक पृष्ठहरु आफैँमा पूर्ण देखिन्छन् । उपन्यासमा प्रयोग भएका हरेक दार्शनिक शब्द र वाक्यहरुमा दमित भावनाहरुले विशेष अर्थ बोकेका छन्।

यो उपन्यास उपन्यासकार विश्वेश्वरप्रसाद कोइरालाकॊ यथार्थ जीवनको साक्षात्कार प्रमाण हुन नसके पनि केही हदसम्म उनको अनुभव भनेचाहिँ पक्कै हो । 'म' पात्रले आफ्नो रोगको औषधोपचार गराउन बम्बैबाट लण्डन जाँदा जहाजमा भेटिएका साथीहरु/यात्रीहरु पानीजहाजदेखि इजरायलसम्मको यात्रामा देखेका विभिन्न ठाउँ र त्यस अवधिमा बितेका क्षण र ग्रहण गरेका अनुभूतिहरुलाई दार्शनिक र कलात्मक अभिव्यक्ति दिएर लेखिएको उपन्यास हो 'हिटलर र यहूदी'। दोस्रो विश्वयुद्धपछिको समयलाई मूख्य पृष्ठभूमि बनाएर लेखिएको यो उपन्यास 'म' पात्रको माथी उल्लेखितबमोजिम यात्राको वर्णन हो। नाजीहरु हिटलरले यहूदीहरुमाथी गरेका दमनका दर्दानक विषयहरुको वरीपरी उपन्यास घुमे पनि यो उपन्यास पूर्विय र युरोपेली कला साहित्य सङ्गीत दर्शन र आस्थाको समिश्रण हो।

कुकुरको इज्जत गर्ने तर यहूदी जातीका मानिसहरु कोही पनि बाँच्न नहुने भन्ने मनसाय बोकेका नाजीहरु र निरङ्कुश हिटलरद्धारा बालबालिका तरुण तरुणी वस्यक वृद्ध सबै गरी लगभग साठी लाख यहूदीहरुलाई भीमकाय ग्यास च्याम्बरमा थुनेर बर्बरतापूर्वक पाशविक ढङ्गले आलुझैँ पोलियो। लक्का-जवान र बलिया यहूदी युवाहरुलाई शारीरिक हिसाबले गाह्रा कामहरुबाट फाइदा लिइसकेपछि हत्या गरियो। हिटलरका सेनाद्धारा सुन्दर यहूदी युवतीहरुलाई छानी-छानी आफ्नो यौनको भोक मेटाइसकेपछि निर्ममतापूर्वक हत्या गरियो। बाँच्न सफल यहूदीहरुले आफ्नो जन्मथलो छोडेर अन्यत्र गई सरणार्थी भएर बाँच्न विवश हुनुप-यो । यसका साथसाथै कि दुश्मनहरुलाई सिध्याउने कि महिलाहरुलाई आफ्नो घुँडामुनी पार्ने भन्ने मनसाय बोकेका हिटलरका सेनाद्धारा आफ्नो राष्ट्र र परिवारको सुरक्षामा जुटेका कैयौँ जर्मन युवाहरु म्ारिनुका साथै थियोडोराजस्ता अनगिन्ती नारीहरु बलात्कारको शिकार हुनुप-यो। त्यो मानवसंहारको भयानक महामारीले कसैलाई केही दिएन; त्यसले कसैलाई जिताएन; मात्र करोडौँ मारिए लिओनार्डजस्ता लाखौँ लङ्गडा भए अन्धा भए; कतिले श्रीमान् गुमाए कतिले भाई छोरा आदिजस्ता प्यारा आफन्तहरु गुमाए; पर्यटकीय स्थलहरु चिहानले भरिए; मानिसका सिर्जनाहरु सबै भत्केर गए; पेट पाल्न नाबालकहरुले पनि नङ् खियाउन थाल्नुप-यो; उमेरै नपुगेका इल्जेजस्ता केटीहरु पनि दिउँसै जीउ बेच्न थाले अनि यस्तै यस्तै………॥ आखिरमा युद्ध सहमतिमै टुङ्गो लाग्यो। युद्धका विध्वंसहरुका बारेमा उपन्यासभित्र चरम वितृष्णाको भाव पाईँने हुँदा यो उपन्यासलाई युद्धविरोधी उपन्यास भन्न सकिन्छ ।

परम्परागतरुपमा अराजक देखिने यो उपन्यासले गीतालाई कता- कता अस्वीकार पो गरेको हो कि जस्तो पनि भान हुन्छ । अस्तित्ववादी दृष्टिविन्दुमा लेखिएको यो उपन्यासमा एकातिर हिटलरले गीताको चरम अध्ययनलाई मानवसंहारका निम्ति दुरुपयोग गरेको पाईन्छ भने अर्कातिर उपन्यासका पात्रहरु जीवनको अस्तित्व खौज्दै भौतारीरहेका मात्र पाईन्छन् । परम्परागत नेपाली समाजको र त्यसमा पनि ब्राह्मण परिवारको सदस्य 'म' पात्र घरकी देवीजस्ती पत्नीलाई छोडेर औषधोपचारको लागी विदेशिन्छ र उसलाई आफ्नो रीति र पारिवारीक जिम्मेवारी भुल्न धेरै समय पनि लाग्दैन । यौन र उत्श्रृङखल्ताको भंगालोमा उसले बाह्य स्त्री रेवा को आलीङ्गनमा रमाउन कति पनि हिच्किचाहट मान्दैन । यात्राका विभिन्न पात्रका व्यवहारहरुलाई उद्रित गर्दै आवेगले उमेर चिन्न नसक्ने विचार पनि उपन्यासकार कोइरालाले यस उपन्यासमा व्यक्त गरेका छन् ।

मानिसले आफ्नो हैसियत नभुली राम्रो काम गर्न र असल बन्न सके मानवसमाजमा शान्ति र समुन्नति कायम गर्न सकिन्छ भन्ने मूलभावका साथै अस्तित्ववादी विचारको पृष्ठभूमिमा युद्धविरोधी भावना विसङ्गति निस्तारता कर्मवादितासहित मानवजीवनमा नियतिको सर्वोपारिता र मानवतावादजस्ता गहन् विषयमा यो उपन्यास केन्द्रीत भएको पाईन्छ।

No comments: