Sunday, September 28, 2008

(Palpasa Cafe: Book Review)पल्पसा क्याफे : पुस्तक परिचय

नेपाली माटो र नेपाली जनताहरुले आत्मसाथ गरेका १० वर्षे लामो जनयुयुद्दकालका केही सत्यतथ्य भोगाइहरुलाई मूख्य आधार बनाएर लेखिएको त्यही युद्धकालको एउटा सच्चा परिचय हो- पल्पसा क्याफे । करिब एक दशकभन्दा लामो अवधिसम्म खूनबाट पोतिएको यस नेपाली माटोका केही समसामयिक चेतनाहरुको एउटा चोखो उदाहरण हो यो पत्रकार नारायण वाग्लेको उपन्यास । सन् २००५ अर्थात वि.सं २०६२ साल को मदन पुरस्कार विजेता वाग्लेको यो उपन्यास सबै उमेरका पाठकहरुका लागी सुहाउँदो र पाच्य देखिन्छ । नेपाली भाषको सरल प्रयोगले गर्दा सबै किसिमका पाठकहरुका लागी यो उपन्यास सजिलो र प्रथम रोजाईको रुपमा साबित हुँदै आएको छ ।

यस उपन्यासको प्रमुख पात्र 'म' अथवा दृश्य चित्रकलामा उच्च ज्ञान र छवि भएको चित्रकार हो र यही सिपद्धारा ऊ आफ्नो भविष्य निर्माण गर्ने तर्खरमा लागेको छ । भारतको सुन्दर पर्यटकीय स्थल गोवा भ्रमणका क्रममा उसको पल्पसासंग संयॊगात्मक भेटघाट र चिनजान हुन्छ । कुरैकुरामा उनीहरु आ-आफ्नो लक्ष्य र व्यक्तित्वद्धारा एकअर्काबाट प्रभावित हुन पुग्छन् र त्यसै भेटको सुरुवात संगसंगै उनीहरुमा एकदमै गहिरो भावनात्मक प्रेमको विकास हुन थाल्छ । कहीँ-कहीँ यी दुईको चिठीको सहायताद्धारा प्रेमको अप्रत्यक्ष चर्चा भएको पाईए पनि प्रेमकथा यो उपन्यासको मुलभूत विषय होइन ।

अनेकौँ संयोगात्मक र भावनात्मक घटनाक्रम संगसंगै कथा अघि बढ्दै जान्छ । कथामा सबै घटनाहरु साधारण रुपमा घटिरहेका पाईए पनि तिनले सबै पात्रहरुमा गहिरो प्रभाव पारीरहेका हुन्छन् । पात्रहरु आफ्नो जीवनकाल निर्वाह गर्दै अघि बढीरहेका हुन्छन् साथसाथै कालो दशाले उनीहरुलाई पछ्याइरहेको हुन्छ । भय त्रास र मृत्यु उनीहरुको पछि-पछि हिँडिरहेको हुन्छ । उपन्यासले युवा-सपना र तिनीहरुका लक्ष्यप्राप्तिको सन्देशका साथसाथै तिनले राज्य र माओवादीका हातबाट भोगेका दुःख-दर्दलाई वास्तविकतासाथ देखाएको छ ।

यो उपन्यासले पात्रहरुको बर्गीकरण उत्कृष्ट ढङ्गले गरेको छ । आफ्नो लक्ष्य र कर्ममा कर्मठ र पूर्ण विश्वासनीय चरित्रहरुले यो उपन्यासलाई झन् वास्तविक बनाएका छन् । कथाकी एक मूख्य पात्र पल्पसा अमेरीकामा रहेका आफ्ना मातापितालाई छोडेर वृत्तचित्रमा आफ्नो भविष्य निर्माण गर्न नेपाल आएकी छे । छिरिङ्ग र किशोर क्रमशः फोटोग्राफी र गायनमा आफ्नो भविष्यलाई उज्ज्वल पार्न तल्लीन छन् । पल्पसाकी हजुरआमाले कथाको मूख्य पात्र दृश्यमा आफ्नो मातृभूमिप्रति सद्भाव विकास गराउन ठूलो भूमिका निर्वाह गरेकी छिन् । यी पात्रहरु आफ्नो चरित्रमा सरल देखिए पनि नेपाली समाजका सबै मानिसहरुको प्रतिनिधित्व गर्न किम्ती पनि चुकेका छैनन् ।

पहाडमा रहेको आफ्नो जन्मथलो बिसे्रर काठमाण्डौमा नै जीवन व्यतीत गर्न थालीसकेको दृश्यको जीवनमा उसको क्याम्पसको साथी सिद्धार्थको पुनरागमनले कथालाई नै मोडिदिन्छ । माओवादी पार्टीमा प्रवेश गरेर राज्यविरुद्ध जनयुद्ध लडिरहेको सिद्धार्थले दृश्यलाई एकपटक भएपनि आफ्नो गाउँ र्फिर्कन पे्ररित गर्छ । दृश्यले बाटोमा भेटेका स-साना सबै पात्र र चरित्रहरुले जनयुद्धमा होमिएर सखाप हुन लागीसकेको देशलाई प्रतिनिधित्व गरिरहेका हुन्छन् । युद्धबाट प्रत्यक्ष तथा अप्रत्यक्ष दुवै रुपमा सबै निर्दोष नेपाली जनताहरु पीडित भइरहेका हुन्छन् । मानिसहरु आफ्नो सन्तान मीत श्रीमान ईत्यादीहरुको मृत्युबाट पिरोल्लीरहेका हुन्छन् । युद्धमा बन्दुक र बमबाट ध्वस्त भएर बाँकी रहेका घर विद्यालय र अस्पतालका नाङ्गा पर्खालहरुले दृश्यको बाल्यकालका केही मीठा सम्झनाहरुलाई पनि छिया-छिया पारीदिन्छन् ।

विकासोन्मुख र युद्धविरोधी भावनाले उत्प्रेरित दृश्यले आफ्नो जन्मस्थल विकास गर्ने अठोट लिन्छ । उसले गाउँको एउटा अग्लो ठाउँमा आफ्नी प्रेमिका पल्पसाको नाउँबाट एउटा क्याफे - 'पल्पसा क्याफे' निर्माण गर्ने विचार गर्छ तर उसको साथी सिद्धार्थ र प्राणपि्रय पल्पसाको मृत्युले उसलाई कमजोर बनाउँछन्। अन्त्यमा राज्यबाट ऊ आफैँ बेपत्ता पारिन्छ र वियोगान्त रुपमा उपन्यासको अन्त्य हुन्छ ।

युद्धविरोधी भावना लोकतन्त्रको गुन्जन पुस्तान्तरको प्रतिध्वनि प्रकृति सङ्गीत चित्रकला र विशुद्ध प्रेमको उत्कृष्ट वर्णन भएको यो पुस्तक नयाँ शैलीको नेपाली उपन्यास हो । कुनै न कुनै पक्षबाट युवा-सपना युवा-समस्या र नेपाली संस्कृति र परम्पराको स्वाद दिने यो उपन्यास अनन्त कालसम्म नेपाली समाजमा चर्चा भईरहने समसामयिक विषयवस्तु बोकेको एउटा उत्कृष्ट ऐतिहासिक पुस्तक हो ।

No comments: