Wednesday, November 5, 2008

एउटा साँढेको कथा


सडकमा भौतारीइरहेको साँढे
घाँस खुवाउँदा पनि किसानले नार्न सकेन
पेट अघाएको त्यो
के मान्थ्यो मत्तिएको त्यो
झन् लखेट्न थाल्यो उसैलाई
उस्ले साँढेसँग खेल्न सकेन
किसानले घरको बाँझो बारी जोत्न सकेन ।।

अर्को किसानले फेरी,
घाँस दियो,
लठ्ठी पनि उचाल्यो,
साँढेलाई त खेल् जस्तो लागेछ
के मान्थ्यो डुली खाने त्यो,
यो किसानलाई पनि त्यस्ले टेरेन
किसानले घरको बाँझो बारी जोत्न सकेन ।।

मङ्सीर नलाग्दै,
आहा!!
तोरीका पँहेला फूलहरु,
ठूला ठूला पोटिला कोसाहरु,
किसानका भरिएका भकारीहरु ।।

तर त्यो साँढे गोरू
केही दुब्लाएको,
केही झोक्राएको,
अनि,
नथिएको ।।

Monday, November 3, 2008

यो मन त मेरो नेपाली हो


हिँजो को दिन,
यानकि भाई टिकाको भोलिपल्ट,
खासै रमाइलो गरी बितेन,
के यू त बन्द नै थियो,
अब छेउछाउका बस्ती र पसल सुत्ने नै भए,
उता बनेपा तिर गाडी चलेको थिएन,
भाई टिका भनेर छुट दीइएको
अस्तिको एउटा घटनाको विरोध,
तर, खासै अचम्म मानिनँ,
नेपालीको इतिहास यसरि नै निर्माण भैरहेको बेला,
अब दर्शक नै भैसकेका थियौँ हामी,
यस्ता घटना र विचारको ।

उता,
माइतमा नै हुनुहुन्थ्यो,
घरको खाना खुवाउने आन्टी,
घरको पानी पियाउने आन्टी,
खल्तीमा वेवारिसे पारामा लडिरहेका थिए,
हजारका नोटहरु,
सदुपयोग गर्ने ठाउँ थिएन,
अब तास खेल्न नजान्ने मान्छे,
टेबल भरी स्याउ र सुन्तलाका दानाहरु,
भुइँ भरी प्लस्टिक्मा सेल रोटीहरु,
सबै न्यानो पेटको प्रतिक्ष्यामा थिए,
म लडिरहेको थिएँ,
खाटमा,
टोइलेटका यात्राहरुबाट थकित् भएर,
जिउँदो मुर्दा झैँ,
जिब्रो रसाइरहेको थियो,
पेट कराइरहेको थियो,
र,
मेरा आँखाहरु सिलिङमा चित्र कोरिरहेका थिए,
त्यही दाल भात र अचारको ।।