Thursday, March 26, 2009

मेरी आमा

पुराना फोटोहरु हेर्दै जाँदा,
त्यही फोटोमा मेरा आँखा अडिए,
मेरा बुवा र ममीको हाँसिरहेको फोटो,
बुवाको त फोटो खिचिराख्ने बानी छ,
र, उहाँको हाँसो बनाओटी थिएन ।।

तर अचम्म,
ममी पनि हाँसी रहनु भएको रहेछ
उहाँको अनुहार जूम गरेँ
मात्र दाँत देखिएका रहेछन्
मात्रा गाला खुम्चिएका रहेछन्,
बुवाले सिकाउनु भएको थियो
फोटो खिच्दा हाँस्नु पर्छ भनेर
र, त्यो अनुहारले
त्यही हाँसो दियीरहेको थियो ।।

त्यो अनुहारमा त्यो हाँसो सुहाएको थियो
स्वोभाविक हिसाबले,
खुलेर कसरी हाँसोस् त्यो
जसले बाल विवाह भोग्यो,
लोग्नेलाई जागिर खोज्न पठायो,
छोरोलाई खुट्टा लाग्दै शहर पढ्न पठायो,

अनी आफु त्यही रुखो माटोमा कुरी रह्यो
सुखका दिन,
लोग्ने फर्किने दिन
छोरो ज्ञानी भएर फर्किने दिन ।।

No comments: