Sunday, April 19, 2009

चाँगुनारायणको उत्पतिभित्र : जुठो नबार्ने पूजारीहरु

"तिमी मरेपछि म तिम्रो क्रिया गर्दिन"- हिन्दू धर्ममा आफ्नो सन्तानबाट कुनै पनि बाबु-आमाले पाउन सक्ने सबैभन्दा अपमानित र हृदयविदारक गाली हो यो । आफ्ना बाबुआमा वा नर-नाताको मृत्‍युमा जुठो बार्नु लगायत अन्य पित्रि-पुजाहरु अनिवर्य धार्मिक कर्तव्यहरु हुन् । यो कर्तव्य पालन भनेको हिन्दू धर्म र आस्थाको जगेर्णा गर्नु पनि हो । तर चाँगुनारायणका मूल पूजारीहरु आफ्नो आमाबाबुको जुठो बार्दैनन् । यो उनीहरुले आफ्नो धार्मिक आस्थाको अपमानित गरेका हैनन् । यसो गर्नुमा उनीहरुको परापूर्व कालदेखी चलिआएको आफ्नै अडिग धार्मिक आस्था छ । यो आस्थासँग काठमाडौं उपत्यकामा अवस्थित सबैभन्दा पुरानो मन्दिर चाँगुनारायणको धार्मिक र ऐतिहासिक गाथा जोडीएको छ ।

चाँगुनारायणको मन्दिर काठमाडौं उपत्यकामा अवस्थित सबैभन्दा पुरानो मन्दिर हो । पुरातात्त्विक कलाहरुले भरिपूर्ण यो मन्दिर काठमान्डौबाट २२ कि. मि. टाढा पर्दछ । कुनै स्पष्ट प्रमाण नभए पनि यो मन्दिर चौथो शताब्दीतिर बनेको हो भन्ने विश्वास छ । यो मन्दिर काष्ठकला र मुर्तीकलाहरुको उच्च नमुना नै हो । उपत्यकाको सभ्यता, जीवन, इतिँहास र सँस्कृतिको सुन्दर प्रतिमुर्ती हो चाँगुनारायण ।

परापूर्व कालमा चाँगुनारायण मन्दिर रहेको ठाउँ अधिकांस रुपमा चाँपको वन थियो । वन को एक छेउमा सुदर्शन नाम गरेका ब्राह्णण बस्थे । जंगलको वरिपरि अरु गोठालाहरु बस्थे । ति ब्राह्णणलाई तिनै गोठालाहरुले पाल्ने गर्थे । उनीहरु ब्राह्णणकहाँ बिहान-बिहान दूध पुर्याउन जाने गर्थे ।

तर एकचोटि धेरै दिन सम्म पनि कोही गोठालाहरु दूध पुर्याउन गएनन् । र, ब्राह्मणले किन दूध नल्याएको भनेर सोध्दा गाईले दूध नै नदिएको गुनासो पोखे गोठालाहरुले । भर्खर ब्याएको गाईले किन दूध दिएन भन्ने रहस्य बुझ्न चर्दै गरेका गाई सँगसँगै ब्राह्मण अहिलेको चाँगुनारायण अवस्थित ठाउँमा आइपुगेछन् । त्यती नै बेला चाँपको रुखबाट एउटा कालो पुरुष निक्लिएर गाईको थुन चुस्न थालेछ । अनि ब्राह्मन रिसाएर त्यो आफ्नो दूध खोस्ने कालो पुरुषको टाउको काटिदिए । त्यही टाउको काटिएको पुरुष चार वटा हात भएको चाङुनरयन को रुपमा त्यहीँ उत्पति भए । यो देखेर ब्राह्मन अचम्मित भए । उनलाई डर पनि लाग्यो । त्यसपछी अपराध गरेको महसुस गरेर ब्राह्मनले आफू पनि नबाँच्ने निर्णय गरे र मर्न तयार भए । त्यो उत्पति भएको चाँगुनारायन्बाट भगवान बिष्णु प्रकट भएर ब्राह्मनलाई मर्नबाट रोके । विष्णुले त्यसमा ब्राह्मनको केही दोष-अपराध नरहेको भनि तिनलाई सम्झाए । उनले यस सम्पूर्ण घटनाको प्रिष्ठभुमी ब्राह्मनको अगाडि पेश गरे ।

भगवान बिष्णु - "धेरै पहिला देवता र अशुरहरुको सँग्रामको बेला सुमति नाम गरेका ब्राह्मन अशुरहरुको तर्फबाट लड्न आएका थिए । अनि उनलाई मैले बाध्य भएर वध गर्नु पर्‍यो। त्यसपछी ब्राह्मनका गुरु शुक्रचार्यले मलाई ब्राह्मन हत्याको श्राप दिए । अनि त्यो श्राप कहिले मुक्त हुन्छ भन्दा जब सुमतिको सन्तानले तिम्रो शिर काट्छ तब तिमी श्राप-मुक्त हुन्छौ भन्ने उत्तर पाएँ । त्यही श्राप मुक्त हुन सारा प्रपन्च आँफैले रचेको हुँ । अब म श्राप मुक्त भएँ । तिमी त्यही सुमतिका सन्तान हौ ।"

अब म यही ठाउँमा बस्छु भनेर भगवान बिष्णुले त्यही सुदर्शन ब्राह्मनलाई आफ्नो पूजा गर्ने मुख्य पूजारी बनाइदिए । अनि त्यही सुमतिका वङ्शजले यस मन्दिरमा पूजा गर्नुपर्ने भएकाले आफ्नो मातापिता मर्दा पनि ति पूजारीहरुले जुठो बार्न पाउँदैनन् । अनि पूजाको नित्य सर्-सामानहरु तिनै गोठालाहरुले जुटाउन थाले । ति गोठालाहरु जुठोको बेला पूजारीकामा बसे भने उनिहरुलाई पनि जुठो नलाग्ने भयो । त्यो चलन अहिले सम्म पनि चलिरहेकै छ ।

स्रोत: चक्रधरनन्द राज उपाध्याय (पूजारी-चाँगुनारायण मन्दिर),
तेजेश्वर बाबु ग्वङग