Sunday, April 26, 2009

मानदेवको चाँगुनारायण : हामी आधारहीन इतिँहासका पाठकहरु

राजा त्रिभुवनलाई अब राष्ट्रपिता मान्ने कि नमान्ने भन्ने वैचारिक दोधारमा परेको छु म आजकाल । केटाकेटी छँदा तिनीजस्तै राष्ट्रसेवक बन्ने लक्ष्य नराखेको हुइँन मैले । ईतिहास सत्य भन्दा पनि शक्तिले निर्माण गर्दछ भन्ने कुरा मैले बुझ्न थालेको छु । धारावासिको "राधा"ले मलाई कौरवको चरित्रप्रति केही सहानुभुतिको भावना जताउने सोच भरिदिएको छ । म रावणको दुष्टता र रामको पराक्रमितामाथि शंकालु आँखाले हेर्न थालेको छु ।

हामीले पढ्दै आएको चाँगुनारायण मन्दिरको ईतिहास त्यस्तै आधारहीन छ । परापूर्व कालमा यो मन्दिरको नाम के रह्यो भन्ने कुनै आधार छैन। लिच्छवी कालमा यिनको नाम डोलाशिखर स्वामी थियो । त्योबेला चाँगुनारायण भनिन्नथ्यो। चाँगुनारायण मन्दिर अवस्थित डाँडोको नाम डोलागिरी र यसको शिखरको स्वामीको रुपमा यिनलाई डोलाशिखर स्वामी भनिएको हो । मल्लकालमा यिनको नाम नेपाल भाषामा कथिन पुग्यो । नेपाल भाषामा 'चाँप'लाई 'च' र 'वन'लाई 'गुँ' भनिन्छ । त्यही चंगुनारायण भन्दा-भन्दा अहिले आएर चाँगुनारायण हुन गएको हो । संस्क्रित् मा यिनलाई चम्पकनारायण भनिन्छ । काठमान्डौमा चँगुनारायण (अकार) र भक्तपुरमा चाँगुनारायण (आकार) बोलिन्छ । यिनको खास नाम भक्तपुरको बोलिअनुसार रहन गएको छ ।

चाँगुनारायण मन्दिरको स्थापना राजा मानदेवले गरेको भनेर हामीले पढ्दै आएको कुरा बिल्कुलै झुटो हो । हामीलाई झुटो कुरा पढाईएको हो । राजा हरिदत्त वर्माले उपत्यकाका चार नारायणका मन्दिर बनाइदिएको भन्ने कुरा लेखिएको चाँहीँ पाईन्छ । तर सातदोबाटो एक ठाउँको नाम भएजस्तै त्यो चार लेखिएको बहुबचन नारायणको निर्माण इचंगुनारायण मात्रै हुनसक्छ । त्यो भन्दा पहिले नै चाँगुनारायणको स्थापना भैसकेको थियो । अहिले सम्म चाँगुनारायण राजा मानदेवभन्दा धेरै अगाडि स्थापना भएको भन्ने आधार त्यो मात्रै हो र अहिले सम्म अरु प्रमाण भेटिएको छैन ।
१) प्रमाण नभएका कारण राजा हरिदत्त वर्मालाई नै स्थापनाकारका रुपमा मान्ने हो भने उनी राजा मानदेव भन्दा नौ पुस्ता अगाडिका मानिन्छन । त्यही भएर नौ पुस्ता अगाडिका राजाले मन्दिर बनाइदिएको र नौ पुस्ता पछाडिका राजाले मुर्ती स्थापना गरेको कुरा मिल्दैन ।

२) राजा मानदेवको अभिलेख(वि.स.५२१) मा चाँगुनारायण मन्दिर र मुर्ती स्थापना र निर्माणको कुरा कुनै पनि अंकित छैन । तर त्यही अभिलेखमा राजा मानदेवले चाँगुनारायण मन्दिरको गुठीको लागि जमिन/खेत चढायेको कुरा चाँहीँ अंकित छ । त्येसबेला राजा मानदेवको अभिलेख पढ्न नसकिएको तर उनको नै हो भन्ने चाँहीँ थाहा भएकोले हचुवाको भरमा उनले स्थापना गरेको भनेर लेखिएको हुनसक्छ ।

कक्षा ८ (२०५२-२०५८)को पाठ्यक्रम 'जनसंख्या वातावरण'मा चाँगुनारायण मन्दिर सम्बन्धमा लेखिएका धेरैजस्ता कुरा झुटा छन् । त्यो किताबले चाँगुनारायण जात्रा माघमा हुन्छ भन्छ तर जात्रा चाहिँ बैशाखमा हुन्छ । त्यहाँ चाँगुनारायणलाई माघमान नारायण भनिन्छ भनेर लेखिएको छ तर चाँगुनारायणलाई चम्पकनारायण, चँगुनारायण, गरुडनारायण मात्र भनिन्छ । अर्को नाम छैन । अर्को चाङुनारायणलाई साँखु लानु पर्छ भनिएको छ, तर साँखुलाई चाँहीँ चाँगुनारायणमा ल्याउनुपर्छ । कान्तिपुरका राजा भुपालेन्द्र मल्ल ले नेपाल संवत ८१४ फागुनमा यो मन्दिरको renovation गरिदिएका थिए ।

स्रोत: चक्रधरनन्द राज उपाध्याय (पूजारी-चाँगुनारायण मन्दिर),
तेजेश्वर बाबु ग्वङग