Thursday, April 9, 2009

Man Prasad Subba

कवि मनप्रसाद सुब्बाका केही कविताहरु
दार्जिलिङ तिम्रो पछिल्तिर
पेन्टिङ् जस्तो टाँगिएको त्यो कन्चन्जङा
यदि कृष्णको हत्केला भैदियको भए
घरी- घरीको यो चिर हरणमा
तिमी नाङ्गिनु पर्ने थिएन यस्तरी.......................

काठमाडौं एक दृष्‍टिछेद
कुनै एउटा सभ्यताको मस्तिस्कबाट उब्जेर,
अनि अब उपत्यकाको
फराकिलो नाङ्लोमा पनि नअटाएर,
फैलिरहेछ फिँजिरहेछ काठमाडौं निरन्तर
रिङ् रोड को घेरो नाघ्दै पर पर ।
आँफै दिशातर्फ निर्लित्त पल्टिरहने
सौम्यता र सरलताका
ति खेतबारी फाँटहरुलाई चपाउँदै निल्दै
बेहिसाब बढीरहेछ यो,
टाढा दुर्गम् क्षेत्रका आफन्तहरुलाई
सम्झने फुर्सत सम्म नपाएर
बाजी जित्नै जस्तो चारैतिर दौडिरहेछ यो ।।

सेन्ट्रिपिटल सेन्ट्रिफुगल दुबै शक्तिको श्वास प्रश्वासले
काठमाडौं जिवन्त छ यस्तरी
कि यस्ले श्वास लिँदा
गाउँहरुको मन काठमाडौंतिर खिचिएका हुन्छन,
अनि येस्ले निश्वास छोड्दा
वरिपरि बढिसकेको हुन्छ शहरको आयतन,
रिङ् रोड को लठारोले पनि
बाँधिराख्न नसकेको यो काठमाडौंलाई
तर काठमाडौंले नै आज थाम्न सकिरहेको छैन ।।

त्यैपनि काठमाडौंलाई छोडेर काठमाडौं
कतै टाढा भैहालेको पनि छैन,
बरु गाउँबाट गाउँहरु नै भाग्दै आएर
यो खबरै खबरको शहर भित्र
आँफैलाई खोज्दै बेखबर भै रहन्छन्,
त्यसो त काठमाडौं भित्रै काठमाडौं नै हराइसक्यो रे
भनेर पनि बूढाहरु अचेल कुरा गर्दा रहेछन् ।।

हुन त कुनै पनि ठूलो शहर भन्नु
चाहे त्यो भित्र भित्रै रोगी होस् या निरोगी
त्यो त्यसै पनि सर्वभोगी हुन्छ,
अनि कुखुराको ठूलो खोँगि जस्तो होस्
या त सुकुम्बासी जोगी होस्
शहर निकै ढोँगी पनि हुन्छ,
बाँच्नु को होड्मा येस्तो हुनुबाट
काठमाडौं मात्रै किन अपवाद होस् ?
आखिर शहर न हो
शहरमा जे पनि स्वोभाविक हुन्छ ।।

आवाजका वादहरु
ट्रक र बसहरु स्टार्ट गरेको थर्किँदो गर्जनले तर्सेर उठेपछि
अचेल मेरो यो सानो शहर पनि
अत्याचारी आवाजहरुको चिथ्योर्याइ र टोकाइहरुमा छट्पटी रहन्छ ।
अतिक्रमनको होड्मा बेहद-बेफुर्सद
सत्रतिरबाट दौडिरहेका संगीतका ध्वनिहरु पनि
अराजक्ताको असङ्गतिमा परेर साम्प्रदायिक दङ्गामा जुद्दछन् ।।

वर्षौँ वर्षमा पनि नखेदिएको दैनिक रुटिनको वाक्वाकी जस्तो,
आरीको दाँतमा दाँतै कुड्याउने रेतीको अन्तहिन किरिक् किरिक् किरिक्
एक एन्त्रमा पीडित निर्दोषको चिच्याहट जस्तो,
इलेक्ट्रिक रन्दाको चर्को ट्याँ ट्याँ,
सडकमा गुडिरहेका हतारहरु अधिर्ता कराउँछन झर्को लाग्दो,
प्रोपगान्डाका नाराहरु चट्याङ चड्काउँदै गर्जिँदैछन,
कारखानाको एकोहोरो कराउनु बाट सुरु भएको प्रगतिको क्रान्ति
हजारौँ मुख चारैतर्फ फर्काएर मान्छेको गिदी खाँदै कराएको कराएकै छ ।।

आक्रमणमा छन् अचेल जताततै हिंस्रक आवाजका बाजहरु,
खेदिएर भाग्दा भाग्दा लखतरान छन् बिनम्रताका ढुक्कुरहरु,
माहामारी जस्तो फैलिँदो छ यो गन्हाउने कोलाहाल,
यो अटुट कोलाहल बिच् कराएर बोल्नुपर्छ, सुन्दैनन्,
म्रिदु बोलि त अब इमान्दारिता जस्तै खतरामा छ,
खस्रो आवाजले लगातार रगेटेर बोधो भैसके बोधहरु,
रुखो आवाजहरुको राज छ,
त्यही राजका हामी संवेदना हराएका नागरिकहरु ।।

No comments: