Wednesday, August 12, 2009

सुमन'को सपना

सुमन हाम्रो देखि पल्लो घरमा बस्थ्यो । ऊ नाताले मेरो दाई पर्छ । ऊ जेठो हजुरबाउको नाति हो र म चाँहीँ कान्छो हजुरबाउको । ऊ मभन्दा करिब तीन वर्षले जेठो थियो । उसले म भन्दा धेरै पहिले देखि नै विद्यालय धाउन थालेको हो । तर ऊ कक्षा एकमा नै झुन्डी बसेको रहेछ । मैले विद्यालय जान थालेपछि हामी एकै कक्षाका साथी भयौँ । एकै कक्षामा पढ्ने भएपछि दाईभाईको नाता लाउने त कुरै भएन । बाल्यकालमा तीन कक्षासम्म सगैँ पढ्यौँ हामी । घङ्गरु र घ्याम्पे खाँदै तीन वर्ष त्यो गाउँमा उकाली ओराली गर्यौँ ।

उसलाई मैले जति वर्ष र समयसम्म देख्न पाएँ, सधैं एउटा कष्टकर जीवन बाँचिरहेको देखेँ । सधैं दु:ख मात्र फल्न जानेको त्यो गाउँमा कसो-कसो मेरो बुवा र काकाहरुले इमान्दारितापूर्वक पढ्नुभएछ । छोरालाई पढ्न पठाउँदा घरखेतको काम त्यसै बाँकी रहन्छ भन्ने आमाबाउको धारणाले कतिले त पढ्नै पाएनन् । त्यस्तो कालो युगमा छोरीलाई पढाउने त कुरै भएन । छोरीलाई पढायो भने बिग्रिन्छन्, पोइल जान्छन् भन्ने मानसिकता सबैमा पाइन्थ्यो । पढ्यो भने के हुन्छ भन्ने उदाहरण नै थियेनन् त्यो गाउँमा त्यो युगमा । यदि हाम्रो हजुरबुवा/आमाले त्यो बिचार राख्नु भएको भये म यतिबेला सायद कुनै खाँडी मुलुकमा हुन्थेँहोला ।

तर सुमनको बुवाले पढ्ने वातावरण पाएर पनि त्यसको सदुपयोग गर्नुभएन । जसको चपेटामा पर्न गयो सुमन । उसको घरको वातावरणले उसकी आमालाई पनि पोइल हिँड्न बाध्य तुल्यायो । सुमनका बाउले आफ्नै जेठी भाउजु लिएर हिँडे । सिक्किमतिर बस्छन् भन्ने हल्ला मात्र छ, गाँठी कुरो धेरै कमलाई मात्र थाहा छ । हामी केटाकेटी छँदा नै सुमनकी हजुरआमा बितिन् । सुमन आफ्ना कान्छा काकाकाकी र हजुरबुवा सँग बस्थ्यो । त्यही पुरानो युग नै फर्किन खोज्यो उसको जिन्दगीमा पनि । कहिले गाईवस्तु, कहिले घाँसदाउरा - अनेक बहानाहरुले उसको शैक्षिक अधिकारमा तँगारो हाल्न थाले । म र अन्य साथीहरुले उसको किताब लुकाएर बोकिदिन्थ्यौँ । बिना किताब हिँड्दा शंका गर्ने बाटो नहुने भएकोले उसलाई स्कुल आउन सजिलो हुन्थ्यो । उसका काका काकीका रातैपिच्छेका सन्तान हुन थालेपछि उसले स्कुल छोड्नुपर्‍यो ।

म अझै सम्झन्छु लेकको बारीको काम र घना जङ्गलले गर्दा उसका काला पट्पटी फुटेका खुट्टाहरु, खस्रा मैला हातहरु, नाम्लोले खिएको निधार । ऊ फाटेको कपडा र बिना जुत्ता-चप्पल विद्यालय धाउँथ्यो । उसले रहरले हैन बाध्यताले त्यसो गर्नुपर्‍यो । फेरी गुरुहरुको शिकार उही हुन्थ्यो । स्कुल छोडेपछि उसले हामी आवतजावत गरेको हेरेर नै मन बुझायो । तीन कक्षापछि म र मेरा काकाका छोराहरु सदर्मुकाममा बोर्डिङ स्कुल पढ्न भनेर गयौँ । सुमनले त्यही गाउँको रुखो माटोमा आफ्ना नङ्ग्रा घोट्दै बसिरहनु पर्‍यो ।

उमेर छिप्पिँदै गएपछि उसलाई आफ्नो वरिपरिको वातावरण असह्य हुन थाल्यो । उसको बाउ त सिक्किममा बस्छन् रे भन्ने हल्ला थियो तर उसकी आमाको अत्तोपत्तो छैन अझै पनि । उसले आफ्नो बाउकहाँ जाने विचार बनाउन थाल्यो । म काठमान्डौँ पढ्न आएपछि गाउँ गएको बेलामा एकदुइ वर्षसम्म उसलाई देख्न पाएँ । त्यसपछि ऊ गाउँबाट हिँड्यो रे भन्ने खबर मात्र सुनेँ । आजकाल त ऊ खोइ कता हो खलासिको काम गर्छ रे भन्ने पनि सुन्छु । असली कुरा त दैव नै जानुन् ।

सुमनले आमाबाउको अनुहार याद हुनेगरी उनीहरुलाई देख्न पनि पाएन । भन्थ्यो- "मलाई ति जाँठा-जाँठीहरुको अनुहार याद छैन ।" गाउँमा धेरै कमको मात्र खेत हुन्थ्यो । धेरै कमले मात्र मङ्सिर महिनामा धानका बिटा शानले बोक्ने अवसर पाउँथे । धेरैजसोको घरमा सधैं कोदाको घाँटीमा नै अड्किने ढिँडो र मकैको च्याँख्ला पाक्थ्यो । सेतो भात पाक्यो भने सोचे हुन्थ्यो त्यो घरमा पाउना आएका छन् या त त्याँ मासु पाक्दैछ । हाम्रो बुवाहरु जागिरे भएकाले सेतो भात त फालाफाल नै हुन्थ्यो । तर सुमनले सेतो भात खान कुनै चाड नै कुर्नुपर्थ्यो । एकदिन उसले मलाई यसो भन्यो- "एकदिन म यो गाउँमा कुर्सिमा बसेर खुट्टा हल्लाउँदै चामलको भात खानेछु ।" त्यो उसको आउने दिनमा सुखसंग बस्ने इच्छा र सपना थियो ।

(यहि नै हो मान्छेको इच्छा भनेको, जात भनेको । सुमन ढिँडो खान्थ्यो चामलको भात खाने सपना देख्थ्यो । म सदरमुकामको चर्चित बोर्डिङ स्कुलमा पढ्थेँ राजधानीको सुविधायुक्त स्कुलमा पढ्ने सपना बुन्थेँ । अहिले सुमन ड्राइभर बन्ने सपना बुन्दै होला । म विदेशको कुनै चर्चित विश्वविध्यालयबाट आर्ट पर्फमेन्स र फिल्म स्ट्डिजमा मास्टर्स गर्ने सपना बुन्दै छु । काठमान्डौँको व्यापारी कालो बजारी गरेर टन्न सम्पत्ति जोड्ने सपना बुन्दै होला । मान्छेले सपना देख्छन् र सपना देख्नुपर्छ पनि । तर सपना देख्दा-देख्दै मान्छे अन्धो बनिसक्छ । सपना देख्दा-देख्दै उसले बाँच्न बिर्सिन्छ । ऊ देश बेच्नथाल्छ । श्रेष्ठ प्राणीको सिँढिबाट तल ओर्लेर पाप गर्न थाल्छ । त्यही भएर यहाँ कैयौँ ख्याती श्रेष्ठहरु मारिन्छन् । त्एसैले सपना पनि देख्न जान्नुपर्छ । आलसको सपना देख्ने मान्छे सँधै दास बन्छ । आफ्नो पेट पाल्न सबैले जानेको हुन्छ । आफ्नो बचेरा र परिवारलाई त एउटा फिरङ्गी चरोले पनि पाल्न जानेको हुन्छ । अब एकपटक मानवको हैसिएतमा उभिएर सोच्ने पो हो कि ??? ) ...........................................(I took this photo after my SLC, 2061 B.S.).....................................................


4 comments:

melosic said...

कस्तो राम्रो लेखेको! कुन कलमले हो?

Sumati said...

Superb.......well written.......well expressed..but most importantly ...well felt...within the heart

chandiraj said...

nikkai ramro lagyo, it should be published in papers so that anyone can easily have access. It is really moving.

FIDEL said...

bravo...!!!

i just loved it , no need to say more.
keep up the good work.

fidel