Sunday, August 16, 2009

कान्तिपुरमा मेरो रात्रीदृश्य

अहिले यि प्राविधिक टिलाहरुले चौबीसै घण्टा चारैतिरबाट घेरिराखेको बेला पुराना पानाहरु पल्टाउने फुर्सद पनि नहुँदो रहेछ । हिँजो पनि थाहा थियो यो कुरा, तर अनुभव गर्न फुर्सद निकालेको रहेनछु । बल्ल थाहा भो’ जब म एउटा पुरानो डायरी पल्टाउन थालेँ । त्यो बेला केही कविता, गीत र गजल लेखेको जस्तो लाग्थ्यो तर खासै लेखेको रहेनछु । लेख्न खोजेको मात्रै रहेछु । अलिअलि मुस्कुराउँदै, अनि मज्जाले हाँस्दै र जिल्ल पनि पर्दै पानाहरु पल्टाउन थालेँ । तर एउटा कविता चाहीँ साँच्चै मन पर्यो । ‘नौ कक्षा’ भनेपछि ठ्याक्कै २०६० सालकै कविता परेछ । त्यो बेला चाईनिज फुल्टिनले लेखेको थेँ’ रंग पनि उड्दै जान थालिसकेको रहेछ । तर अब पासवर्ड कदाचित ह्याक नभएसम्म रंग उड्नेवाला छैन ।

“कान्तिपुरमा मेरो रात्रीदृश्य”

दुर्गन्ध हावा छिचोलेर निर्मल हावा आइसकेछ
झिल्-मिल् बत्ती जताततै नक्षत्र बस्ती छाइसकेछ
धुलैधुलो त्यो आकाशले पनि स्वच्छ पहिरन लाइसकेछ
हूल-घूइँचो थाम्ने बाटोले केही पल मुक्ति पाइसकेछ ।।

जीवन माग्ने कोमल हातले घरपीढिँमा निद्रा पाइसकेछ
झुटो आश्वासन दिने मुख पनि रक्सीको मातमा लडिसकेछ
दिनभर कराउने विदेशी मजदुर डेरामा सपना बुन्न थालेछ
राष्ट्रसेवामा तैनाथ ज्यान उभिँदाखेरी नै सुतिसकेछ ।।

धूर्त र ठग चिसो भुईँमा पापफल भोग्न थालिसकेछ
दलाल पनि दलाली कमाईमा आनन्दले घुर्न थालिसकेछ
पेट-पाल्न फोहोर खोताल्ने कुकुर एकोहोरो भुक्न थालिसकेछ
कामवासना चाहने लक्का जवान परस्त्रीसंग लठ्ठीसकेछ ।।

दिनभर थर्कने मन्दिरको घन्टा चुपचापसाथ बसिसकेछ
मानव पाल्ने त्यो जन्तु पनि आफ्नै ओडार पसिसकेछ
देवता हुँ भन्ने ठग पूजारी मानवसरी विलिन भएछ
कान्तिपुरमा मेरो यो रात्रीदृश्य दिउँसोको भन्दा गजव रहेछ ।।

2 comments:

melosic said...

मानव पाल्ने जन्तु भन्नाले ?

rajankathet said...

भन्नाले मानव पाल्ने जन्तु