Tuesday, October 13, 2009

कुसुमे रुमाल-२ को छिनोफानो

“पहाडको आँसु बोकी खोला बगेजस्तो, मायालुको आँसु बोक्ने कुसुमे रुमाल”
प्रकृतिको काखमा बसेर रचिएको यो गीत सुन्दै अनेकौँ पहाडहरू फोरेर बगेको दूधकोशीको किनारमा बालुवासँग जुध्दै म पाईला लम्काउँदै थिएँ । मेरो लागि यो माथिको लाईनले रमात्रै अर्थ बोक्यो पहिलो चोटी । कुरा अस्ति दशैँ मनाएर काठमाडौँ फर्किँदाको हो । एक रातको कठीन र ठेलाठेल बसयात्रा पछि कोठा पुग्ने बित्तिकै म झोला फ्याँकेर गोपीकृष्ण हलतिर लागेँ जहाँ धमाधम कुसुमे रुमाल-२ प्रदर्शन भईरहेको थियो । विशिष्ट श्रेणीको टिकट काटेर म गोपी हलको बालकोनीतिर
उक्कालो लागेँ ।

युवानिर्मित चलचित्र भनेपछि जोसहरू आफैँ उम्रिएर आउँछन्। कम्तिमा पनि फूलबारी डान्स र चोभारे फाइट को आशा हुँदैन । कमजोर पात्रको रुपमा प्रस्तुत नायिकाको बचाउ चित्कार सुन्नुपर्दैन । नेपाली चलचित्र भनेर नाक कोप्र्याउनु पर्दैन । परम्परागत स्वादलाई त्यागेको नयाँपनको आशा हुन्छ । जहाँ चरित्र र संवादहरूलाई राम्रोसित नियालिएको हुन्छ । र, केही हदसम्म कुसुमे रुमाल-२ ले ति आशाहरूलाई तुहिन दिएको छैन । यसले कागबेनीले थालेको नयाँपनको यात्रालाई अगाडि बढाउन खोजेको छ । यसले नेपाली समाजका आधुनिक युवाहरूको प्रतिनिधित्व गर्न प्रयास गरेको छ । यसले युवाहरूको मुटु राम्रोसित छामेको छ । यहाँ युवाहरू सही ढङ्गले पस्किएका पाईन्छन् । कतै युवाहरूको जोस, चाहना, अश्लिलता त कतै अराजकता, यसले केही पनि बाँकि छोडेको छैन । हिँजो नायिकाले नाइटो देखाउँदा सेन्सर गर्न तम्सिने सेन्सर बोर्डलाई वाल्वाल्ती पारिदिएको छ ।

यस चलचित्रमा पहिलो कुसुमे रुमालका अभिनेता-अभिनेत्री तृप्ती नाडकर र निर शाहको कुशलता पनि हेर्न पाईन्छ । निर शाह एकदमै छोटो भूमिकामा भए पनि एकपटक उनले सबैलाई हल्लाई छाड्छन् । चरित्रहरूको उचित छनौटले सुनमा सुगन्ध थपेको छ । नायक निरज बराल र नायिका रूबी भट्टराईले चलचित्रलाई अन्याय गरेका छैनन् । सक्दो प्रयास गरेका छन् उनीहरूले । सहरी परिवेशमा बनेको यस चलचित्रका चरित्रहरू पनि राम्रोसित सुहाएका र जमेका छन् सिवाय चलचित्रकी दोस्री नायिका उषा रजक जसमा भने केही खोट देखिएको छ । कतै कतै उनी अभिनय गर्न खोजिरहेकी जस्ती देखिन्छिन् । बोल्न खोज्छिन् बोली मिल्दैन, रुन खोज्छिन् ओठ मिल्दैन । अन्य चरित्रहरू कुनै पनि ठाउँमा चुकेका छैनन् ।

प्राविधिक पक्ष यसको सबैभन्दा सबल पक्ष हो । निरक पौडेलको निर्देशन उत्कृष्ट छ । चरित्रहरूमा हुनुपर्ने हाउभाउलाई उनले चिन्न सकेका छन् । उनीहरूको लवाइखवाइ, बोलाइ, हिँडाइ आदि सबै चालचलनमा उनले ध्यान पुर्याएका छन् । सङ्गीतमा पाश्चात्य मोह पाईए पनि चरित्र र विषयवस्तुभित्र समेटिएर र सुहाएर बसेको छ । कथा र सङ्गीतको घुलमेल उत्कृष्ट छ । आँखा जुध्दा टुरूरू बज्दैन । नायिका नायकको बाहुपासमा परेपछि प्रेमगीत बज्न थाल्दैन । झरनाको मुनि नृत्य सुरु हुँदैन । क्यामेराले सही कोणहरू समात्न सकेको छ । अनावश्यक लगातार क्लोज-अपहरूलाई यसले अस्विकार गरेको छ । खिचाइमा नवीनताको आभास हुन्छ । चलचित्र सुरु हुँदा दृश्य सम्पादनमा कमजोरी देखिए पनि पछि सबल हुँदै जान्छ ।

सरल कथामा आश्रित हुने प्रयास गरेको देखिन्छ कुसुमे रुमाल-२ ले । कथा नौलो नभए पनि देखाउने तरिकामा नयाँपन दिने फरक शैली झल्किएको पाईन्छ । अनावश्यक तिलस्मीपना र संयोगहरूबाट यसले टाढै रहन प्रयास गरेको छ । सरल जीवन पनि एउटा कथा हो भन्ने विश्वासमा यो अडिग रहन खोज्छ र यसको पहिलो हाल्फ् कुनै क्लाइमेक्स् बिना नै सकिन्छ । तर दोस्रो हाल्फ् मा यो चलचित्रलाई बिनासित्तिमा लम्ब्याइएको छ । साँढे दुई घण्टा देखि ३ घण्टाको परम्परागत शैलीलाई जीवीतै राख्न अनावश्यक घटनालाई जोडिदिइएको छ । यस पक्षले कुसुमे रुमाल-२ लाई केही कमजोर बनाएको छ ।

कुसुमे रुमाल-२ का कमी-कमजोरी र त्रुटीहरूमा चलचित्रले बोकेको अश्लिलता पहिलो नम्बरमा पर्न जान्छ । यो पूर्ण पारिवारिक हुन सकेको छैन । अश्लिलता उच्चकोटीको नभए पनि कम भने चाहिँ पक्कै छैन । यसका अघि हिन्दी चलचित्रहरू कम पर्न जान्छन् । हलिउडलाई धक्का दिन नसके पनि बलिउडलाई चाहिँ पछारिदिएको छ । सबै वर्गका लागि यो चलचित्र उचित बन्न असफल छ । युवा, वस्यक र वृद्द वर्गले यो चलचित्रबाट पूर्ण मनोरञ्जन प्राप्त गर्न सक्छन् भने केटाकेटीहरूलाई यसबाट टाढा राख्नु नै उचित ठहरिन जान्छ । सायद यसले अश्लिलता व्यापक रहने जमात र वर्गलाई मात्र लक्षित गर्न खोजेको हुन सक्छ । नयाँपन खोज्ने र अँगाल्ने क्रममा कुसुमे रुमाल-२ ले केही हदसम्म चुक्नु परेको पनि छ । शैली नयाँ छ । कथा पुरानो छ । मिश्रित छ । यसले नयाँपनको यथार्थ आभासलाई समर्थन गर्न सकेको छैन । यसले विदेशी चलचित्रको नक्कल गरेर नौलो स्वाद पस्किन खोजेको जस्तो भान पार्छ । कहिले रङ्ग दे वसन्ती, कहिले हम तुम, कहिले मै हुँ ना, कहिले कुच कुच होता है त कहिले दि वाल्क टु रिमेम्बरको झल्को दिईरहन्छ । साथै यसले अमेरिकन पाइले सिकाएको पाठको पनि आदर गरेको छ । समग्रमा मीठो खिचडी बनेको छ नवनिर्देशक निरक पौडेल निर्देशित चलचित्र कुसुमे रूमाल-२ ।

कथावस्तु नवीन नभए पनि प्रयोग नवीन छ । किस्मतजस्तो चलचित्रलाई हामी वर्षको सर्वोत्कृष्ट चलचित्र बनाउन सक्छौँ भने हामीले कुसुमे रुमाल-२ र यसमा देखिएका प्रयासहरूको आदर र सम्मान गर्न सक्नुपर्छ । यसले चखाउन खोजेका नवीन स्वादहरूको पान गर्न सक्नुपर्छ । हाम्रा चलचित्रमा देखिन थालेका यस्ता फरक धारहरूलाई अझ प्रोत्साहन गर्न सक्नुपर्छ । नेपाली चलचित्रले स्वरुप फेर्न लागिरहेको यो मिर्मिरेमा, यो महत्त्वपूर्ण समयमा, उदाइरहेका ज्योतिहरूको सम्मान गरेर प्रोत्साहनको बाटोतिर लम्किनुपर्छ । छिरिङ रितार शेर्पा, नवीन सुब्बा, भुषण दाहाल, मनोज पण्डित, निरक पौडेल लगायत अन्य जोसहरूलाई मर्न दिनुहुँदैन । र, त्यसपछिको फेरिएको समयले अवश्य पनि गुहार माग्नेछैन । नेपाली चलचित्रहरूलाई माया गरौँ भन्नेजस्ता बकम्फुसे स्वरहरू टि.भि. र पत्रपत्रिकामा बज्ने र छापिने छैनन् । उज्ज्वल रहने छ नेपाली चलचित्रहरुको आउने भविष्य । युवाहरूद्वारा निर्मित त्यो भविष्य, त्यो युगले अन्तराष्ट्रिय धरातलमा नेपाली चलचित्र उद्योगको छाप छोड्नेछ ।

3 comments:

melosic said...

हेर्न त मन लागेको फिल्म हो, हल जाने की cd पर्खिने जस्तो भईराखेको छ।

Prabesh said...

review पढ्दा त हेरौँ हेरौँ लाग्यो यो फिल्म । तर कागबेनी, सानोसंसारकोजस्तो चर्चा चैँ छैन खोइ किन हो यसको !! मैले त रिलिज भाको नै थाहा पाइनँ, मेरै कमजोरी हो कि कमजोर प्रचार हो खोइ!!

जे होस् अब हेर्न मनलाग्यो । मौका मिलेछ भने हलसम्म जानुपर्ला नभए ६‍-७ महिनापछि डिभिडि जिन्दाबाद !!

Eternal said...

:)

Keep on writing