Friday, October 9, 2009

निर्माणको निमित्त भनेर (Nirman ko Nimitta Bhanera)

कसरी अल्पेछ नि एउटा दु:ख सागरमा जीवन निर्माणको निमित्त भनेर । कसरी अल्पेछन् नि सोझा नेपालीहरू एउटा सामन्त समयको भुँडीभित्र जीवन निर्माणको निमित्त भनेर । कसरी अल्पेछन् नि निमूखा जनहरू एउटा अँध्यारो र हृदयविदारक इतिहासको पानाभित्र जीवन निर्माणको निमित्त भनेर ।

मङ्गलसिंह मानविर, धनमान मगर र जेठाजस्ता कैयौँ
निमुखा र सोझा नेपाली जीवनको सफल प्रतिनिधि र अभिव्यक्ति हो । ठेकेदार बीरबहादुर लामा थोरै सामन्त नेपाली समाज र जीवनको सत् चित्रण र उदाहरण हो । यो ठेकेदार कडा श्रम गर्ने जीवनहरुको खून चुसेर मात्ने वर्गको प्रतिनिधि हो । मङ्गलसिंह आफ्नो सुन्दर परिवारको निर्माणको निमित्त भनेर भोटाङ्को पहाडमा डकर्मीको काम गर्छ । दार्जिलिङ चिया कमानमा आफ्नी आमा र नयाँ दुलहीलाई छोडी केही जोहो गर्न भनेर ऊ काम खोज्दै यो ज्यानमारा भिरमा आइपुगेको हो । ज्यान नै माग्ने चिसो ठिहीजस्ता प्राकृतिक सन्तापसँग जुधेर पसिना र रगतले निर्माण गर्छन् मङ्गले र धनेहरू । अनि बीरबहादुरजस्ता ठेकेदारहरू न्याना सिरकमा गुटुमुटिएर निम्बु र ह्विस्कीको चुस्की लिँदै मजा लिन्छन् । यहाँ कोही कसैको लागि ज्यानमारा भिरमा जाकिएर मर्न आएको छैन । आएको छ त सुन्दर सपना बोकेर । एउटा सुन्दर जीवन र घरपरिवार निर्माणको निमित्त भनेर । कडा श्रमको बाबजुद पनि आफ्नो कमाईबाट बञ्चित छन् यि श्रमिकहरू । उनीहरू महिनौँ महिना पर्खाइन्छन् कमाइको आसैआसमा । कति सजिलै बेचिएका छन् उनीहरू । कति सजिलै गोर्खालीहरू हारेका छन् आज । कति सस्तोमा बेचिएको छ उनीहरूको श्रम । एउटा कहिल्यै पूरा नहुने आश्वासनले रोकिरहेको छ उनीहरुलाई त्यो तुच्छ संसारमा ।

क्षमता र चाहना हुँदाहुँदै पनि पारिवारिक समस्या र बन्धनले मङ्गलसिंह राईको शिक्षित हुने सपनालाई नौ कक्षामा नै सीमित पारिदिएको छ । बाबु बितेपछि उसको काँधमा थुप्रिएको छ एउटा धिपधिप गर्दै गरेको दियोमा सलेदो मिलाउने र तेल थप्ने जिम्मेवारी । पुरुष निर्मित समाज, सामाजिक कुण्ठा र अहंले मङ्गलसिंहलाई भोटाङ पुर्याएको छ । ऊ चाहँदैन आफ्नी दुलही सुनमायाले निर्माण गरेको सानो संसारको एउटा पात्र भएर बाँच्न । चाहन्छ ऊ सुनमायालाई आफ्नो न्यानो अंगालोको न्यानोपनमा फुलाउन । बाबु कमानको मंसीसाप, माता र तीन दिदीहरूको लाडप्यारमा बालापन बिताएको बच्चो मङ्गलसिंहलाई समयले सधैँ उही खुसि भरिदिन सकेन । कसरी फेरिदिन्छ नि समयले आफ्नो रूप मान्छेको जीवनमा । कुनै बेला मानबीरले पकाएको भात खाएर विद्यालाय जाने मङ्गलसिंह आज कसैलाई आहारा बुनिदिइरहेको छ ।

कति सजिलै हाँसिदिएको छ समयले मङ्गलसिंहको जीवनमा । दु:खले उसकी गाईजस्ती सुधि कान्छी दिदीलाई टपक्कै टिपिदिन्छ । दु:खले उसकी मातालाई निलिदिन्छ एउटा विभत्स युगको कोखबाट । अनि दु:खले नै उजाडिदिन्छ उसको बगैँचाजस्तो घर मरुभूमिमा ।

ओखती विज्ञानमा जीवन सुम्पेर पनि रवीन्द्र कुमार मोक्तानको साहित्यिक प्रखरता बिलाएको छैन । रस्सियाली माटोमाथि बसेर लेखे पनि यो ‘निर्माणको निमित्त भनेर’ शिर्षक उपन्यास नेपाली अभाव, विवशता र वेदनाजस्ता विषयहरुमा आश्रित छ । भोटाङको पहाडमा ज्यामी काम गर्ने दरिद्र नेपालीहरू र ठेकेदारहरू बाट हुने उनीहरूको शोषण नै यो उपन्यासको मूल विषय हो । मोक्तानले इमान्दार श्रमिकहरूको मुटुलाई छामेर यो उपन्यास लेखेका छन् । उनले नेपाली जनसित आत्मसात भएर श्रममा भाग लिएका छन् ।

लेखनभन्दा बोलीचालीको भाषालाई प्राथमिकता दिँदै व्याकरणिक नियमलाई भाँच्दै, औपन्यासिक सिद्धान्तलाई संस्करणात्मक रूपमा ढालेर कवितात्मक चिन्तनको रूपमा यो उपन्यास प्रस्तुत भएको पाईन्छ । सस्तो भावुकता, चिन्तन र तिलस्मीपनालाई कतै उब्जन नदिएर सरस शैली अँगाल्दै एउटा शुद्ध नेपाली उपन्यास बनेको छ ‘निर्माणको निमित्त भनेर’ ।

(यो पुस्तक पढ्ने मौका दिनुभएकोमा म गुरु जङ्गब चौहानप्रति हृदयदेखि नै आभारी छु)

No comments: