Monday, December 7, 2009

यो बखत

बनेपाको मुलसडक छेउ, केही घरको सामुन्ने, फोहोरको थुप्रो हाँसिरहेको छ सारा बासीहरूलाई गिज्याउँदै । सारा यात्रुहरूको ध्यानाकर्षण गर्दै । राष्ट्रको उँधौली र बर्बादीको संकेत गर्दै । अनि डुङ्गुर छेवैमा सानो टिनको टुक्रा एउटा गाडिएको लठ्ठीमाथि मस्तसित संकेत गरिरहेको छ- “यहाँ फोहोर फाल्ने कुक्कुर हो । ” केही अक्षरहरुमाथि फोहोर लत्पतिएको छ पढ्नै मुश्किल बनाउने गरी । यसको मतलब त्यो टिन झुन्ड्याइएपछि पनि फरक परेन । टिनको ठाउँमा एउटा ढुङ्गा गाडेर अबिर र फूल चढाएको भए नेपाली मन पग्लीहाल्थ्यो ।

टिनमा गरिएको सङ्केत हाम्रो आधुनिक नेपाली सभ्यता हो । हामीलाई बानी परेको हाम्रो व्यहोरा हो । हामी रिस, आवेग, विरोध आदिलाई यसरी नै प्रस्तुत गर्छौँ । यहाँ न कसैलाई फुर्सद छ
अरुलाई गुनले मार्न, न फुर्सद छ उदाहरण भएर देखाउन र न त राम्रो आचरण प्रस्तुत गर्न नै । सबैलाई स्वार्थले उम्कनै गाह्रो पर्नेगरि किचिरहेको छ । बाह्य बेवास्थाले कल्याणकारी भएर प्रस्तुत हुन सक्नुपर्ने जोसहरूलाई खर्लप्प निलिदिएको छ । यहाँ राजनीतिक विकृति सँगसँगै एउटा यस्तै तितो र अमानविय सभ्यता निर्माण हुँदैछ । यो “यहाँ” नेपालका तमाम कुनाकाप्चाहरु हुन् ।

खूब पढियो क्रान्ति भनाउँदा राजनीतिक परिवर्तनहरू । सात साल । सत्र साल । छ्यालिस् साल । दश वर्षे सशस्त्र द्वन्दकाल र भैसठ्ठी/ त्रिसठ्ठी साललाई त आँखाले नै देखेँ । आँखाले क्रान्ति हेरिरहेथ्यो । मनले राजनीतिक परिवर्तन देखिरहेथ्यो । फेरी अर्को एउटा आन्दोलनको थालनी । हरेक अन्त्यले यहाँ केही सुरू गरिरहेको हुन्छ – परिवर्तन अगाडिको समयभन्दा भिमकाय र खतरनाक । हरेक अन्त्य सँगसँगै जनताहरूले पाठ सिकिरहेका छन् । जनआन्दोलन-२ पछि उनीहरूले कर्तव्यलाई थाती राखेर अधिकार खोज्न सिके । विभिन्न माग गर्दै आवाज उठाउन सिके र जुन आवाजहरू अधिकारको सिमाभित्र गनिँदैनन् ।

भैसठ्ठी/ त्रिसठ्ठीको जनआन्दोलन समाप्त भएपछि शान्तिको सपना पूरा हुने आशा सबै नेपालीमा जिवितै थियो । नेपाली राजनीतिले लिएको नयाँ मोडप्रति उनीहरूले सुनौलो भविष्यको आशा गरेका थिए । अब देश बन्ला, नयाँ नेपाल बन्ला, सुन्दर नेपाल बन्ला जस्ता नेपाली मनका प्रकटीकरणहरू जताततै घन्किन थाले । तर अहिले त्यो आशा तुहिन थालेको छ । पलपल अशान्ति र त्रासमा दस वर्ष झेलीसकेका नेपालीहरू अझ खराब भविष्यतिर हाप्पिन चाहँदैनन् । शारीरिक बलले जितेको क्रान्ति भनाउँदो राजनीतिक परिवर्तनले व्यवहारमा प्रस्तुत भएर यो गरीब देश उकालो लाग्ने खालको केही काम पनि गर्न सकेन । र, अहिले यहाँ आएर महसुस हुन्छ हाम्रो देशमा गर्ने हातभन्दा बोल्ने राजनीतिक नेता बढि छन् भन्ने । कर्ता कम छन् । वक्ता धेरै छन् ।

सारा राष्ट्र हाँक्ने अभिभारा बोक्ने दलहरूले विकृतिको घिनलाग्दो खेल खेले । कालो झण्डा, विरोध र चक्काजामलाई शक्ति बनाएर राष्ट्रको कुनिर्माण गर्न थाले । सत्तारुढ हुँदा अन्धो हुने र बाहिरीएपछि बाटो देख्ने प्रवित्तिले नेताहरुलाई छुइपासो लायो । देश परिवर्तनका नाममा यहाँ कोही कोही विकृतिहरू देखिन थाले । राजसँस्थासँग सम्बन्धित सम्पू्र्ण धरोहरहरूको तोडफोडलाई संज्ञा दिईयो “नयाँ नेपाल” । कति जनताहरू कठपुतलीजस्तो आँखा चिम्लिएर यो विकृतिको जयकयकार गाउन लागे त कति यसको विरोधमा खडा भएर उत्रे । अब व्यक्तिगत स्वार्थ र जातिय मागले तेर्स्याएका तँगाराहरूलाई तोडेर जान असम्भव देखिन थालेको छ । नयाँ नेपालको भावलाई बुझ्न सकिएन । यहाँ भत्किएको राष्ट्रको स्वरुप चिल्ल्याउने काम भन्दा पनि थप भत्काउने काम सुरू भयो । फेरी पनि यहाँ पुरानै संस्कृति ‘धनिलाई धनमाथि धनको राश, गरीबको घरजग्गा उठिबास’ रफ्तारसित विकास हुन थाल्यो । एकजना कवि घनश्याम (माफ गर्नुहोला, थर थाहा नभएको)ले भनेजस्तै- “दु:ख सधैँ उकालो चढ्दो छ, कर्णाली दख्खिन बग्दो छ” ।

“मैले संसारभरिको हावा ख्वाएर मेरो देशमा ल्याएर फर्फराएको झण्डा फेरीनाले मलाई दुख्ने भो । भतभति पोल्ने भो मलाई । ” बबरमहलको एउटा चिया पसलमा काठमाडौँलाई सन् २०२० सम्ममा साइकल मैत्री सहर बनाउँ भन्दै लागिपरेको सानो युवासमुहलाई सम्बोधन गर्दै विश्व साइकल यात्री पुष्कर शाह मनभित्र खड्किएको देशप्रेम पोख्नुहुन्छ । उहाँ थप्नुहुन्छ – “झण्डा परिवर्तनले देश बन्दैन, सोच परिवर्तन हुनुपर्यो । मुर्ति तोडिनाले देश बन्दैन, खराब सोच तोड्नुपर्यो । नेताहरू सहमति भएन भनेर पाखा लाग्ने होईन, उनीहरूमा सहमति गर्ने मन हुनुपर्यो । राजतन्त्र परम्परा तोडिन्छ भने पशुपतिमा विदेशी भट्ट राख्ने परम्परालाई थामिराख्ने अन्य पार्टीहरूको परम्परावादी विकृतिपूर्ण सोच पनि तोडिनुपर्यो । ”

सहमति, विकास या अन्य कुराहरूप्रतिको सफलता र हासिलका लागि सुरूमा सोच नै परिवर्तन हुन जरुरी देखिन्छ । यहाँ गरिबीसित लड्ने तरिका गज्जबको छ । जलवायु परिवर्तनसँग पौँठेजोरी गर्ने तरिका पनि ढोँगी किसिमकै छ । तारागाउँ लगायत अन्य पाँचतारे होटलहरुमा बोराका बोरा पैसा खन्याएर सभा- सम्मेलन गरेपछि अब बाग्मती सफा हुने आशा गरिन्छ । काठमाडौँको प्रदुषण हटेर जान्छ भनेर पूरै विश्वस्त हुइन्छ । भर्खरै ‘जागौँ केही गरौँ, दिगो शान्तिको लागि गरिबी हटाऔँ’ नारासाथ टुँडिखेलमा आयोजित गरिबी उन्मुलन कार्यक्रममा हाइड्रोजन ग्यास भरिएका बेलुनहरू उडाएर राष्ट्रको काजसँग प्रत्यक्ष सरोकार राख्ने व्यक्तिहरू पनि राष्ट्रको गरिबीमा सामेल भए । अब हुम्लाका स्याउ आफैँ गुडेर राजधानी आईपुग्छन् । सीमामा विदेशी प्रहरीद्वारा विभत्स कुटपिट भएपछि मरेको एक नेपालीको ज्यादै नै दयनीय अवस्थाबाट गुज्रिरहेको परिवारलाई अब श्री पशुपतिनाथको आशिर्वादबाट राहत मिल्छ । ‍कोशीले आफैँ बु्झिसक्यो गरीबलाई बगाउनु हुँदैन भनेर ।

गत अक्टोवर महिनामा बढ्दो भूमण्डलीय तापक्रमबाट महाद्वीपहरुमा पर्नसक्ने खतराहरुलाई विश्वभर ध्यानाकर्षण गराउने हेतुले मालदिभ्सको मन्त्रीमण्डल पानीमुनि बैठक बस्यो । यहि कुराको सिको गर्दै यहि डिसेम्बर ४ तारिकका दिन नेपालको २६ टोलीको मन्त्रीमण्डल सगरमाथा आधा शिविरमा बैठक बस्दैछन् । अहिले फेसन र मागी खाने भाँडोको रुपमा विश्वभर चर्चित ‘जलवायू परिवर्तन’बाट हाम्रा हिमालहरुमा पर्न सक्ने खतराहरूबारे विश्वलाई ध्यानाकर्षण गराउन यो बैठक बस्न लागेको हो । बैठक कति फलदायक हुनेछ त्यो आउने दिनमा देखिने नै कुरा हो तर मुलुकमा पहिलो स्थानमा सम्बोधन हुनुपर्ने संवेदनशील र नाजुक स्थितिहरु अरु नै छन् । लोडसेडिङ्ग नहुँदा चासो हुन्न कसैलाई । हुन थालेपछि विकल्पको देउतासरी खोजी गरिन्छ । अहिले हिउँदमा बाढीको रित्ति पनि शङ्का हुन्न । वर्षामा समस्या उर्लेर आएपछि मात्रै कान ठाडो हुन्छ सबैको ।

देश समस्याहरूबिच जाकिएको कुरामा धेरैजसो विज्ञ नै छन् । समयले ईमान्दारिताको राजनीति गुहारिरहेको छ । कार्यतत्परता अहिलेको मूख्य आवश्यकता हो । को राजनेता, को मानवअधिकारकर्मी, को वातावरणकर्मी, को नागरिकसमाज र को जनता अहिले सबैको सक्रिय सहभागिताबिना देशको उत्थान सम्भव देखिँदैन । कठीन सिँढीमा चढ्न हरेकले आफैँ खुट्टा उचाल्नु पर्ने बेला आईसकेको छ । अब हिँजोको सोच बदल्नुपर्छ । जलवायू परिवर्तन र वातावरणीय क्षय, अपकर्ष र अवनतिका बारेमा दोषारोपण सहित ठूला-ठूला भाषण गर्नुभन्दा अगाडि पेडल घुमाएर जिम्मेवारी बोध गर्नु यो बखतको अपरिहार्यता देखिएको छ ।

2 comments:

binokary said...

"कर्ता कम छन् । वक्ता धेरै छन् ।"
धेरै राम्रो।

gambhir said...

fohorko dangurlai udaharaan banayera nepalko purai fohori sthitilai nai ujagara garne prayatna ramro chha..