Wednesday, December 23, 2009

साइकल डायरी



१५ नोभेम्बर, २००९

एक हातमा लड्डु


‘दुवै हातमा लड्डु’ भाग्य हो । जीवन होईन । यथार्थमा एक हातमा उर्जा थप्दा अर्कोको काम थाँती नै रहँदो रै’छ । यही अवस्थाबाट गुज्रिरहेको छु म अहिले । एकातिर काठमाडौँ विश्वविद्यालय र अर्कोतिर इच्छा-जोस्-सपना । यी कुनैमा मेरो नियमितता छैन । अलिअलि फुस्काइरहेको छु दुवैलाई । फुस्काउनु मेरो बाध्यता हो । दुवैको सफलता असाधारण क्षमताको फल हो, जुन् ममा छैन ।

भारत मेरो पनि मित्र हो । तर भारतको म (नेपाल) प्रतिको हेराइ मेरो दुश्मन हो । यो हेराइलाई म घृणा गर्छु । भारतले सीमा नमिचेको भए ‘काठमाडौँ साइकल सिटी २०२०’ जन्मिने थिएन । सहयोगका नाममा अधिकार जमाउने दुष्प्रयास नगरेको भए आज ‘मोटरसाइकल’ मेरो बाहन भइसकेको हुने थियो । मनोज पण्डितले ‘ग्रेटर नेपाल’ नबनाएको भए यो विषयमा म त्यति सचेत हुने थिईँन । ग्रेटर नेपाल हेरेँ । गाँठी कुरो बुझेँ । रगत पनि उम्ल्यो । र, कतै कुनामा खड्किरहेको
देशप्रेम पोखिन थाल्यो । सडक तताएर जनता ब्युँझ्याउने सुत्रले अब अपेक्षित प्रतिफल दिन छाड्यो । टायरको धुवाँ मेरो चिनारी बन्न सक्दैन अब । चेतनशील युवा समाजको एउटा सानो अंग भएको महसुस गरेकोले मैले परिवर्तनको विगुल आफ्नै आगनबाट फुक्ने निर्णय गरेँ । राजनीतिक हस्तक्षेप बाह्य छ । अनि हाम्रो सार्वभौमताको संकट आन्तरिक तर निश्चित छ । एक थोपा पेट्रोलमा एक मुठ्ठी देशको माटो आउँदैन । त्यसैले पेडलको यात्रा मेरो बुताको क्षमता हो । नेपालको दीर्घकालिन् र दिगो विकासको संकेत । परनिर्भरताको विरोध । राष्ट्रिय स्रोत-साधनमा निर्भर राष्ट्र निर्माणको सूचक । वातावरणप्रतिको मेरो कर्तव्य । भावी सन्ततिप्रतिको मेरो दायित्व ।

काठमाडौँ साइकल सिटी २०२० अहिले बामे सर्न थालेको छ । नोभेम्बर २१, २००९ का दिन यसले आफ्नो खुट्टाको भरमा उभिन प्रयास गर्नेछ । काठमाडौँ उपत्यकामा साइकल प्रवर्द्धनका निमित्त काठमाडौँ साइकल सिटी २०२० को पहिलो अभियान स्वरुप नोभेम्बर २१ का दिन हुन गइरहेको साइकल –यालीले काठमाडौँ बासीमा आफूलाई चिनाउने लक्ष्य लिएको छ । यो –याली सफल भयो भने अहिले देउतासरी भइरहेको स्पोनसरको खोजी भविष्यमा अन्त्य हुनेछ भन्ने हाम्रो आशा छ । समयको कमीका कारण यो –यालीलाई सफल बनाउन यसका सदस्यहरूको मेहनत अपरिहार्य देखिन थालेको छ । काठमाडौँ विश्वविद्यालयका विद्यार्थीहरूको सङ्ख्या र प्रभुत्व अधिकतम हुनु यो अभियानका लागि फाइदा र नोक्सान दुवै साबित हुन थालेको छ । फाइदा यसकारण कि काठमाडौँ विश्वविद्यालयको नाम बिक्छ बजारमा र नोक्सान यसकारण कि बनेपा बाट काठमाडौँ पुग्नु पर्छ यताउता चाँजो मिलाउन। आधा दिन गाडीमा नै बित्छ । कहिले कक्षा नै छोड्नुपर्छ । कसले कतिखेर केको लागि बोलाउँछ थाहा हुन्न । साइकल प्रवर्द्धनको सफलतामा मेरो पढाइ यथावत रहन सक्ने लक्षणहरू प्रबल भएर देखिन थालेका छन् ।

काठमाडौँ विश्वविद्यालयमा होस्टेल जीवन बिताइरहेको छु अहिले । शैक्षिक प्रगतिको लागि बसेको हुँ तर बसाइको लक्ष्य ओरालो लाग्दो छ । यहाँ प्रशस्त साथीहरू छन् । सुनौलो साँझ छ । फुटबल खेल छ । होस्टेल पछाडि सोमरस पसल छ । कहिलेकाहीँ अबेर रात्रीसम्म सङ्गीत साधना हुन्छ । रातोदिन इन्टरनेटमा समय बिताईन्छ । सब हुन्छ यहाँ । सब छ यहाँ । केबल पढाइ छैन ।

साइकलयाली: व्यस्तता दिनचर्या

असिनपसिन जिउ पखालेर अहिले म फेरी यो पुरानो ल्यापटपको किबोर्डमा औँला दौडाइरहेको छु । अहिले म काठमाडौँमा छु । भर्खर हाम्रो साइकल सिटी २०२० को मिटिङ्बाट आएको । हाम्रो अभियान र हाम्रो प्रस्तावनाले अपेक्षित दाताहरुको मन पगाल्न सकेन । अब थोरै रकमबाट कसरी ठूलो –याली समायोजन र सम्पन्न गर्ने भन्ने विषयमा ध्यान केन्द्रित गर्ने समय आइसकेको छ । विश्वविद्यालयको पढाइ छोडेर समय खर्चिरहेको छु । मजस्ता एक दर्जनले समय एउटा परिवर्तनको लागि फ्याल्न सुरुवात गरेका छौँ । डर केवल एउटै छ । सँगसँगै आउने अवसर र फाईदाहरुले स्वार्थ जन्माइहाल्ला कि भन्ने ।

त्यो बेगमा बस दौडाइरहेको ड्राइभरको गाली बेमजा तालमा खेलिरहेको छ मस्तिस्कमा । गल्ती कसको हो भेद गर्न अझै सकेको छुईँन । तेजमा रहेको मेरो साइकल र त्यो बसले एकआपसमा एक फिटभन्दा कमको दुरी कायम गरेर पनि एकअर्कालाई छुएनन् । म बाँचे । म बाँचे त्यस ड्राइभरको तितो वाणी सुन्न । अंग्रेजीमा उल्था गर्दा त्यो गाली यस्तो सुनिन्छ, - “हेई मदरफकर !! यू वेयर अल्मोस्ट डेड । ” म चुपचाप आफ्नो बाटो लागेँ । अहिले हरेक पेशेवरहरुको सङ्गठन हुन्छ भन्ने मलाई स्पष्टै थाहा छ । कसैलाई छुनु भनेको आफैँलाई दलदलमा होम्नु जस्तै हो । गाली सहनुमा नै बेस हुन्छ ।

ढाडमा जम्मा भएको पसिनालाई सावरले पखालेर म गृहकार्य गर्न बसेको छु । साइकल चढ्दा खर्चिनु पर्ने भनेको मात्र जिउको बल हो । पाईला-पाईलामा ईन्धन खर्चिनु पर्दैन । कालो धुवाँ फ्याँक्नु पर्दैन । असर पर्ने भनेको केही सेकेन्ड समय हो, वातावरण त झन् नै हरावरा हुन्छ । आउने भनेको सवारी बिलखर्च होईन, मात्र पसिना हो । त्यो पसिना फ्यालेपछिको जिउमा आउने स्फुर्ति भनेको एउटा साइकल चालक भएपछि मात्र भोग गर्न पाईने सन्तुष्टि हो । यहि स्फुर्ति र सन्तुष्टिका साथ केही घण्टा जिम्मेवारी बोध गर्न भनेर गृहकार्य गरिटोपल्दै छु । अगाडि टिभि छ १०० वटा च्यानल आउने । टिभिको छेउमा रिमोट छ जसतिर मन झम्टिरहेको छ हातले आँट गर्न नसकेपनि । अनि दिमागमा २१ नोभेम्बरको साइकल –याली छ । अनि –याली पछिको साइकल सिटीको भविष्य ।

‘काठमाडौँ साइकल सिटी २०२०’ अभियानको प्रवर्द्धनको लागि हुन लागेको –याली मेरो दिनचर्या हो । दिन ठाउँठाउँ धाउँदैमा र दिमागमा कुरा खेलाउँदैमा नै बित्छ । सक्ने ठाउँ जति साइकलमा नै धाउँछु । आफैँले सुरु नगरे अरूले नपच्छ्याने निश्चित छ । अगुवा आफैँले परिवर्तनको पाइला नउचाली धर नपाईने रैछ । देख्नेहरु मेरो लागि साइकल बाध्यता देख्लान् । कति साथिहरूले त ढर्राको संज्ञा पनि दिईसके । तर मैले साइकल यात्रा रुचाउन थालीसकेँ । गार्हो भनेको काठमाडौँको नमिलेको अव्यवस्थित सडक हैन रहेछ । असुरक्षित भनेको साइकल यात्रा हैन रहेछ । अनुभव पछि थाहा भयो । हाम्रो व्यवहार नै असुरक्षित रहेछ । सोचाइ नै गार्हो रहेछ । अनि समाज निर्माण र रुपान्तरणको यो तरिका नै बाधक रहेछ स्वच्छ मानव भविष्यको । दिउँसो होस् वा राती, स्वतन्त्ररुपमा दुई पैयाँले आकाश छुन खोज्नुको मजा नै अर्कै छ । राती केवल एउटा बत्ति हुनुपर्छ साथमा पाङ्ग्रालाई सही ठाउँमा दौडाउन ।

आज दिउँसो दाता खोज्दै वैद्य समुहको टोयोटा पनि पुगेका थियौँ । यसका सिईओ सुरज वैद्य पनि बेलाबखत साइकलमा नै कार्यालय आवतजावत गर्छन् भन्ने सुनेका थियौँ । हाम्रा सल्लाहकारहरूद्वारा हामीलाई वहाँलाई भेट्ने सल्लाह दिईएको थियो । सहयोगको लागि केही दिन अझै कुर्नुपर्ने भयो सिईओको अनुपस्थितिमा कार्यभार सम्हालिरहेका जेनेरल म्यानेजर (प्रमुख व्यवस्थापक) विनोद बरालका अनुसार । बराल सरलाई भेट्ने समय कुर्दै गर्दा भित्तामा ठूलो फ्रेमभित्र सजिएको एउटा फोटोमा आँखा कुदेका थिए । त्यस फोटोको पुच्छरमा दुई लाईन अँग्रेजी शब्द पनि कोरिएका थिए । त्यो देखेर आँखा धमिलो भयो । मनले ज्योतिको आभास गर्यो । ठ्याक्कै याद छैन ति लाईन तर पनि तिनको सार यस्तो छ, “तपाईँ आफ्ना सन्तानहरूबाट उदारो लिएर पृथ्वीको प्रयोग गरिरहनुभएको छ । ” अर्थात, हामीले उपभोग गरिरहेको यो प्राकृतिक सम्पदा हाम्रा सन्ततिको भाग हो । हामीले पाएको अँश त हिँजो नै सकिसक्यो । सन्तानको भविष्यनिर्माणमा सहयोग पुर्याउनु अभिभावक हुनुको कर्तव्य हो तर सन्तानबाट उनीहरुको भविष्य नै खोस्नु कहाँसम्म जायज र मानवीय छ ?

-याली सफल भयो भने पढाइ छोडेर दौडेको समयको पुर्ति भएको चित्त बुझाउने बाटो हुन्छ । सफल भए साइकल सिटीलाई अवसर हुनेछ । नभए एउटा अनुभव हुनेछ । काठमाडौँले हामीलाई चिन्ने आशा छ । मिडियाले चिन्ने आशा छ । नोभेम्बर २१ पछि साइकल यात्रीहरू एकजुट हुने बाटो मिल्ने आशा छ ।

नेपालको प्रथम किरात राज्य

आफू अगाडि कम्पुटर र कम्पुटरमा इन्टरनेट भएपछि दिन एत्तिकै बित्छ बिहान उठेदेखि चलाउन सुरू गरेको भए । यत्तिकै सुत्ने बेला हुन्छ कक्षा सकेर चलाउन सुरु गरेको भए । कहिलेकाहीँ बुद्धि फिर्ने सङ्केत देखिए ज्ञानमूलक र सुचनात्मक कुराहरू पढिन्छ । हेरिन्छ । नत्र सोस्यल नेटवर्किङ्ग (सामाजिक सञ्चार) साईट फेसबुकमा सबै समय बित्छ । जस्तै राम्रो कुरा पनि हानीकारक हुँदो रै’छ प्रयोग गर्न जानेन भने । म चुरोट सेवन गर्दिन तर फेसबुकले लाउने क्यान्सरले लक्ष्यमा नै पुग्न नदेला जस्तो छ । खूब सेवन गर्छु म अचेल यसको ।

एकचोटी बुद्धि फिरेर ईकान्तिपुर डटकममा केही चाखलाग्दा समाचार खोजिराथेँ । एक्कासी आफ्नो जन्मस्थान खोटाङ्ग जिल्लाको नाम देखियो । अनलाईन सँसारमा विरलै देखिने नाममा यो जिल्ला पनि पर्छ । कुनै संवेदनशील, आकर्षक वा ध्यानाकर्षण गर्न सक्ने सामाजिक वा राजनीतिक घटना नै घट्नु पर्छ यस्ता ठाउँका लागि राष्ट्रिय चासो र महत्त्वको खबर बन्न । भाग्यवस वा अभाग्यवस यहि भएछ मेरो खोटाङ्गमा पनि । माओवादी निकट किरात मुक्तिमोर्चाले आफ्नै तालमा यसै घोषणा गरिदिए पूर्वका खोटाङ्ग, भोजपुर, सोलुखुम्बु र वखलढुङ्गालाई किरात राज्य भनेर । कसैले घोषणा गर्दैमा घोषणा हुँदैन । बहुसङ्ख्यक जनताहरू आफैँ घोषित नभएसम्म कसैले लछारपाटो लाउन सक्दैन । कसैले मन्दिर कुल्चिदिएर मनको अमेट आस्थामा परिवर्तन गर्न सक्दैन । फेरी त्यो घोषणा त एउटा पार्टीले सत्ताको लागि चूर भएर गरेको हो । सधैँ निउँको भरमा सत्ता र शक्ति चाहने विकृत तृष्णाले छट्पटिएर चाल्न खोजेको त्यो कदम बहुसङ्ख्यक राष्ट्रप्रेमी नेपाली जनतालाई मान्य छैन भने मैले हरेस खानुपर्ने केही कारण छैन । मेरो पक्षमा सिङ्गो देश छ । सत्यका पक्षधर मेरा पक्षमा छन् । मेरो लागि खोटाङ्ग सधैँ बहुजाति नेपालीहरुको साझा घर हो । कसैको निजि कार्यालय हैन ।

मेरा हजुरबुवा-हजुरआमा, बुवा-ममीले जुठेल्नो चोख्याएपछि गरेका ति कथाहरु, कथाजस्ता लाग्ने घटनाहरु, किम्ति पनि उडेका छैनन् मेरो स्मृतिबाट । पंचायतकाल आफैँ नभोगे पनि कथामा भोगेको छु । म ति पीडितहरुको दु:खमा सहभागी भएको छु । कथा सुनाउँदा बखत मैले देखेको त्यो चेहेराभावबाट त्यो युगसँग आत्मसात गर्न मौका पाएको छु । सुनेअनुसार प्रधानपञ्चको चम्चा बैदाङ्गी डाँडाबाट चिच्याउँथ्यो । यो डाँडाबाट गाउँलाई नै सुनाउन र थर्काउन सकिन्छ । पञ्चको घरमा काम परे वा पञ्चले सभा र बैठक डाक्नुपरे त्यो अप्रिय आवाज बज्थ्यो रे । के बिरामी, के सुत्केरी, के वर्षायामको डौडधुप, के कामैकामको चटारो कुनैले पनि बहिष्कार गर्न सक्दैनथे त्यो बोलीद्वारा गरिएको अह्रावट । आफ्नोलागि सब माया मारेर उसको लागि जानुपर्थ्यो । पञ्चको मेला, पञ्चको करेसाबारी, पञ्चको आगन, पञ्चको जुठेल्नोमा धसिनुपर्थ्यो । धसिन मन नभए सभामा एउटा निरीह प्राणीसरह मुस्ले र तिघ्रेहरुको चुटाइ खान तम्तयार हुनुपर्थ्यो । विदेशी शक्तिद्वारा अखण्डतामा प्रहार होला भनेर लागु गरिएको भनिएको त्यो पञ्चायतप्रति मेरो अगाव श्रद्दाभाव र आदर छ । तर देशका कुना कुनामा मियोको वरिपरि दाईँ भएका जनताहरुका कारण माफीको लाएक छैन त्यो युग । म सहिष्णुता मान्ने र जातभातको विरोध गर्ने मान्छेलाई रत्तिभर मन छैन यो खोल्न कि किरातीहरूमात्रै पञ्च हुन पाउँथे रे मेरो गाउँमा । तोकेर किराती भन्न मनले मानिरहेको छैन । तर भर्खर जन्मिएकोलाई पनि सिधा आँखाले हेर्नु हुन्नथ्यो, पुरै घार खनिन्थ्यो त्यति हेरेबापत भनेको सुन्दा म धमिलो रुपमा नेपाली भविष्यको कल्पना गर्न थाल्छु । जातिय राज्यप्रणालीले पोल्छ मेरो छाती ।

कल्पना गर्छु छिमेकका दुई भर्खर सिङ्ग् उम्रेका बहर जुधिरहेका । एउटाले चुटाइ खाँदा छिमेकमा जाने बाटो बन्द भएको । पानी जाने कुलो थुनिएको । बिजुलीको खम्बा ढालिएको । थाहा छैन ‘त्यो’ भईहाल्यो भने एउटा गाउँको उब्जनी अर्को गाउँमा जाने हो कि हैन । खुकुरीवीर भनेर हामीलाई लगाईएको ‘ट्याग्’ मलाई अब असह्य हुन थालेको छ । पृथ्वीनारायण शाहले आईपर्नेलाई जाईपर्नु भन्ने उक्ति सिकाएर ठूलो भूल गरे । एउटा इतिहास निर्माण भईरहेको पृष्ठभूमिमा बाचन भएको त्यो वाणी नेपाल भन्ने देश रहुन्जेल नै टिक्ला जस्तो छ । एउटा चुट्किला सम्झन्छु जापान, अमेरिका र नेपाल लगायत थुप्रै देशका मानिस बोकिरहेको एउटा जहाजको । सबले मदिरा (रक्सी) सेवन गरेका । सेवन पछि जापान र अमेरिकाका मान्छे सिर्जनात्मक कार्यमा व्यस्त देखिन थालेका । अनि त्यो जहाजमा भएको नेपाली खुट्टा नटेकी-नटेकी भए नि विमान चालकलाई ‘छोड् म उडाउँछु’ भन्दै जहाज उडाउन तम्सिएको । भैरव अर्यालले ‘जय नेपालीवीर’ लेख्नुपर्थ्यो ।

प्रतिक्षाको घडी : २१ नोभेम्बर २००९

‘सञ्चालक’को अर्को अर्थ हो ‘जिम्मेवारी बोध’ । व्यवस्थापनको झिनो पनि अनुभव छैन । प्रथम पटक एकैचोटी समुद्रमा हाम् फाल्न आँट कसेको छु । मजस्तै मेरा कति सहकर्मीहरुले आँट कसेका छन् । साइकल नहुनेहरुका लागि भाडामा साइकल मिलाईदिनु छ । बसन्तपुरतिरबाट यो चाँजो मिलाएर जावलाखेल मैदानमा लानुछ यो जत्थालाई फेरी –याली सुरू गर्न । आफ्नै साइकल हुनेहरू उहिले नै पुगिसकेछन् –याली सुरु हुने ठाउँमा । ७ बजे बिहान –याली सुरु हुने समय । ७.३० सम्म पनि साइकल सबैलाई मिलाउन सकिएको छैन । कति त एकछिनमा आईपुग्छु पनि भन्दैछन् ।

जावालाखेल मैदानबाट –याली सुरु गरेर बसन्तपुरमा नै समापन गर्नु छ फेरी । केही साथीहरू शिवको मन्दिर अगाडी मञ्चको तयारीमा जुटेका छन् । साउन्ड सिस्टम के मिलाईएका मात्र थिए एक भलाद्मी आईपुग्छन् दाह्रा किट्दै । बाहिरबाट मानिसलाई तौलिन सकिने भए उनलाई त्यो व्यवहार सुहाईरहेको थिएन । ईश्वरले पनि नबु्ज्ने प्राणीलाई एउटा साधारण मानिसले नै कहाँबाट बुझ्न सक्छ र । ठाउँ जुधेछ । उनलाई गुठी पूजाको लागि त्यो ठाउँ नभई हुँदैन रे । त्यो ठाउँको लागि हामीले अनुमति नलिएको कहाँ हो र । कुरा चर्काउँदा फाईदा नहोला जस्तो भयो । ति भलाद्मी मानिस नहार्ने जस्ता देखिए । धर्मको विरोध भन्दै मानिस खनिए भने त हाम्रो बिजोग हुन्छ । हामीले सजिलै हारिदियौँ । उनलाई देवताका समिपमा जान हामीले रोकेनौँ ।

“ओई –याली सुरु हुन लाग्यो भनेको । त्यहाँबाट हिँड्यो सबै?” एउटा साथी चिच्यायो । साईकल मिलाईदिने जिम्मा अर्को साथीलाई सुम्पेर म भागेँ जावलाखेलतिर । फोटो खिच्ने जिम्मा मलाई नै छ फेरी । साइकल दौडाउँदा ढिलो भएर हुँईक्याएँ । अझ बिहान नै भएकाले बाटो केही खाली थियो । त्यसमाथि चेप्टा बाटो भएको भनिएको यो काठमाडौँ त्यति चेप्टो होईन रहेछ । मन मात्र चेप्टो रहेछ ।

जावालाखेल मैदान पुग्दा मन प्रफुल्ल भएर आयो । हामीले गरेको व्यवस्थापन अनुसार त १०० जना भन्दा बेसीको आशा थिएन । तर धेरै जना भएछन् हामीलाई साथ दिने । हामीले देखेको सपना सपनामा मात्र सिमित हुनेछैन भन्ने धेरैलाई विश्वास रहेछ । ४०० को हाराहारीमा सहभागीहरू देख्दा यो अभियानमा लागेपछि ओह्रालो लागेको मेरो पढाइको मलाई त्यति वास्ता भएन ।

पेशावरदेखि साधारण साइकल चालक र क्याम्पसका विद्यार्थीदेखि लिएर स्कुले भाईबहिनीहरुसमेत देखेर सन्तुष्टीको लामो सास फेर्दै त्यो जमातभित्र परिचितहरुलाई धन्यवादका लागि चहार्दै हिडेँ । तीन दिन अघि मात्रै हाम्रो अनुरोधमा हाम्रो अभियानको ‘राजदूत’ पद स्वीकार्नु भएका र हामीलाई हौसला प्रदान गर्न सधैँ अग्रसर हुन रुचाउने विश्व साइकल यात्री पुष्कर शाह नेपालको झण्डा फर्फराउँदै भीँडको सबैभन्दा अगाडी र्र्यालीको लागि तम्तयार देखिनुहुन्थ्यो । हाम्रो निम्तोलाई स्वीकारेर पूर्व वातावरण मन्त्री गणेश शाह पनि आइसक्नु भएछ । सुधार र परिवर्तनका लागि जहाँ-जहाँ युवा अग्रसर हुन्छन् त्यहाँ-त्यहाँ पूर्व मन्त्री शाह नहिचकिचाइ प्रोत्साहन र हौसलाका लागि पुग्नुहुन्छ । व्यवस्थापनको कमजोरीले गर्दा उहाँको लागि साइकल जुटाउन सकिएन । उहाँ साझा गाडीमा आफ्नो वक्तव्यको लागि बसन्तपुर पनि पुग्नुभयो ।

मैले पनि आफ्नो साइकल चढ्न पाइँन । एकजना अतिथीलाई सुम्पिनु पर्यो । जिम्मेवारी बोधको अर्को पाटो यो पनि रहेछ । भान्छे भएपछि भोकै बस्न पनि सिक्नु पर्छ भन्ने उक्ति । मैले पनि साझा गाडी रोजेँ । छोटो बाटो समातेर छिट्टै बसन्तपुर पुगी प्रतिक्षा गर्न थालेँ सहभागीहरुको । एकपछि अर्को गर्दै सहभागीहरुले बसन्तपुर क्षेत्र भरिदिए । मलाई लाग्यो आज कुनै सही कामको लागि भीँड जम्मा भएको छ । युवाहरू परम्परा तोड्न आफैँ अग्रसर भइसके । अब नेताको अह्रावट र आश्वासनमा युवा लाग्दैनन् । नेतालाई ‘सहयोग’ गर्लान सही कार्यका लागि तर ‘प्रयोग’ अवश्य हुँदैनन् । हिँजोको गल्ती एउटा सुनौलो भविष्यको लागि पाठ थियो । बोल्नेहरू हिँजै बोले आज चाहिँ गर्दैछन् ।

समापनका क्रममा हामीबाट केही गल्ती भयो जुन पछि मात्रै थाहा भयो । यो हाम्रो एउटा परम्परावादी गल्ती थियो । वातारणीय क्षय र अपकर्षका बारेमा आफैँ सचेत भएर पेडल घुमाउन थालेका पेशेवर तथा साधारण साइकल चालकहरूलाई बेवास्ता गरेर नेतागण र उच्च तहका अधिकारीहरूलाई प्रमुख अतिथी तथा अतिथी ग्रहण गरायौँ । अतिथी वर्गमा आफ्नो प्रतिनिधित्व नभएकाले साइकल चालकहरू निराश र होचिएको महसुस गरिरहेका जो कोहीले देख्न सकिन्थ्यो । त्यो हाम्रो अनुभवको कमी र भूलको कारण भएको गल्ती र कमजोरी थियो । हामी माफीका लायक यसकारण बन्न जान्छौँ । जे होस् हाम्रो महिनौँको लगानी सफल भयो । अब यस्तै लगानी दश वर्षसम्म गर्ने हामीले आफैँसँग बाचा गरेका छौँ ।

बिट मार्दा

‘जलवायू परिवर्तन’ अहिले व्यापारको माध्यम भएको छ । दाताहरूको लागि झुपडीमा छिर्ने सुरुङ् बनेको छ । जलवायू परिवर्तन अवश्य समस्या हो अहिलेको, तर घाउभन्दा चिच्याहट ठूलो सुनिइरहेको छ । उपचारभन्दा वेदना कानखाने गीतजस्तै संसारभर नै घन्किरहेको छ । नबुझ्नेका लागि ‘जलवायू परिवर्तन’को चर्चा समय सापेक्ष हो तर बुझ्नेका लागि मात्र ‘खुवाउने मेलो’ र ‘मागी खाने भाँडो’ हो । किन्नेहरू किनिरहेछन् । बेचिनेहरू थाहै नपाइ बेचिइरहेछन् । जलवायू परिवर्तनले गर्दा हाम्रा हिमालहरूलाई धेरै खतरा छ, तर ६-७ महिनामा फेरी बल्झिन सक्ने कोशीको आतङ्कभन्दा धेरै थोरै । अहिले सुरु भइसकेको लोडसेडिङ्ग भन्दा धेरै सामान्य । झाडापखालाले १० रुपियाँको ओखती खान नपाएर ज्यान गुमाएकाहरूको तुलनामा धेरै असंवेदशील । अनि आउँदो जेठमा बनिसक्नुपर्ने नयाँ संविधानको तुलनामा चर्चा अयोग्य । अहिले हाम्रो मुलुकमा पहिलो स्थानमा सम्बोधन हुनुपर्ने संवेदनशील र नाजुक स्थितिहरु अरु नै छन् । कम्तीमा पनि अहिलेको समयमा ‘जलवायू परिवर्तन’ नेपालको लागि चर्चाको विषय हैन । पाँचतारे होटलका बैठक र सम्मेलन, सगरमाथा आधा शिविरमा बसेको मन्त्रीमण्डलको बैठक र सडकमा दिनहुँ देखिने नाराजुलुस अहिलेको लागि मात्र नौटङ्की हुन् । तर हाम्रा नेतागणहरू, मानवअधिकारकर्मीहरू, वातावरणकर्मीहरू, नागरिकसमाजहरू र जनताहरू जता हावा चल्दैछ त्यतै ढल्किँदैछन् । भोली आइरहेको तुफानलाई भोली नै देखौँला भनेजस्तै ।

अब एक भोटले देश बन्दैन । नेताहरू हिँजो ‘आजका हामी’ थिए । आजका हामीले सोचाइ र गराइमा परिवर्तन नगरे हामी भोली ‘आजका नेता’ बन्न जान्छौँ । र, देश आजैजस्तो अराजकता, दण्डहीनता र दूर्गतिमा फस्नेछ फेरी । बखतको अपरिहार्यता हरेक नेपालीको हरेक पाइला हो देशको लागि । मैले त त्यो पाइला उठाइसकेँजस्तो लाग्छ मलाई । म एकातिर पढाइमा व्यस्त भएकाले जे गर्न सक्थेँ त्यहि गर्दैछु । पेट्रोलको प्रयोग घटाएर व्यक्तिगत पक्षबाट कम्तीमा पनि देश बेचिरहेको छुइँन । राष्ट्रघातमा सहभागी बनेको छुइँन । प्रदुषणको हिस्सा बनेको छुइँन । वक्ता थोरै र कर्ता धेरै भएको छु । त्यसैले आजकाल ऐना हेर्दा आफूसँग लाज लाग्दैन । सुत्दा सपनाको डर हुँदैन ।

डिसेम्बर १३, २००९ (राती १० बजे)
छात्रबास, काठमाडौँ विश्वविद्यालय



---------------------------------------------------------------------------------

1 comment:

मदन मणि अधिकारी said...

होस्टलमा बस्ने एउटा विद्यार्थीको अध्ययन पछाडीका सक्रियता र चासोका विषयको दैनिकीमा दमदार प्रस्तुती छ । सायद यस्तै कुराले दिनले सिकाउंछ भनेको होला