Tuesday, January 19, 2010

पुतलीको घर ............. A Doll's House

 नोराले आठ वर्षसम्म चिनिनन् आफूलाई र आफ्नो पतिलाई । तीन सन्तान जन्माएर पनि उनी त्यस घरमा अपरिचित झैँ बाँचिछिन् । थाहै नपाई जीवनको आठ-आठ वर्ष एउटा अपरिचित मान्छेसँग बिताइछिन् । के थाहा उनलाई आफ्नो पतिलाई बचाउनुले नै उनको जीवनमा कहाली लिएर आउनेछ भन्ने ? उनले पतिलाई बचाउनका लागि लिएको ऋण नै उनको (र
परिवारको) बर्बादीको कारण बन्न पुग्छ ।संकटमा पतिले साथ दिनु त परै जावस् उल्टै दोष थुपार्छ उनीमाथि। उनलाई छोराछोरी माथिको हकबाट बञ्चित गर्ने निर्णय सुनाउँछ। नोरा कमजोर हुन्छिन् उपायहीन हुँदा । आत्महत्या गर्न सक्दिनन् । ती बालबच्चा त्याग्न सक्दिनन् ।

हेमन्त अफिसबाट आउने बित्तिकै मेरी मैना चरी भन्दै नोरालाई बोलाउँथ्यो । नोरा केटाकेटीझैँ लाडिएर हेमन्तमा झुन्डिन पुग्थिन् । उसको सामिप्यमा पलाप्पिन्थिन् । प्याउलो हुन्थिन् । लाडे हुन्थिन् । हाँस्थिन् । रिसाउँथिन् । हेमन्त पनि उनलाई माया गर्थ्यो । चुम्थ्यो । खेलाउँथ्यो ।

आठ वर्ष सम्म हेमन्तले नोरालाई पुतलीझैँ खेलाएछ । यो थाहा पाउँदा नोरालाई कहाली लागेर आउँछ । उनी विचलित हुन्छिन् । चाहन्छिन् आफूलाई धुजा-धुजा पार्न ।

घरको त्यो सङ्कटबाट सुरक्षा महसुस गरेपछि हेमन्त उदारता देखाउन खोज्छ नोरामाथि । नोरासँग माफ पनि माग्छ तर अब नोरा कमजोर नारी रहिनन् । चिन्छिन् उनले आफूलाई । आफ्नो अस्तित्वबोध गर्छिन् । एउटा पुतलीको जीवन बाँचेको महसुस गर्छिन् । उनी अब पुतली हुन चाहन्नन् खुस पर्दा चुम्ने, खेलाउने अनि रिस उठेको बेला फ्याँकिदिने । च्यातिदिने । उनलाई हेमन्तको पुतली भएर बाँकी जीवन बिताउनु छैन । 

बाँकी जीन्दगी आफू भएर बाँच्न नोराले घर छोडिदिन्छिन् । 

***********

बल्लतल्ल आरोहण गुरुकुलद्वारा मञ्चित हेन्रिक ईब्सेनद्वारा लिखित दि डल्स् हाउस (नेपालीमा अनुवादित पुतलीको घर) नाटक हेर्ने मौका जुर्यो । स्कूल पढ्दा यो नाटकको बारेमा सुनेको थिएँ । निशा शर्मा पोखरेलको सशक्त अभिनयमा नेपाली समाजमा अस्तित्वहीन जीवन बाँचिरहेका कैयौँ नारीहरूको जीवन छर्लङ्गिएको छ ।

(१९ जनवरी २०१०) 

1 comment:

Eternal said...

This was the first drama I had watched at gurukul and I was overwhelmed....

One of my favorite :)