Friday, August 27, 2010

माया मेमसाब (१९९२)

Saturday, August 28, 2010

कानुनले स्वतन्त्रताको सिमा तोक्न खोज्दछ तर यसले कोरेको घेरो अस्पट छ । व्यवस्थाको कानुनले हो़ रेखा कोर्ने तर मानिसको ईच्छा र सिमा रेखाङ्कित गर्न कहाँ सकिँदो रै’छ र । स्वतन्त्रताको सुरू र अन्त्य हुने बिन्दुको तथ्यपरक लेखाजोखा छैन । त्यसैले त मानिसहरु स्वतन्त्रताको नाममा भूल गरी बस्छन् । पाप गरी बस्छन् । स्वतन्त्रता भनेको के हो ? न्यूनतम आवश्यकता ? मनमानी ? मनको मनमानी ? ज्यानको मनमानी ? एउटाले बाँचेको स्वतन्त्रताको सिको गर्न खोज्दा अर्को निसास्सिन पनि सक्छ । स्वतन्त्रता व्यक्तिगत अनुभूति हो । पूजिँवादीलाई बटुल्न पाउनु स्वतन्त्रता हो जस्तो लाग्ला भने मार्क्सवादीको लागि बाँड्न पाउनु ।

सन् १९९२ मा बनेको केतन मेहताको चलचित्र ‘माया’ अर्थात ‘माया मेमसाब’ पनि
स्वतन्त्रताको खोजिमा भौतारिने एउटा नारीको चित्र हो । आफ्नो मनमानीमा बाँच्न पाउनु माया (दिपा शाही)को लागि स्वतन्त्र हुनु हो । ऊ युवतीबाट महिला हुन्छे । एकल केटीबाट श्रीमती हुन्छे । अनि एउटा श्रीमती हुँदाहुँदै पनि कसैको प्रेमिका हुन पुग्छे । ऊ पूर्वीय संस्कृतिले सभ्य भन्ने भेषबाट पाश्चचात्यसम्मलाई अँगाल्छे । ऊ जति स्वतन्त्रताको सिमाछेउ पुगेको अनुभव गर्छे उति नै परिधि फैलिँदै जान्छ जसरी आकाश छुन भर्र्याङ्ग हालिन्छ । अन्तत: उसले मनमानीभित्र स्वतन्त्रता भेट्दिन । अन्ध फिराइबाट जीवन्त खुसि भेट्न सक्दिन ।

अन्ध भक्तिलाई पनि माया भनिन्छ । भ्रमपूर्ण आभासलाई पनि माया भनिन्छ । जब समाज वा धर्मले छुट्ट्याएको फोगटोबाट खुट्टा बाहिर निकालिन्छ यहाँ मायाले नै डोर्याएको हुन्छ । घृणा पनि कमसल कुराप्रतिको माया र मोह हो । यस अर्थबाट हेर्ने हो भने चलचित्र ‘माया’को नाम सार्थक छ । माया चलचित्रकी मूख्य पात्र त हुँदै हो तर चलचित्रको मूल विषयवस्तु पनि माया नै हो । मायालाई ऊ भित्रको मायाले डोर्याउँछ । उसले भ्रमको बाटोमा पाइला राख्छे त्यसपछि पछाडि फर्केर हेर्दिन । ऊ अन्धी बनेर भौतारिन्छे । डोहोरिन्छे । मायालाई ईमान्दार र असल पतिले कहाँ डोर्याउन सक्यो र । न सामाजिक मान्यताले बाँधेर राख्न सक्यो । न त धार्मिक दीक्षाले नै आवश्यकताको बोध गराउन सक्यो । ऊ नथाकुञ्जेल बगिरहन्छे मायाको आज्ञाउपर ।

पेटले माया खिच्ने भए समस्याको कारक थाहा हुने थियो । तर अज्ञात जिनिसले माया निर्धारण गर्ने हुनाले समस्या यथावतै छन् । नत्र के कमी थियो र मायालाई । सुन्दर घर थियो जुन् सम्पूर्ण रुपले द्रव्यात्मक पनि थियो । पति डाक्टर थियो । ऊ ईमान्दार थियो । असल थियो । माया गर्थ्यो । स्वतन्त्र छोडेकै थियो । शायद यी वस्तुहरू मायाको भौतिक छालाउपर नै यथावत् रहे होलान् । नत्र किन उसलाई नै थाहा हुँदैन उसलाई के चाहिएको हो भन्ने ?

अहिले संसारभित्र व्यापारीकरण छैन । व्यापारीकरणभित्र संसार छ । बोल्नेको खोलाभित्रको जग्गा बिक्छ । नबोल्नेको बीच सहरको घडेरी बिक्दैन । परिमाणले सफलता गन्छ । गुणस्तर गौण नै रहन्छ । त्यसैले ‘दिलवाले दुल्हानियाँ ले जायिङ्गे’ को चर्चा भइरहन्छ । नयाँपिढीँले ‘कुछ कुछ होता है’ को बारेमा सुन्न पाइरहन्छन् । ‘माया मेमसाब’ सतहमुनि खोतल्नेले मात्र भेट्छन् । तर मजा यसमा छ कि तरुल माटोमुनि नै पाइन्छ ।

Kapan, Sukedhara

*******************************************************




















No comments: