Saturday, September 25, 2010

कागबेनीले खनेको बाटोतिर लम्किँदै दासढुङ्गा

त्यो ५० सालको दासढुङ्गा कहिल्यै ओखतीमूलो नहुने खिल बनेर यो मुटुमा बिझाउँदै बसेको थियो । तर यो ६७ सालको दासढुङ्गा चाहिँ एउटा सुन्दर र सफल क्यानभासझैँ छिपिएको छ मेरो दिमाखमा । त्यो दासढुङ्गा शरीरै गलाउने एउटा कालो दिन थियो भने यो दासढुङ्गा मसलेदार चलचित्रहरुको ताँतीलाई तोड्दै झुल्किएको एउटा नौलो र उत्कृष्ट चलचित्र हो ।

राजनैतिक विवादमा लामो समयदेखि मुछिएको ‘दासढुङ्गा’ बहुतै प्रतीक्षित चलचित्र हो । दासढुङ्गाको निर्माण सुरु भएको समयदेखि लिएर प्रदर्शनको समयसम्म आइपुग्दा चलचित्रसम्बन्धी जानकारी भएकाहरुले लामै प्रतिक्षा गरेका छन् । तर चलचित्र प्रदर्शनमा लागिसकेपछि पनि चलचित्रबारे अनभिज्ञ जमात नभएको भने होइन । म गोपीकृष्ण हलमा टिकट काट्दै गर्दा मेरो पछाडि छाता ओढेर
बसिरहेका एक व्यक्ति यहाँका सिनेमाघरहरुमा प्रदर्शन भइरहेका चलचित्रका नाम सरर्र पढ्दै आए । उनी दासढुङ्गामा आएर टक्क अडिए अनि छेवैको अर्को व्यक्तिलाई झट्पट् प्रश्न गरिहाले – “दासढुङ्गा हिन्दी चलचित्र कि नेपाली?”

मिडिया तरक्की र प्रचारमा खासै ध्यान नदेको दासढुङ्गाप्रति दर्शकहरु अनजान हुनु स्वभाविकै हो । दासढुङ्गा एउटा रित्तो गाग्री नभएकोले गर्दा चलचित्रका निर्माणकर्मीहरुले प्रचारप्रसारमा ध्यान दिनु खासै जरुरी पनि देखिँदैन । घर हुनेको थर आफैँ बन्दै जान्छ । बोल्नेको खोलाभित्रको फोगटो पनि बिक्ने यो जुगमा निर्माणकर्मीहरुले बक्स्-अफिसभन्दा पनि सेलाएका देशप्रेमी चेतनाहरुलाई लक्षित गरेको हुनुपर्छ ।      

उसबेलाका एमालेका महासचिव तथा बहुत चर्चित नेता मदन भण्डारीको दूर्घटनामा भएको रहस्यात्मक निधनपछि अनुसन्धान विशेष टोलीका एक जवान किरण पौडेल यो रहस्यात्मक दूर्घटनाको अनुसन्धानमा लागिपर्छन् । चलचित्र दासढुङ्गा उनले अनुसन्धानका क्रममा हिँडेको यात्रा हो । दासढुङ्गा पौडेलको शारीरिक र मानसिक यात्राको चलचित्रकरण हो । दासढुङ्गा उनैको सत्यतथ्य, शङ्का र उपशङ्काको एकमुष्ट प्रतिवेदन हो । त्यसैले चलचित्र दासढुङ्गाबाट सम्पूर्ण सत्यतथ्य खुलासाको आश गर्नु भनेको ‘रक्तकुण्ड’ र ’पर्दाफाँस’ पढ्नु सरोबर नै हो । दासढुङ्गा त्यहाँसम्म बोल्छ जहाँसम्म दर्शकले सुन्नु जरुरी हुन्छ । दर्शकले सोच्नुपर्ने अवस्था सुरु हुन थालेपछि दासढुङ्गा चलचित्रको अन्त्य हुन्छ । यो कतिपय उत्कृष्ट चलचित्रहरुको प्रवृति नै हो । दर्शकले सोच्नुपर्ने ठाउँमा लेखक र निर्देशक चुप लागिदिन्छन् ।

चलचित्रमार्फत सेलाउनै लागेका राष्ट्रिय महत्वका मुद्दाहरुलाई जगाएर नेपाली दर्शकहरुलाई सचेत गराउने र तताउने काममा लागिपरेका युवा मनोज पण्डितले दासढुङ्गाको निर्देशन गरेका हुन् । चलचित्रहरू केबल मनोरञ्जनमा मात्र सिमित हुनुहुँदैन भन्ने विचार राख्ने पण्डितले दासढुङ्गामा आफ्नो निर्देशकीय क्षमतालाई उत्कृष्टताका साथ पोखेका छन् । पण्डित आफूले देखाउन र बताउन चाहेको कुरामा अल्मल्लिएका छैनन् । पण्डितले युवाजोसमा ‘लक्ष्य’ नामक चलचित्र बनाएको एक दशक पु्ग्नै लागेको छ । तर जोसमा बनेको चलचित्र लक्ष्यमा होसको कमी प्रशस्तै मात्रामा देख्न सकिन्छ । केही वर्ष अघि उनी ‘ग्रेटर नेपाल- सिमानाको खोजी’ नामक वृतचित्र लिएर आए । यो वृतचित्रले नामका साथसाथै टन्नै स्वदेशी तथा विदेशी राजनैतिक विवादहरु पनि बटुल्यो । लक्ष्यदेखि ग्रेटर नेपाल हुँदै दासढुङ्गासम्म आइपुग्दा लेखक तथा निर्देशक पण्डित खारिएका पाइन्छन् । दासढुङ्गामा जोस र होस दुवैको मिश्रण देखिनुले पनि यो कुरा प्रमाणित गर्दछ ।

युवा निर्माता अपिल विष्टद्वारा निर्मित ‘दासढुङ्गा’को ऐतिहासिक महत्व त छँदैछ तथापि यो आफैँमा एउटा विशुद्द र उत्कृष्ट चलचित्र पनि हो । नेपाली भएर एकपटक हेर्नैपर्ने चलचित्र भनेर यो चलचित्रको महिमा गाएमा यस चलचित्रमा संलग्न सम्पूर्ण कलाकार र कर्मीहरुको मानहानी हुन जान्छ । यो नेपालको एउटा कालो ऐतिहासिक घटनामाथि बनेको चलचित्र मात्र नभएर सम्पूर्णरुपले सफल र सबल चलचित्र पनि हो । यो चलचित्रलाई त्यो कालो घटनासँग नजोडी हेर्ने हो भने पनि पूर्णरूपमा मनोरञ्जन लिन सकिन्छ । मदन भण्डारीसम्बन्धी ज्ञान नभएका दर्शकहरुले पनि यो चलचित्रलाई पूर्ण रुपमा रुचाउन सक्छन् । वृतचित्र र चलचित्रको मिश्रण अर्थात डकुड्रामाको शैलीमा यो चलचित्र सुरु हुन्छ र अन्त्यतिर अलिक फिल्मी भएर जान्छ जुन चलचित्रको खल्लो र फिक्का पक्ष हो । चलचित्रमा किचमान चित्रकारको साङ्गितिक कौशलता र सत्यराज आचार्यको उत्कृष्ट गायनको मजा लिन सकिन्छ । सिनेम्याटोग्राफी पनि चलचित्रजस्तै छ – उत्कृष्ट । भूषण दाहालको ‘कागबेनी’ले परम्परालाई तोड्दै नयाँ धारको शिलान्यास गर्ने प्रयास गरेको थियो । मनोज पण्डितको ‘दासढुङ्गा’ले पनि कागबेनीलाई पछ्याउने सक्दो जमर्को गरेको छ । 

अरू ताईँ न तुईँका व्यवसायिक चलचित्रहरुजस्तो दासढुङ्गाको आयु साँढे दुई घण्टामा सिँधिदैन । यो सम्पूर्ण दर्शकहरुलाई हामी कहाँनिर छौँ र हाम्रो देश कहाँतिर धकेलिँदैछ भन्ने कुरा सङ्केत गरेर आफ्नो असर सुरु गर्नतिर लाग्छ । चलचित्र हेरेका पुराना नेतागणहरूले आफ्नो वाचा कति पूरा गर्नतिर लाग्ने हुन् र चुनिएका नयाँहरुले काँधमा थुप्रेको बोझलाई कति आत्मसात गर्ने हुन् त्यो भोलीले छर्लङ्ग्याई हाल्नेछ । तर नेपाली राजनीतिको फोहोर खेल खेल्दा-खेल्दा मैलिएका हातहरूले भातको सिता र जनताको पसिना लपेटेर भुँडी सोझ्याएपछि एकपटक हाई काढेर दासढुङ्गा बिर्सिदिनेछन् भन्दा नेतागणहरूको खासै मानहानी पनि नहोला ।   

(यो लेख शुक्रबार, १ असोज २०६७ मा अन्नपूर्ण पोष्टको ‘रंग’मा “कागबेनी मार्गमा दासढुंगा” शिर्षकमा प्रकाशित भएको थियो । प्रकाशित लेखमा माथिको ओरिजिनल लेखको अन्तिम वाक्य चाहिँ रहेको छैन ।  दासढुंगा मलाई ‘कागबेनी’पछि चित्त बुझेको नेपाली चलचित्र हो । अब छिरिङ् रितार शेर्पाका चलचित्रहरू हेर्ने धोको छ । बड्स फिल्म फियस्टा २०१० मा दिपक रौनियारको ‘पूजा’ हेर्ने मौका जुर्यो । मेरो लागि ‘पूजा’ नेपालमा अहिलेसम्म निर्मित चलचित्रहरूमा सबैभन्दा उत्कृष्ट चलचित्र हो ।)   

राजन कठेत
लेखिएको मिति: शुक्रबार, सेप्टेम्बर १०, २०१०

********

No comments: