Friday, November 12, 2010

लस्ट- Winner of Buds Film Fiesta 2010!

सोमबार, २७ सेप्टेम्बर २०१०

अहिले रातीको ठ्याक्कै ११.५० भएको छ । म करिब ११.१५ तिर ओछ्यान पसेको हुँदो हुँ । तर अहँ, निद्रा पटक्कै परेको हैन । यता फर्किन्छु । उता फर्किन्छु । उत्तानो पर्छु । कोल्टे फेर्छु । आँखालाई दह्रोसित बाँध्न प्रयास गर्छु तर निद्रालाई जिताउन सक्दिनँ । आज धेरै समय पछि निद्रा फेरी परास्त भएको छ ।

दिमागमा हामीतिर एकत्रित नजरहरु, नेपालका द्विगज चलचित्रकर्मीका हामीलाई थपथपाइरहेका हातहरू, गुरुकुलको त्यो उपासना गर्ने मञ्च र मञ्चमा जाँदाखेरीको डर, लज्जा, गौरव र खुसीहरू एताउता गरिरहेका छन् । दिमागमा “लस्ट” बारम्बार गुन्जिरहन्छ । ‘बड्स फिल्म फिएस्टा २०१०’को सर्वोत्कृष्ट चलचित्र “लस्ट” मात्र सुन्छ कानले पनि । अनि मलाई आतुर हुन्छ आजको त्यो क्षणलाई कम्प्युटरमा उतार्न । म सिरक फ्याँकेर खाटमुनिबाट ल्यापटप निकाल्छु । टि.भि. हेरिरहेको भाई आश्चर्यचकित हुँदै सोध्छ- “के भयो?”

छैटौँ सेमेस्टरभरी चुहाएको पसिनाले आज आफ्नो मोल पायो । कक्षा छोडेर भए पनि सुटिङ् (छायाङ्कन) गरेका थियौँ हामीले । रातभरी सम्पादन गरेर बिहान अबेर कक्षा प्रवेश गर्दा शिक्षकका आँखाबाट आफ्ना आँखालाई लुकाएर हिँड्थ्यौँ । पहिला कहिल्यै गयल नहुने विद्यार्थीले त्यो सेमेस्टरमा ‘टुरिस्ट स्टुडेन्ट’को नाम पहिरिनु पर्यो । दु:खलाग्दो कुरा के हो भने त्यस सेमेस्टरमा कक्षामा बाहेक शिक्षकहरूसँग खासै देखादेख र अन्तर्क्रिया हुन पाएन फलस्वरूप केही मात्रामा सम्बन्ध पनि चिसियो ।

अन्तत: “लस्ट”ले मोल तिर्यो । ६०-७० वटा चलचित्रहरूबाट २४ वटा चलचित्र छानिए र त्यसमा ‘लस्ट’ले उत्कृष्टता हासिल गर्यो । महोत्सवकै सर्वोत्कृष्ट चलचित्रको ताजलाई शिरोपण गर्यो । धन्य आयोजक ‘बड्स फिल्म फिएस्टा २०१०’ जसलाई हृदयबाटै मुरीमुरी साधुवाद छ । हाम्रो हार्ड डिस्क र यूट्युबमा थन्किन लगभग चाँजो मिलाइसकेको ‘लस्ट’लाई एउटा ठूलो प्लेटफर्म दिएर हाम्रो जोसलाई अझै हौसाइदिएकोमा ‘लस्ट’ टिम पूर्ण आभारी छ । अवैधानिक र अस्वभाविक रुपमा बीचमा खुट्टा हाल्न प्रयास गर्ने राज्य संरक्षित सेन्सर बोर्ड सँग सिँगौरी खेल्दै भएपनि आफ्नो हकलाई गुमनाम हुन दिएन ।

त्यो पहिलो अढाई घण्टा पट्टाइलाग्दो थियो । एकातिर ‘लस्ट’ उत्कृष्ट ५ फिक्सन् फिल्मको नोमिनेसनमा पनि पर्न सकेन । दोस्रो, कार्यक्रम चाहिने भन्दा बढी नै तन्कियो । त्यहाँ बस्नुको औचित्य पनि लगभग शून्य हुँदै थियो । दाई अर्जून, म, शैल, अभिमन्यू र मनिषा दिदी गएका थियौँ त्यो समापन समारोहमा । मनमा विजयको फूल सजाउँदै हाम्रो हुल गुरुकुलमा प्रवेश गरेको थियो । तर छिरेको केही समयमा नै निराशाले धपक्क छोप्यो । आयोजकले मीठो खेल खेलेर हामीलाई अढाई घण्टा चिराइतोको झोलमा डुबाइदिए । हामीमा एक अर्काको मुख हेर्ने हिम्मत पनि थिएन । केहीबेर पश्चात मनिषा दिदी बाहिरिनु भयो । त्यहाँ बसेर निराशा बाहेक केही पनि प्राप्त भइरहेको थिएन । सेन्सर विरोधी गफगाफ, आयोजकहरुको जोसको प्रेजेन्टेसन, परिचय इत्यादिमा हाइ काढ्दै कार्यक्रमको अन्त्य कुर्नु बाहेक के नै उपायो थियो र ।

बल्लबल्ल महोत्सवको उत्कृष्ट चलचित्रको घोषणा हुने समय आयो । फिक्सनको नोमिनेसनमा पनि नपरेको हाम्रो चलचित्रलाई यो अवार्डको अर्थ के ? कुन चाहिँले यो अवार्ड उम्काउने भयो भन्दै मनभरी ईर्ष्या भरेर नोमिनेसनमा परेका चलचित्रहरु हेर्न तयार भयौँ ।

‘लस्ट’। नोमिनेसनमा परेका पाँच चलचित्रहरुको पहिलो नम्बरमा ‘लस्ट’ । अनि अरू कुन कुन थिए थाहा भएन। आशा फेरी पलायो । यी आयोजकहरुले यो के गर्न खोजेका हुन्? साउनको कालो बादलले ढाकेको आशामा फेरी सूर्यको एक धर्सोले स्पर्श गर्यो । साथी-साथीबीच ‘लौ ! के हो यस्तो?’ भन्दै खुसीका खित्का बाँड्न थाल्यौँ । निर्णायक मध्यका राजेश गोंगजु र राजभाई सुवाल मञ्चमा गएर ‘विजेता को होला? (हुज् द विनर्?) भनेर दर्शकहरुलाई प्रश्न गर्दा अधिकांशले ‘लस्ट’ भनेर चिच्याए । त्यो बेलाको मुटुको बेगको मात्रा मलाई मात्र थाहा छ । ‘चिट कसले चोरायो हँ ?’ भन्दै निर्णायकहरुले उत्कृष्ट चलचित्रको घोषणा गरे- “लस्ट” । भुईँमा खुट्टा रहेनन् । झट्पट् दौडेर हाम्रो टिम मञ्चमा पुगिहाल्यो ।

“लस्ट” हामीले हेला गरेको चलचित्र हो । यसलाई हाम्रो अपाङ्ग सन्तान भनिकुथि हिँडेका थियौँ । साथीहरूलाई नि आफ्नो साथीको पहिलो प्रयास भनेर हेरिदिनु तर त्यस्तो आशा भने नगर्नु भनेर सम्झाउँन्थ्यौँ । अन्तत: हाम्रो उपेक्षित सन्तानलाई हामीलाई जिताउनु नै रहेछ ।

स्टेजमा हाम्रा फोटोहरू खिचिन थालिए । अलिकति चर्चित हुनु हुँदैन पत्रकारहरू पछि लागिहाल्छन् भन्दै कानकानमा जिस्किन थाल्यौँ ।


भोलिपल्ट फोन र फेसबुक वालमा बधाई दिने साथीभाई र शुभचिन्तकहरुको ओहिरो लाग्यो ।


चलचित्र लस्ट । लेखन र पटकथा अभिमन्यू आचार्यमनि दिक्षित । सिनेम्टोग्राफर शैल श्रेष्ठ । सम्पादक बिजेन श्रेष्ठ । अभिनेत्री र अभिनेता क्रमश: मनिषा विष्ट र पवन झा । निर्देशक राजन कठेत ।

सुटिङ् कार्यक्रम सकिएपछि पिजा खाने तर्खर गर्दै


******** 

No comments: