Saturday, November 13, 2010

सुम्निमा

एउटा तपस्वी ब्राह्मणको सन्तान र शरीरप्रेमी चञ्चला किरातीकी छोरीबीच पतिपत्निको डोरी बाँधिन लागेको छ । संस्कृति र जीवनको लक्ष्य आकाशपातल भएका यी दुई नर र नारीबीच एउटा जटिल भविष्य तेर्सिएको छ । तर, आफ्नो यौवनकालमा तपसी ब्राह्मण सोमदत्तसँग हृदय साटेकी सुम्निमालाई आफ्नी छोरीको रोजाइमा किम्ती प्रतिकार छैन ।

थाहा छ सुम्निमालाई सोमदत्तको छोरोसँग उसकी छोरीले जीवनयापन गर्ने जमर्को गरेकी छे । हावामा उड्ने बाहुनसँग माटोप्रेमी किरातीकी छोरीले सुम्निमा र सोमदत्तझैँ हृदयरुपी धागोमात्र नभएर शारीरिक परम्परागत रुपमा नै एक अर्कालाई ग्रहण गर्न लागेका हुन् । वीपीकै भाषामा भन्नुपर्दा
भावनामा उड्ने बाहुन र भोगविलासमा निमग्न किरातीकी छोरीबीच रक्त मिसिन लागेको छ । सुम्निमा आफ्नी छोरीलाई सम्बोधन गर्दै भन्छे,-
‘’हामीहरुलाई बाहुनहरू धागो चुँडिएका चङ्गाजस्तो लाग्छ र उनीहरूलाई चाहिँ हामी माटाका गँड्यौलाजस्ता लाग्दा हौँ ।’’

विश्वेश्वरप्रसाद कोइरालाको सुम्निमा त्रेतायुगको ऐतिहासिक पृष्ठभूमिमाथिको काल्पनिक विचरण भएता पनि यो एउटा कथामात्र नभएर संस्कृतिका भेदबीचको वर्णन हो । रगत-रगतबीचको भेद हो । संसाररुपी आँखाले सुक्ष्मरुपमा अभिन्न देख्ने आत्मा र देहबीचको गहिरो खाडल हो । शरीरप्रेमलाई पाप मान्ने तपसी सोमदत्त र जीवनमा रमाइलोमा निमग्न सुम्निमाको कोशीतटमा कायम भएको बाल सम्बन्धको असफल प्रेमकथा हो ।

सुम्निमा उपन्यास दुई धारमा अगाडि बढ्छ । शरीराकर्षणमा लुप्त रहने जीवनले वास्तविक सुखभोग गर्न नपाउने भन्ठानेर घोर तपस्यामा तल्लीन सोमदत्तको जटिल जीवनले एउटा धार समात्छ । मोक्षभोगका लागि मांसलाई आहुति दिएर पनि शारीरिक सुखभोगले सोमदत्त र उसकी पत्नि पुलोमामा खनेको रिक्तताले गर्दा विश्रृङ्खल बनेको मानसिकताले अर्को धार समात्छ । सोमदत्त र पुलोमाको तपसी जीवन दृश्यमा आउँछ भने सोमदत्तको सुम्निमाको सुन्दर र ठाँटिएको शरीरप्रतिको भोक र पुलोमाको बाल्यकालको एक भिल्लयुवकको बलिष्ठ शरीरप्रतिको मोहले मनोवैज्ञानिक खाडल खन्छ । एकातिर सदृश्य वैदिक अनुष्ठान र अर्कोतिर अदृश्य रतिराग (वासना) । अन्तत: शरीरले जित्छ । आश्रमले हार्छ । आश्रम पुरिन्छ देहरूपी घना जङ्गलको काखमा । ब्राह्मणको मोक्ष यात्रा पुरिन्छ कामवासनाको तातो भुङ्ग्रोमा । सुम्निमा सोमदत्तलाई थाहा नै नदिई विजयिनी बनिसकेकी हुन्छे । सोमदत्त विजित हुन्छ आफ्नै ज्ञानको सम्मुख । सुम्निमाले जित्छे । भोकले पुर्छ । सुम्निमा ! भोक !

   
विश्वेश्वरप्रसाद कोइरालाको रतिराग यात्राको सफल चेष्टा हो सुम्निमा । शरीरको रागले रामायण जन्मियो । रामायणको दुखद अन्त्य भयो । घनाजङ्गलमा कैयौँ तपसी ऋषिमुनिहरुको अन्तिम खण्डमा आएर तपस्या भङ्ग भयो । विश्वामित्रको तपस्या मेनका प्रतिको शारीरिक रागले अन्त्य गर्र्यो । स्त्री भोकले नै महाभारत जन्मायो । इतिहासलाई चुनौती दिँदै यसको रहस्यात्मक अन्त्य पनि भयो । वासनाले सारथी भएर यो संसार र समाजरूपी रथ हाँकिरहेको बेला एउटा शरीरत्यागी ब्राह्मण केटो र एउटी शरीरप्रेमी किराती केटी खडा हुन्छन रच्नलाई एउटा अर्को कथा सुम्निमा ।

******
आज नवमीको दिन । यो दशैँ बिदाको चौथो कृति भर्खर पढिसिध्याएँ । दशैँको यो पूर्वकालमा विश्वेश्वरप्रसाद कोइरालालाई अध्ययन गर्ने क्रममा नरेन्द्र दाई, बाबु, आमा र छोरा, र दोषी चस्मा कथासङ्ग्रह हुँदै आज सुम्निमाको अन्तिम पृष्ठ पनि पल्टाएँ ।

अक्टोबर १६, २०१०
२०६७ असोज ३०, बिहान ८.३० बजे
निर्मलीडाँडा-५, खोटाङ

*******

No comments: