Wednesday, December 7, 2011

मिडनाइट What?

मलाई यत्ति डर छ झुक्किएर यो लेख पढ्नेले ‘यसले हावादारी दर्शन छाडेछ’ भन्लान् भन्ने । म सायद कसैलाई यो सुनाउन लेखिरहेको पनि छैन । लेख्दैछु बस् यत्ति लागेकोले कि यो मेरो मनमा अहिले भुत्भुत्तिरहेको कुरा कतै पोखिएर खरानी बन्नै पर्छ  

म मान्दिनँ मेरो कुलको लहरो तन्काउन मात्र जन्माइएको हुँ म । तर मैले मान्नै पर्छ सामाजिक आवश्यकता पूर्तिका लागि म जन्माइएँ । परिवारमा डाक्टर, इन्जिनियर या मन्त्रालयको सचिवको खाँचो भएर मेरो सृजना भएन होला । म केबल सन्तानका लागि जन्माइएँ र यसैमा म बढी गर्व गर्छु । म जन्माइएँ त जन्माइएँ, अब के ? राम्रोसित बाँच्नु नै हो त मेरो अन्तिम उपाय । सुखको सास फेर्नु मात्रै होर बाँच्नुको सार्थकता ? फेरी सुख भनेको के हो- डिनरका साथ वाइन्? कालो सिसाभित्रको रेबन चस्मा? नेपालको कन्टेक्समा क्यु. एफ्. एक्स् ?

‘म’ बाँच्नु भनेको के हो- यसको उत्तर सिर्फ म मात्रै महसुस गर्न सक्छु । ‘डार्क नाइट’मा जोकरले पैसाको पहाडमा आगो लगाएपछि ‘मलाई’ त्यो जोकर पात्रले पनि बुझ्न सक्छ कि जस्तो महसुस भएको थियो ।

बल्ल त ग्राज्युएट भइयो । सायद अब जे अगाडि पर्नेछन् ती मेरा सङ्घर्षका निमित्त भनेर आउनेछन् । जेजेले मलाई कुल्चिनेछन्, ती कुल्चिने वस्तु सायद मेरा दु:खका कारक हुनेछन् । हिँजोसम्म म जेलाई दु:ख भन्दै थिएँ या त नबुझेर या त भ्रमित भएर अहिले पनि भनिरहेको छु, ती सायद दु:ख थिएनन् । सायद ती मात्र क्षणिक तिर्खा थिए । म भोको पेटलाई दु:खको नाम दिइरहेको थिएँ । विद्यालय र कलेजका परिक्षाका बेला म बाँचेका अनिदा रातलाई म सायद दु:ख भनिरहेको थिएँ । खुट्टा नसर्ने उकालो र घुँडा खुम्चिने भिरालोलाई सायद म दु:ख भनिरहेको थिएँ । यो भ्रम अझै छ ममा ।

Photo By: Shail Shrestha (June 2010)
मेरो बुवा मलाई अब थन्क्याउन चाहनुहुन्छ । उहाँ मलाई धेरै माया गर्नुहुन्छ र सायद मलाई भोको पेट दौडिएको रत्ति पनि कल्पना गर्न चाहनुहुन्न । एउटा राम्रो आम्दानी दिने रुखमा म कसैगरी अल्झिदिए उहाँ सायद सन्तोषको सास फेर्नुहुन्थ्यो, अफसोच यो अल्झाइ मेरो जीवनको अन्त्य लाग्छ मलाई । कसैले यो मेरो कुरालाई ‘तेरो उमेरको जोस, हामीले नि त्यो भोग्या हम् क्यारे’ भन्यो भने म उसलाई गलत ठान्दिनँ । आजसम्म आइपुग्दा हिँजो गरेका धेरै कुराहरूलाई बल्ल आझ बुझ्दैछु । त्यहि पनि पाएको एउटा जीवन, अर्को जन्ममा रिसाहा लाहुरेको घरको ‘पेट डग’ भएर जन्मिने पो होकि भन्ने डर पनि कता कता । यही बेला पाएको मान्छेको जुनि अब आफ्नै तरिकाले कसो नघिसारूँ त भन्ने मनोक्रान्ति पनि कता कता हुर्किरहेको अवस्था । आफ्नो सपनाको पछि पछि त लखेटिनै पर्छ । समाजमा झुटो आडम्बर देखाएर आफू भित्र भित्रै सल्किए मजा नै कहाँ भयो र ! 

यात्रामा बाघभालुको डरले बीच जङ्गलबाट नै फर्किए के मजा ! त्यो डरलाई कुल्चिँदै जङ्गल काटेपछि आफ्नो अगाडि तेर्सिन सक्ने त्यो मनोहर पाखा र डाँडालाई बाघभालुको डरले साँचो हुनबाट रोके भने त यात्रा नै कहाँ भयो र । मलाई त त्यो मनोरम पाखामा ‘स्ट्रीपर’ बन्नु छ । जन्मदाको अवस्थामा झरनामुनि थापिनु छ । एकबारको जुनि, क्रिश्चेन भए माटोमुनि, हिन्दु भए बगेर कता पुग्ने हो कुन्नि !

यी तथानाम जथाभावी म किन लेखिरहेको छु त? न मैले लेखेका र पोखेका प्राय विचारले मेरो अथोरिटी नै जनाउन सक्छन् ।  पहिलो सत्य- १० बजे लोडसेडिङ सकिएर बत्ति आयो । मलाई १.३०मा म्यानचेस्टर युनाइटेडको खेल हेर्नुछ । यो बीचको ३ घण्टा काट्ने एउटा राम्रो र फलदायी उपाय । दोस्रो- राम्रो लेखाइ निरन्तर लेखाइको उपज हो, लेख्न कदापि छाड्नुहुन्न- सायद यो कुरा सबैमा लागु हुन सक्ला । म केबल यही कुरालाई ममा पनि लागु गराउन आफूभित्र जन्मिने कुराहरूलाई मात्र अक्षरी रुप दिइरहेको छु । बाँकीको आधा घण्टा नेस्क्याफेलाई !! ह्याप्पी विन्टर !!

@ FACEBOOK
.०० ए.एम्.
डिसेम्बर ८, २०११
काठमाडौँ

Monday, November 21, 2011

ओरालो लाग्दै निगम

also published at Jhoomka Dot Com as दोषी एक भागीदार अनेक


सबै तस्विरहरू इन्टरनेटबाट लिइएको हो

"ओरालो लागेको निगमलाई मुसाले पनि लखेट्छ "


NAC को जहाजमा मुसा 'धुम मचाले' गर्दै
‘लिभिङ्’ म्यागाजिनको नोभेम्वर संस्करणमा प्रकाशित "थाई एयर-दि वर्ल्डस् बेस्ट" विज्ञापन हेरेको केही मिनेट पनि नबित्दै कान्तिपुर दैनिकको कात्तिक २९ मा प्रकाशित "निगममा भद्रगोल" सम्पादकीय हेर्न पुगेछु । सुरुमा आयल निगममा के भद्रगोल भएछ त भन्ठानेर पढ्न सुरु गरेको उक्त सम्पादकीय राजनीतिक नियुक्ति, संरक्षण र हस्तक्षेपबाट थला परिरहेको नेपाल वायुसेवा निगमबारे रहेछ । पचास वर्षभन्दा लामो इतिहास बोकेको निगमको त्यो लज्जास्पद स्थिति पढेपछि पाइलट पढ्न भनेर विदेशिएका नेपाली युवापीँढिहरूप्रति करूणा पलाएर आयो ।

वायु सेवा निगमको दुर्गति त आफ्नै ठाउँमा छँदैछ, तर यसले पाइलटको जागिर खोजिरहेका र पाइलट पढाइका लागि विदेशिएका युवापीँढीको भविष्य पनि अन्योलमय बनाइदिएको छ । त्यसो त पाइलट पढाइ भनेको महङ्गो विषय हो जुन साधारण हैसियत भएकाहरूका लागि धेरै परको कुरा हो । एक त नेपालमा पाइलट पढाइ हुँदैन । केही वर्ष अघि भरतपुरमा पाइलट पढाइ सुरु गरेको शिवानी एयर पनि व्यवस्थापनको कमजोरी र हेलचेक्र्याइँका कारण तीन वर्ष पनि टिक्न नपाउँदै आफैँ उखेल्लिइसकेको छ । अष्ट्रेलिया, अमेरिका, साउथ अफ्रिका वा फिलिपिन्समा गएर पाइलट पढ्न तीस लाखभन्दा बढी खर्च लाग्छ । यति खर्च गरिसकेपछि पनि पाइलटको जागिर नपाएपछि देशका पाइलट विद्यार्थीहरू हतोत्साहित हुँदै गइरहेका छन् । ऋणमा पाइलट पढेकाहरूको स्थिति त एकदम नै नाजुक छ ।

अन्य नीजि वायुसेवा निगममा जागिर भेट्नु चानचुने कुरा होइन । पाइलटको जागिर हतपत्त खुल्दैन र पाइलट चाहिएको खण्डमा आफ्ना नजिककालाई अनुबन्ध गराइहालिन्छ । अहिले देशमा २५० भन्दा बढी युवा पाइलटहरू बेरोजगार स्थितिमा छन् । त्यसमा पनि वर्षेनी ५० को हाराहारीमा विद्यार्थीहरू पाइलट बनेर भित्रिने क्रम जारी छ ।

नेपाल वायुसेवा निगमको इतिहासलाई हेर्ने हो भने यसको स्थापनाकालमा योसँग ट्विनअटर र बोइङ गरी १९ वटा जहाजहरू थिए जसको सङ्ख्या अहिले लोपोन्मुख हुँदै ५ को हाराहारीमा झरेको छ । निगमसँग भएका सुचारु २ वटा बोइङ्को पनि अब २०१४ को आसपासमा म्याद सकिँदै छ । निगमसँगै स्थापना भएको थाइ एयरवेज एउटा ब्रान्ड एयरवेजको रुपमा स्थापित भइसक्दा हाम्रो निगम भने वैतरणीको अवस्थामा पुगेर लम्पसार परेको छ । एउटा विमान भित्रियो भने कैयौँ पाइलट, अपरेटर तथा अन्य साना टेक्निसियनहरूले रोजगारी पाउन सक्छन् जसअनुसार पाइलट बेरोजगारी घटाउन चाहेको खण्डमा नेपाल वायु सेवा निगमलाई त्यस्तो ठूलो र गाह्रो कसरत केही पनि गरिरहनु पर्दैन ।

 निगममा जहाज थपिने सम्भावना प्रचुर मात्रामा हुँदाहुँदै पनि दुई खेमामा विभाजित कर्मचारीहरूको ‘कमिसन मोह’ले त्यसलाई असम्भव बनाउँदै गइरहेको छ । तसर्थ, राजनीतिक नियुक्तिका कारण पिल्सिरहेको निगमले कर्मचारीको भुँडी भर्ने काम बाहेक अरू ठूलो उपलब्धी केही पनि हासिल गर्न सकेको छैन ।

सडक पुग्न नसकेका ठाउँमा जहाजबाट यात्रा गरिरहेका स्थानीय यात्रु र पर्यटकहरू पनि निगमका कम जहाजका कारण विभिन्न सास्ती खेपिरहेका छन् । एउटा टिकट पाउन सांसदकै फोर्स लाउनुपर्ने र कहिलेकाहीँ दलालीमार्फत दोब्बर रकममा टिकट खरिद गर्नुपर्ने जस्ता विकृतिहरू सामान्य लाग्न थालेका छन् । वायु सेवा निगमबाट लगातार आइरहेका कर्मचारीबीचको झगडा, मुसा छिरेका, पाङ्ग्रा हराएका, गिएर हराएका आदिजस्ता विकृत र लज्जास्पद खबरहरूले राजनीतिको कारणले देशको डुब्दो अवस्थालाई उजागर गरिरहेका छन् ।

जहाँ जहाँ राजनीतिक नियुक्ति र हस्तक्षेपले खुट्टा हाल्छ त्यहाँ त्यहाँ संस्था र मानवशक्तिहरू खोक्रा र बेकाम हुँदै गइरहेका छन् । यस्ता संस्थाहरुलाई राजनीतिबाट अछुत राख्न सम्भव नभएमा सरकारले नीजि क्षेत्रलाई नै यिनको व्यवस्थापन र कार्यभार सुम्पिनु उचित हुन्छ । यसो गर्नाले पाइलट बेरोजगारी र हवाइ यातायातका समस्याहरू घट्नेमात्र नभएर सम्पूर्ण देशको अर्थ र इज्जतमा नै परिवर्तन आउन सक्छ ।



- राजन कठेत
सहायक स्रोत: एक पाइलट साथी
नोभेम्बर १६, २०११
काठमाडौँ
 

Sunday, October 30, 2011

मैले चिनेको राजेश हमाल

Rajesh Hamal, As I Know
also published at Mero Cinema Dot Com

Rajesh Hamal at Nepal Tourism Board (April 18, 2010)
टेलिभिजनको एउटा अन्तर्वार्ता कार्यक्रममा राजेश हमाललाई निम्त्याइएको रहेछ । राजेश हमालको अन्तर्वार्तामा सोधकर्ताले नछुटाउने प्रश्न भनेको 'तपाईँ कहिले बिहे गर्नुहुन्छ?' नै हो । नेपाली रजतपटका महानायक कहलिएका हमालले यो प्रश्नलाई यसोउसो बताएर टारेपछि कार्यक्रम सञ्चालक कार्यक्रमको अन्त्य गर्नतिर लागे । कार्यक्रमको बीट मार्ने तर्खर गर्दै सञ्चालकले बढो नरम बोलीमा राजेश हमालको चाँडै राजनीतिमा आउने इच्छा भएको कुरा व्यक्त गर्दा नायक हमाल आँखामा स्वीकारोक्ति जनाउँदै चिउँडो र तल्लो ओठलाई हत्केलाले छोपेर बसेका थिए । कास्टिङ् ठीक्क यहाँ खतम हुन्छ र कथा यसरी सुरु हुन्छ ।

मैले हेरेको राजेश हमाल अभिनित प्रथम चलचित्र 'देवकी' हो । त्यो पनि दिक्तेलमा छिमेकीको घरमा पाल-डेकमा हेरेको हुँ । त्यो बेला म करिब आठ वर्षको हुँदो हुँ । घरमा भर्खर टि.भि. आएको थियो । त्यो बेला 'सिनेलहर', 'गितान्जली', 'क्ल्याप बोर्ड' ईत्यादीजस्ता चलचित्रसँग सम्बन्धित कार्यक्रमहरू थुप्रै मात्रामा प्रसारण हुन्थे । यी कार्यक्रमहरूमा देखाउने चलचित्रहरूको एक्सन् भरिपूर्ण ट्रेलरले मलाई नेपाली चलचित्र हेर्न लोभ्याउँथे । हिन्दी बुझ्दिनथेँ त्यहि भएर नेपाली चलचित्रहरू हेर्न मन लाग्थ्यो । भएको एउटा मात्रै फिल्म हल पनि केही वर्ष अघि नै बन्द भइसकेको थियो । त्यही भएर डेकमा फिल्म हेर्ने चलन बढ्दै गएको थियो ।
While shooting 'Saurya'- Rajesh Hamal (at Chovar) - Feb 10, 2011

राजेश हमाललाई चलचित्रमा प्रथम पटक हेर्दै थिएँ । काँधमुनिसम्म फैलिएको लामो कपाल, अग्लो र खाइलाग्दो ज्यान, जोसिला आँखा, मोटो स्वर जुन ठ्याक्कै अहिले पनि त्यस्तै छन् शिवाय उनका चाउरी पर्दै गएका गाला र भाँसिदै गएका आँखा । अप्ठ्यारो र असुहाउँदो तालमा उनले गरिरहेको नृत्य कुनबेला सकिएला र उनको 'चामत्कारिक फाइट' सुरु होला भन्ने प्रतिक्षामा थिएँ म । यस किसिमको प्रतिक्षा मैले उनका लगभग सबै चलचित्रहरूमा नै गरेँ । त्यो बेला राजेश हमालद्वारा अभिनित 'भाउजु' मेरो सबैभन्दा प्रिय चलचित्र थियो किनभने त्यसमा लगभग ७ देखि ८ वटा 'फाइट'हरू थिए । चलचित्रको 'लास्ट फाइट' पनि मज्जाको थियो । कुकुरको 'फाइट'मा त मैले ताली नै पिटेको थिएँ ।

'देवकी'मा मैले करिब १४ वर्ष अघि हेरेको राजेश हमाल आज 'साहसी'मा आइपुग्दा पनि उस्तै छन् । एकदमै शुरा, बलिष्ठ, नाच्न फिटिक्कै नजान्ने र कडा संवाद बोल्न उस्तै सिपालु । उनले खेल्ने चलचित्रहरू पनि त्यस्तै छन्- फेद पनि उस्तै टुप्पो पनि उस्तै । केबल उनको उमेर उनले निभाउने भूमिकाहरूको लागि असुहाउँदो हुँदै गइरहेको छ । अनि, बद्लिएको छ त उनले अभिनय गरेको चलचित्रहरूको सङ्ख्या । राजेश हमालका सुरुसुरुका चलचित्र र अहिलेकालाई दाँजेर हेर्दा उनले आफ्नो नाममा चलचित्रहरूको सङ्ख्या बढाउने काममात्र गरेछन् जस्तो महसुस हुन्छ ।

Nandita Das, Manjushree Thapa & Rajesh Hamal at NTB (April 18, 2010)
नेपाल पर्यटन विकास केन्द्रमा करिब १ वर्ष अघि भारतीय चलचित्रसँग सम्बन्धित सानो गोष्ठी भएको थियो, जसमा भारतीय अल्टरनेटिभ धारका हस्तीहरू गोविन्द निहलानी र नन्दिता दास पनि आएका थिए । उक्त गोष्ठीमा नेपालबाट छिरिङ रितार शेर्पा, कनक दिक्षित, राजेश हमाल र मञ्जुश्री थापालाई निमन्त्रणा गरिएको थियो । कार्यक्रममा सबै अतिथीहरूले आ-आफ्नो अभिव्यक्ति प्रस्तुत गर्नु थियो । संयोगवस म पनि त्यहाँ नन्दिता दासलाई आफ्नो र क्यामराको लेन्सबाट हेर्न भनेर पुगेको थिएँ । र, अभिव्यक्तिको पालो घुम्दैघुम्दै हाम्रै राजेश हमालको पोल्टोमा आइपुग्यो ।

मलाई याद भएसम्म उनको प्रस्तुति यस्तो थियो । सुरुमा उनी नेपाली दर्शकहरूतिर हेरेर मज्जाले हाँसे । अनि भन्न लागे- 'आजको विषय आर्ट र अल्टरनेटिभ फिल्ममाथि छ तर म भने यहाँका हार्डकोर कमर्सियल चलचित्रहरुको नायक हुँ । अघिल्लो हप्ता म सायद रुखमाथिबाट हाम फालिरहेको थिएँ या त जमिनबाट आकाशतिर उचाल्लिरहेको थिएँ ।" उनले केही यस्तै भाव आउने कुरा मिलेको अँग्रेजी भाषामा फरर भनेका थिए । चलचित्रसम्बन्धी उनले आफूले पढेको, बुझेको तर अहिले सम्म गर्न नपाएका कुराहरूको थप प्रस्तुति दिएर आफ्नो भागको अभिव्यक्तिको अन्त्य गरिदिए । दर्शकहरूले नि हाम्रो नायकले कडै प्रस्तुति दियो भनेर गडड तालिको वर्षा गरिदिए । यति गरेपछि राजेश हमाललाई कुनै चलचित्रको छायाँकनको लागि ठूल्ठुला रुख भएका कुनै जङ्गलमा पुग्नु थियो क्यारे, उनी हिँडि पनि हाले । म पनि नन्दिता दासका केही फोटोहरू कैद गरेर डेरातिर फर्किएँ ।

राजेश हमाल एउटा चलचित्र खेलेबापत ३ लाखको हाराहारीमा पैसा लिने गर्छन् । यति रकम दिन निर्माण पक्ष तयार छ भने उनलाई कथावस्तु, निर्देशक, आफ्नो भूमिका केहीको पनि मतलब हुँदैन रहेछ । ऐतिहासिक विषयमाथि बनेको भनिएको चलचित्र ‘सौर्य’मा स्टील फोटोग्राफीमा म अनुबन्ध हुनुले राजेश हमाललाई चिन्ने मौका झनै थपिदियो । छायाङ्कन स्थलमा भेला भएको दर्शकको भीँड राजेश हमाल आएपछि सुटिङ छोडेर उनीतिरै झुम्मियो । ऐतिहासिक गेटअपमा उनको मेकअप भएपछि उनी त्यो दिनमा दिनुपर्ने सट्हरूको स्कृप्ट पढ्न थाले । उनको सर्वाधिक व्यस्तताका कारण उनलाई उनको भूमिका के हो, उनले गर्नुपर्ने के हो जस्ता कुराहरू सबै छायाँकन स्थलमा नै जानकारी गराइयो । राजेश हमाल ३ दशकदेखि यसरी नै चलचित्र खेल्दै आएका रहेछन् । हुन पनि उनले निभाउने चरित्रहरू सधैँ एकनासे नै छन् त्यहि भएर आफूले गर्नुपर्ने काम उनलाई स्कृप्ट पढ्नु अगावै थाहा भइसक्दो हो । उनलाई अलिक फरक र पृथक विषयवस्तु बोकेका आशालाग्दा चलचित्रहरूकाबाट प्रस्ताव नि आउँदो रहेछ तर व्यवसायिकताका लागि बनेका सस्ता चलचित्रमा बिकिरहेका यी नायकलाई कम पैसामा निर्माण गरिने ती गुणात्मक चलचित्रका लागि अनुबन्ध गर्न नसकिँदो रहेछ ।

राजेश हमालले नेपाली चलचित्रको इतिहासलाई आफ्नो करिब ३ दशक लामो सहभागिताले के गुण लगाए त ? उनले नेपाली समाजमा चलचित्रहरूको थुप्रो त ओहिराइदिए तर ती चलचित्रहरूले नेपालको प्रतिनिधित्व गर्न सकिरहेका छैनन् । राजेश हमाल चलचित्रप्रति अलिकति पनि संवेदनशील हुँदा हुन् त उनले कम्तिमा पनि नृत्य गर्न सिक्दा हुन् । यसअर्थमा हेर्दा उनी बौद्विक नायक कम र शारीरिक नायक बढि हुन् किनभने आफ्नो ज्याङ्गो शरीर र स्वरकै भरमा उनी मजबुतिका साथ टिकिरहेका छन् । उनको ‘साइनिङ एमाउन्ट’ चुलिइ नै रहेको छ । अरू नायकहरू फ्याट्टफुट्ट उनका प्रतिस्पर्धी बनेर आउँछन् र केही समयमा नै हराएर जान्छन् । तर राजेश हमाल सधैँ उस्तै छन् । उनको मागमा कुनै कमी छैन । उनको व्यस्तता सधैँ चुलिँदो नै छ ।
While shooting 'Saurya'- Rajesh Hamal (at Chovar) - Feb 10, 2011

म केटाकेटी छँदा राजेश हमाल मेरा लागि संसारका सबैभन्दा बलिष्ठ मानव थिए । उनी संसारका सबै द्विविधाहरूको अन्त्य गरिदिन सक्छन् जस्तो लाग्थ्यो । अहिले उनी मेरा लागि ती व्यक्ति हुन् जो खुबी भएर पनि केही गरिरहेका छैनन् । उनलाई कहिलेकाहीँ नेपाली चलचित्रसँग जोडेर हेर्छु तर मैले उनलाई अभिनेता मान्न सकिरहेको छुइनँ । त्यहि पनि उनीबाट केही आशाहरू भने जीवितै राखेको छु । उनले कस्ता चलचित्रलाई उत्कृष्ट भन्ने गरिन्छ भनेर राम्ररी बुझेका छन् । आफू हिँडिरहेको बाटोबारे उनी पूर्णरूपमा सचेत छन् । उनले देखीदेखी जे गर्न पाएका छैनन् भन्दा पनि जे गरेका छैनन् त्यो अब गर्नेछन् भन्ने आशा राखेको छु ।

सारांशमा, मैले महसुस गरेअनुसार राजेश हमालले पैसाका लागि मात्र चलचित्र खेल्ने गरेका रहेछन् । दुईसयको हाराहारीमा चलचित्रहरू अभिनय गरिसकेका यी नायकको पोल्टामा मुश्किलले औँलामा गन्ती गर्न सकिने जति पनि स्तरीय चलचित्रहरू छैनन् । तसर्थ राजनीतिजस्तो नयाँ र चक्रव्युहपूर्ण क्षेत्रमा अभिमन्यु बन्न खोज्नुभन्दा आफूले तीन दशक अघिबाटै सुरु गरेको तर गर्न नसकेको कामलाई उत्कृष्टताकासाथ गरेर देखाइदिनुमा नै राजेश हमाल, नेपाली चलचित्रप्रेमी र सम्पूर्ण नेपाली जनताहरूको पनि भलो हुन जाला !!

शब्द/ तस्विर : राजन कठेत
चौथो वर्ष, मिडिया स्टडिज, काठमाडौँ विश्वविद्यालय
जुलाई ७, २०११

Friday, October 21, 2011

एक असफल आख्यानको आरम्भ

भूमिका बाँध्न चाहन्छु । उपन्यास सम्बन्धी मैले इच्छाएका कुरा पोख्नु अघि ‘यो’ किन्दाको पृष्ठभूमिलाई चिहाउन मन लाग्यो । २०६६ साल जेठ ७ गतेका दिन एक पुस्तक प्रदर्शनीबाट यो उपन्यास किनेको थिएँ- अर्किड बुक्स सेक्सनबाट नै । ध्रुवचन्द्र गौतम मैले लगभग सुनेको मात्र नाम थियो । पढेको नाम थिएन । बेलामौका पत्रपत्रिकामा त्यो गोलाकार हँसिलो आवरण देख्नु अर्कै कुरा हो । 

फेरी मैले यो उपन्यास नै किन छानेँ त? उपन्यासभन्दा पनि यसलाई पुस्तक भन्दा वेस होला । स्पष्ट पार्न चाहन्छु- ‘यो’ किन्दा मलाई थाहा थिएन यो कुनै उपन्यास हो वा संस्मरण । फेरी मैले राजेश केसीको उत्कृष्ट आवरण तस्विरका लागि पनि ‘यो’ किनेको हैन । न त ‘एक असफल आख्यानको आरम्भ’ नाममा युनिक्नेस नै भेट्टाएर हो । गोप्यताको ढक्कनलाई खोल्नुपर्दा – एकदिन आरोहण गुरुकुलमा मैले यो पुस्तक पढिरहेको अवस्थामा भेटेको थिएँ – सुनिल पोखरेललाई ।
*****

‘एक असफल आख्यानको आरम्भ’ प्रयोगात्मक उपन्यास हो । प्रयोगात्मक यसकारण कि यसले आख्यानात्मकता भन्दा पनि निबन्धात्मकतालाई प्रचुरमात्रामा शिरोपण गरेको छ । संस्मरणात्मकता पनि यत्रतत्र फेला पर्दछ । व्यङ्गात्मकता त यस उपन्यासको भुँडी हुँदै हो । ध्रुवचन्द्र गौतमको प्रयोगात्मकताले आख्यानका मुटुफोक्सो लगायत आन्द्राभुँडीहरू मजाले चेप्टिएका छन् भन्दा अभर नपर्ला । 
एक वाक्यमा समेट्नुपर्दा ‘एक असफल आख्यानको आरम्भ’ आधुनिक नेपाली लेखकहरूमा पाईने मपाईँवादप्रतिको घोचपेच हो । उपन्यास नेपाली लेखकहरूमा देखिएको र देखिन थालेको विकृतिमाथि प्रहार गरिएको झटारो हो । तर, कथाका पात्रहरूलाई किनारमा पन्छाएर उपन्यासको कथाचाहिँ ध्रुवचन्द्र गौतमका समकालीन, उँदाउँदै गरेका र अन्य लेखकहरूका कमजोरी र विकृतिहरू कोट्याउनमा केन्द्रीत छ । उपन्यासमा विषयविमुखताले पनि प्रशस्तै मात्रामा खुट्टा हालेको छ । गौतम प्रशस्तै मात्रामा बरालिएको भान हुन्छ । 
यस उपन्यासको मुटुलाई छाम्दा नेपाली लेखकहरू असल बन्न छोडेर सफलताउन्मुख मात्र हुन थालेको पाईयो । उनीहरूबाट संवेदनशीलता नामको चीजले अस्तित्व हराएको कुरा पनि छर्लङ्गियो । एउटै लेख (कृति) लेखेर लेखक सफलताको शिखरमा झण्डा फहराउने कुण्ठाप्रति मात्र अग्रसर बन्न थाले । पारिजातले भनेझैँ अरुको गल्ती र कमजोरी हेर्न माइक्रोस्कोप प्रयोग गर्ने तर आफ्नो हेर्न टिनको चस्मा भिर्ने प्रवृत्तिले आधुनिक नेपाली लेखक समाज गलेको देखियो । जसकारण इमान्दारीताको नाउमा तैरिन खोज्ने ‘आधार शर्मा (मुख्य पात्र)’ बीचैमा डुब्न विवश छ भने जीवनलाई सफलता र सम्पन्नताको तराजुमा जोख्ने र भोग्ने ‘सुषुम्ना’, पहिले ठाउँ नभेट्टाउन्जेल आधारकी प्रेमिका र पछि अनेकौँ सफल व्यक्तित्वकी प्रेमिका र विलासकी रानी, सफलताको उपल्लो कोटीमा पुग्न सफल हुन्छे । यहाँ असल लेखकहरू भोकभोकै डुल्छन् र कलम गुण्डा, अरू लेखकहरूलाई गाली गर्न र गिराउनमा आफ्नो लेखकीय जीवन समर्पित गरेका, हरू विलासिताका पौडिबाज बन्छन् । एउटा लेखक गिर्दा अर्कोले प्रसन्नताको मुद्रा छर्ने र एउटा सफल हुँदा अर्को ईर्ष्या र ग्लानीले भयभीत र छेदविछेद हुने प्रवृत्तिले  नेपाली लेखक समाज ढाकिएको छ । यही दोषोन्मुखताको अगेनामा नेपाली लेखन जगत गल्दैछ र यहाँ प्रशस्तै असफल लेखकहरू जन्मिँदैछन् । यहाँ एक असफल आख्यानको आरम्भ हुँदैछ ।   
समग्रमा ‘एक असफल आख्यानको आरम्भ’ मपाईँवादी र अवसरवादी लेखकहरूलाई गरिएको गाली हो । सिङ्गो गाली हो । चाटुकारी समाजमा हुर्किँदै गरेको विपन्न लेखनविरुद्द व्यक्त गरिएको छेड हो । आधुनिक र उत्तरआधुनिक भनेर कहल्लिएका लेखकहरूप्रति ध्रुवचन्द्र गौतमले गरेको व्यङ्ग्य हो ।

-   राजन कठेत
२०६७ कार्तिक १९, शुक्रबार
निर्मलीडाँडा- ५, खोटाङ

Thursday, October 20, 2011

ओ सिट्

ओ सिट्

छिप्पिँदै गरेको धुलाम्मे रातमा
यता बाट हुइकिँदै गइरहेछ एउटा दुईपाङ्ग्रे
जसको गतिलाई धावा बोल्न उताबाट आइरहेछ त्यस्तै अर्को,
ती दुई एकअर्काको सामुन्ने परेपछि
यताको दुईपाङ्ग्रेलाई थाहा हुन्छ
उसतिर बढिरहेको त चारपाङ्ग्रे हो
जसको टाउकाको एउटा लाइट बिग्रिएको छ,
त्यसपछि,
झ्याराम्म सिसा फुटेको,
केही ढलेको
आवाज फैलिन्छ
– काठमाडौँ ।


- राजन कठेत
अक्टोबर २०, २०११
त्रिपुरेश्वर

Tuesday, October 18, 2011

‘आचार्य’ – हजार सपनाहरूको माया लागेर आउँछ


“जहाँ छन् बुद्दका आँखा, स्नीग्ध, शान्त र सुन्दर
त्यहाँ छ शान्तिको क्षेत्र, मेरो राष्ट्र मनोहर”
यो गीत मैले त्यो बेला सुनेको थिएँ जबकी मलाई यो गीत हो भन्ने नै थाहा थिएन । हजुरबुवाको रेडियोमा प्रायजसो बिहानपख बज्ने यो मान्छेको स्वरमिश्रीत धुन सुगारटाइ बनेर मेरो मष्तिष्कमा छिपिएको थियो । जब बज्थ्यो म चिनिहाल्थेँ यो त्यहि धुन हो भनेर । टिभीको सङ्गत सुरु भएपछि यो परिचित धुन टाढा हुँदै गयो ।
भक्तराज आचार्य मैले कता कता सानैदेखि सुनेको नाम थियो । नारायणगोपाल उदाएको युगको गायक भनेर ठम्याउँदथेँ म भक्तराजलाई । भक्तराज आचार्यप्रतिको मेरो सम्मान र उनको गायनप्रतिको चाख काठमाडौँ विश्वविद्यालय छिरेपछि मात्र चुलियो । पुराना नेपाली साङ्गितिक सृजनाहरूमा चासो राख्ने सहपाठीहरू वरिपरि हुनाले बच्चुकैलाश र भक्तराजजस्ता स्रष्टाहरूलाई अत्यधिक मात्रामा सुन्न थालेँ । त्यसपछि पुराना गायकहरूमा नारायणगोपाललाई मात्र अत्यधिक मात्रामा चिन्ने हाम्रो समाजमा मैले बच्चुकैलाश र भक्तराज आचार्यलाई नारायणगोपाल बिराजमान भएको श्रेणीमा राखेर सुन्न थालेँ ।
भजनशिरोमणीको उपाधीले प्रख्यात भक्तराज आचार्यमाथि चलचित्र बन्दैछ भन्ने कुरा सुन्न पाउनु एउटा ठूलो हर्षको विषय नै थियो । प्रशान्त रसाईली जसले कागबेनी जस्तो कोसेढुङ्गासाबित चलचित्रमा काम गरिसकेका थिए र जसले ‘काइटस्’मा अनुराग बासुको सहनिर्देशक भई बलिउड उद्योगबाट अनुभव बटुलीसकेका थिए, उनीद्वारा नै यो चलचित्र निर्देशन हुँदैछ भन्ने सुन्न पाउनु झनै ठूलो आशाको कारक थियो ।    
जब मुलुक भुईँचालो, जहाज दुर्घटना र एक मुस्लिम नेताको हत्याजस्ता हृदयविदारक घटनाहरुबीच गुज्रिरहेको थियो, मलाई त्यहिबेला भक्तराज आचार्यमाथि बनेको भनिएको चलचित्र ‘आचार्य’ हेर्न जुर्यो । अहिले हामी साथीहरूबीच नेपाली चलचित्र ‘एक्स्पेक्टेसन’ नबोकी हेर्न जानुपर्छ भन्ने विचारको खेती हुन थालेको छ । जहाँसम्म मलाई यो हाम्रो विचार अपकर्षित लाग्नुको सट्टा सही नै लाग्छ किनभने विदेशी चलचित्रहरूको पर्फेक्सन हेर्ने बानीले हामी दर्शकको स्तर पनि परिपक्व हुँदै गइरहेको छ । यस यथार्थबीच कम लगानी र छोटो समयमा निर्माण हुने हाम्रा नेपाली चलचित्रले हामी नेपाली दर्शकलाई पूर्णरुपमा सन्तुष्टी प्रदान गर्न नसक्नु एउटा कमजोरी नभएर एउटा सत्य हो । तसर्थ, ‘आचार्य’मा मैले भक्तराज आचार्यलाई खोज्न जानुको सट्टा एउटा सुन्दर नेपाली चलचित्र हेर्न जानुपर्थ्यो ।
मैले देखेको सत्य- भक्तराज आचार्यको निधन भएको अर्को दिन प्रायजसो सबै खबरपत्रिकाहरूले छाप्लान्- ‘भक्तराज आचार्य नारायणगोपाल भन्दा कुनै पनि कोणले कम थिएनन् । भन्ने हो भने उनी नारायणगोपालकै स्तरका थिए।’ यो नितान्त मैले देखेको भविष्य जसले सत्य हुनु कुनैपनि जरुरत राख्दैन । ‘आचार्य’मा फर्किनुपर्दा, भक्तराज आचार्य मेरा निमित्त ती स्रष्टा हुन्, जसको वजनलाई आगामी दिनमा निर्माण हुनसक्ने कुनैपनि सङ्गीत या दृश्यहरूमा समेट्न असम्भव नै हुन्छ । ‘आचार्य’मा भक्तराज एकदम नै न्यूनरुपमा समेटिनुलाई चलचित्रको कमजोरी भनुँ या त भक्तराजको भार ?
मैले भक्तराजका थोरै गीतहरू सुनेको छु, तर जति सुनेको छु, हृदयबाट सुनेको छु । चलचित्र अवधिभर ममा एउटै कुरा खट्किरह्यो, चलचित्र निर्माण सुरु हुनु अगावै निर्देशक र लेखकले भक्तराजका सृजनालाई किन राम्रोसित सुनेनन्, ती उत्कृष्ट सृजनालाई किन हृदयबाट नै सुन्न खोजेनन् । चलचित्रमा जहाँ जहाँ भक्तराजकै ओरिजिनल स्वर गुञ्जिन्छन्, पर्दामा देखिने दृश्यहरू एकदमै कमजोर र खल्ला महसुस हुन्छन् । त्यो गहिरो साङ्गितिक प्रकटनमा चलेका दृश्यहरू फिक्का र खल्ला लाग्छन् - यस्तो लाग्छ त्यहाँ केही गहिरो अनुभूति देखिनु जरुरी छ ।
‘आचार्य’को कमजोर पक्ष भनेको यसको कथावस्तु हो । कथावस्तुमा भक्तराज आचार्य एकदम नै कम समेटिए । एउटा पत्रकारलाई दिइएको अन्तर्वार्ताको पक्षबाट यी सर्जकको कथा भनिनु नै मलाई चलचित्रको कमजोर पक्ष लाग्यो । भक्तराजका सङ्घर्षका क्षणहरू त प्रस्तुत हुन्छन् तर ती फितला र सतहीजस्तामात्र लाग्छन् ।    
'आचार्य'मा मैले भक्तराजमाथि बनेको चलचित्रभन्दा पनि छोराहरूले एउटा बाउलाई दिएको ट्रिब्युट हावी भएको देखिरहेको थिएँ । भक्तराज पात्र एउटा मानवभन्दा बढी एउटा फिल्मी नायकजस्ता देखिए । भक्तराजका जीवनका अनेकौँ पाटा र मनस्थितीहरूलाई फिल्ममा नसमेट्नु कमजोर पक्ष हुन् । यी भजनशिरोमणीका भजनहरू छायाँमा परेका छन् । उनका श्रोताहरूमाझ परिचित केही गीतहरूमात्र समेटिएका छन् । भक्तराजको गीत ‘म कहीँ कतै हराएँ’जस्तै फिल्मबाट भक्तराज पनि हराएकाजस्ता लाग्छन् ।
‘गुलाम अली – भक्तराज’ दृश्यको साटो भक्तराजको जीवनमा प्रभाव पारेका अरू कुनै घटनाहरू समेटिएको भए वेस हुन्थ्यो । गुलाम अलीको उचाइलाई भक्तराजको कथा मजबुत पार्नका लागि चलचित्रमा जोडेको भए पनि यसले चलचित्रको गुदीमा खासै फरक पारेको छैन । गुलाम अलीले गरेको प्रशंसा र प्रोत्साहन बिना पनि भक्तराजलाई सबल देखाउन सकिन्थ्यो ।
चलचित्रमा देखिने सबै कलाकारहरूले आ-आफ्नो भूमिका राम्ररी निभाएका छन् । चलचित्रमा छोटो भूमिकामा देखिएका सौगात मल्लको अभिनय प्रशंसायोग्य छ । उनले खेलेको गुण्डाको भूमिकामा उनी ज्यादै सुहाएका छन् । त्यस्तै अर्का कलाकार आशान्त शर्मा, जो घरीघरी राजपाल यादवको याद दिलाउँछन्, उनले पनि तारिफयोग्य काम गरेका छन् ।   
अहिले नेपाली चलचित्र उद्योगमा जुन किसिमले चलचित्रहरू ओहिरिरहेका छन्, तीभन्दा ‘आचार्य’ धेरै उत्कृष्ट छ । यो सरल चलचित्र हो- यसमा दैनिक जीवनका हाउभाउहरू सरल रुपमा प्रस्तुत छन् । निर्देशन पक्ष पनि बलियो छ । भक्तराजको जीवन बिर्सेर चलचित्रको रुपमा मात्रै हेर्ने हो भने ‘आचार्य’ झनै राम्रो लाग्छ ।
अन्त्यमा, मेरो मोबाइल या कम्प्युटरमा जब भक्तराजको ‘हजार सपना’ बज्छ, त्यो बेला म यो गीतका अगाडी अपाहिज बनेर लठ्ठिन्छु, गीत शरिरभरी लाग्छ; ‘आचार्य’मा पनि यो गीतका अगाडि विच्छ्याइएको दृश्यले यस सृजनाको भार थाम्न प्रयत्न गर्नुपर्थ्यो ।   

राजन कठेत
सेप्टेम्बर २७, २०११
अल्पविराम प्रा. लि.
 

Monday, August 8, 2011

केबल जीवन

[म, दुधकोशीको तिरमा, २००९ (हो क्यारे)]

यहाँ धेरै कुरा फर्स्ट् टाइम  हुन्छ ।
न त बत्ति नै बल्छ
कसैले स्वीच नै नदबाए ।
यहि हो जीवन,
जसलाई
सुतेपछि न त सुस्ताएको नै भन्न मिल्छ,
वा जागेपछि क्रियाशील नै !
यस्तै नै त छ जीवन-
कोही हाँसिरहेको हो
वा ऊ रुँदा हाँसेजस्तो देखिने हो !
असफलतालाई एउटा अनुभव भनिदिए पुग्छ-
सजिलै ।
जीवन-
जसको चक्रमा दर्शन छिरेर
यसलाई मूल्यहीन पनि बताइदिन्छ ।
जीवनलाई केको लागि दौडाइरहेको छु
थाहा छैन,
तर दौडाउनुपर्छ भन्ने सिकेको छु ।
यही हो जीवन,
दौडेर कहाँ पुग्छु भन्ने पत्तो पनि छैन,
कुँजिएर बसे काँ नपुगुँला भन्ने सङ्केत पनि छैन । 
मात्र जिइरहेको छु-
केबल जीवन ।
 (मैले काम गर्ने फाँटलाई ‘क्रिएटिभ डिपार्टमेन्ट’ भन्दछन् । यो कोठामा यति गर्मी हुन्छ कि, छिर्नेबित्तिकै निद्रा सुरु हुन्छ । आज खाजा खाएर टेबलमै एक निद्रा सुतेर उठेँ अनि काम गर्न भनेर कम्पुटर खोलेँ । त्यसपछि कामलाई एकातिर थाँती राखेर किबोर्डमा औँला दौडाउँदा माथिका केही हरफ बने । बने तर के बने थाहा भएन ।)
अगस्ट ७, २०११
अल्पविराम, योर ट्रान्जिट पार्टनर
त्रिपुरेश्वर
.........

Monday, July 11, 2011

गुणस्तर शिक्षाको स्वर्ण महोत्सव मनाउँदै खुम्जुङ स्कूल

 गुणस्तर शिक्षाको स्वर्ण महोत्सव 
मनाउँदै खुम्जुङ स्कूल

राजन कठेत
खुम्जुङ (सोलुखुम्बु), जेठ १६
खुम्जुङ मा.वि. स्वर्ण महोत्सव समुद्घाटन कार्यक्रम साथै पृष्ठभूमिमा खुम्जुङ गाउँ र देवता मानिने खुम्बिला हिमाल
सोलुखुम्बु जिल्लाको उत्तरी खुम्बु भेगका बालबालिकाहरूको शिक्षादिक्षामा टेवा पुर्याउँदै आएको खुम्जुङ माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५०औँ वर्ष पार गरेको उपलक्ष्यमा यही जेठ १२ देखि १५ गतेसम्म स्वर्ण महोत्सव मनाएको छ । भूतपूर्व शिक्षक, र विद्यार्थी तथा देश विदेशका दाताहरू समेत उपस्थित रहेको उक्त महोत्सवमा गीत- सङ्गीतका साथसाथै विभिन्न साँस्कृतिक तथा खेलकुदका कार्यक्रमहरू समेत आयोजना गरिएको थियो । 

भलिबल खेलका लागि तयार हुँदै खेलाडीहरू, पृष्ठभूमिमा खुम्बिला हिमाल
          समुद्रको सतहबाट तीन हजार सात सय नब्बे मिटरको उचाइमा अवस्थित यो विद्यालय सर एडमन्ड हिलारीको सहयोगमा वि.. २०१८ अर्थात सन् १९६१ मा स्थापना भएको थियो । सन् १९५३ मा सगरमाथाको पहिलो पटक विश्व किर्तिमानी आरोहण गरेर विश्वप्रख्यात भएका सर एडमन्ड हिल्लारीले खुम्बु क्षेत्रका वासिन्दाहरूलाई सहयोगको प्रस्ताव राख्दा सम्पूर्ण अभिभावकहरूले आफ्ना बालबच्चाहरू आँखा भएर पनि शिक्षाको अभावले गर्दा अन्धा नै भएका र त्यसैकारण एउटा विद्यालय निर्माण गरिदिनका लागि आग्रह गरेका थिए ।  

फोटोग्राफर र चित्रकारहरूले सबैभन्दा बढि रूचाउने र विश्वको सबैभन्दा सुन्दर मानिने  हिमाल "आमाडब्लम"
राष्ट्रमा शिक्षित जनशक्ति न्युन रहेको उक्त समयमा दार्जिलिङबाट शिक्षकहरू झिकाइ सानो एक कोठे भवनबाट अध्यापन सुरु गरेको यस विद्यालय अहिले राष्ट्रकै नमुना विद्यालयको रुपमा विकसित भइसकेको छ । अहिले यो विद्यालयसँग मौसम अनुकुल इन्सुलेटेड कक्षाकोठाहरू, कम्प्युटर प्रयोगशाला, भुगोल प्रयोगशाला, पुस्तकालय, सभाकक्ष, शिक्षक र विद्यार्थीका लागि होस्टेल, क्यानटिन गरी करिब बीसवटा सानाठूला भवनहरू छन् ।  

Animation: Students of Khumjung School by rajankathet


                सहरी क्षेत्रका निजी विद्यालयका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सक्ने शिक्षा प्रदान गरिरहेको यो विद्यालयबाट शिक्षा हासिल गरेका विद्यार्थीहरू देशविदेशका विभिन्न संघसंस्था र व्यवसायमा आबद्ध रही गरिमामय पदहरूमा आसिन छन् भने यहीँबाट शिक्षा आरम्भ गरेका नावाङ् कर्साङ शेर्पाले विश्वचर्चित क्याम्ब्रिज विश्वविद्यालयबाट स्नातक डिग्री समेत हासिल गरिसकेका छन् ।  

पिलाटस ट्वीन अटरबाट देखिएको 'नाम्चे बजार'को दृश्य
सुरुवात कालदेखि नै सर एडमन्ड हिलारीद्वारा स्थापित 'दि हिमालयन ट्रस्ट फाउन्डेसन' को सहयोगमा सञ्चालन हुँदै आएको यो विद्यालयलाई सन् १९७४ मा तत्कालिन श्री ५ को सरकारले सरकारी विद्यालयको मान्यता दिएको थियो । हिमाली भेगमा शिक्षास्रोतको उत्कृष्ट र बलियो संस्थाको रूपमा ५० वर्ष अघिदेखि अग्रसर यस विद्यालयले अँग्रेजी माध्यमको शिक्षालाई मात्र विशिष्ट शिक्षा प्रणाली मान्ने परम्परावादी सोचलाई गलत साबित गरिदिएको छ ।

video
यो समाचार भिडियोमा पनि हेर्न सकिन्छ

(This news article has been done for the fulfillment of MEDS 405) 
July 12, 2011

8th Semester, BMS 2007, KU
............. 

Saturday, July 9, 2011

‘कर्नाली ब्लुज’- सरलतामा मीठास

नेपालका चुने-गनिएका पत्रिका, मैले चिनेका साथीभाइ, बुद्धिजिवी र अन्य पाठकका माझ बुद्धिसागरको प्रथम उपन्यास 'कर्नाली ब्लुज'को अत्यधिक चर्चा भएको थियो । एकजना साथीले त 'कर्नाली ब्लुज' ले मारि नै दिन्छ समेत भन्न भ्यायो । चलचित्र क्षेत्रमा सङ्घर्षरत एकजना दाईले यो पुस्तक फिल्मका लागि बलियो स्क्रिप्ट बनेको कुरा बताए । म अन्योलमा थिएँ यो बढाइचढाइको प्रसिद्धि हो या त उपन्यास नै यत्तिको सबल छ । फेरी मलाई पुस्तक पढ्न कहिल्यै हतार भएन । राम्रो कृति छ भने यो जुनै कालमा पढेपनि बेस्वादिलो नहोला भन्ने विचार पैदा भइसकेको थियो ।

उपन्यासले रापिलो प्रसिद्धिबाट गुज्रेको करिब ६ महिनापछि मैले एउटा साथीलाई यो पुस्तक पढ्न दिनको लागि अनुरोध गरेँ । पुस्तकको मूल्य कसैले रू.३५०/- भनेर बताइसकेको थियो । कोठामा एक चाङ उपन्यासले आफ्नो पालो कुरिरहेको बेलामा मलाई यो पुस्तक किनेर चाङमा थप्न जाँगर चलेन । आँट पनि आएन । आखिर साथीबाट नै उधारो लिनुपर्यो । अन्तत: बसबाट धुलिखेल धाउँदा-फर्किँदा, चियापसलहरूमा बस्दा, कतै कसैलाई कुर्नुपर्दा, कोठामा बस्दा मेरो हातमा पनि 'कर्नाली ब्लुज' देखिन थाल्यो जुन काम मेरा निकट साथीहरूले उहिल्यै गरिसकेका थिए । 

यो पुस्तकमा कैयौँ पाठकहरूले आफ्नै कथा देखे होलान् । आफ्नै बा, बुवा, पापा र ड्याडीलाई आफूले देखे र भोगेसम्मका दु:ख र उतारचढावहरूसँग गाँसेहोलान् । कसैले दाउराको भारी बिसाएर निधारमा नाम्लोले पारेको गहिरो खोपिल्टोबाट पसिना उघ्घाइरहेक बाको पीडा आत्मसात गरे होलान्, कसैले टाढाको कार्यालयबाट लखतरान भएर घर फर्किरहेका बुवाको उकालोको स्याँ स्याँ सम्झेहोलान् त कसैले कारबाट ब्याग र खेलौना झिक्दै व्यवसाय खस्केर आम्दानी कम भएको कुरा चिट्चिट् पसिना काढ्दै मम्मीलाई सुनाइरहेका ड्याडीलाई झल्झली याद गरेहोलान् । 'कर्नाली ब्लुज'को पठनका क्रममा आ-आफ्ना बाहरू आ-आफ्नै परिस्थिति र दु:खकष्टलाई उजागर गर्दै फेरी प्रस्तुत भए होलान् । मैले पनि दशैँताका चारदिने बाटो काट्दै ठूलो झोला भिरेर घर फर्किने आफ्ना शिक्षक बुवालाई दिमागमा नचाइरहेँ ।   

बुद्धिसागरले आफ्ना बाको जीर्ण हुँदै गइरहेको जीवनको एउटा झ्यालबाट चिहाएको बाको र आफ्नो बितेका दिनका सङ्घर्ष मेरो दिमागमा सदृश प्रस्तुत भइरहे । घटनाहरूका बुनिएका खुलस्त नालीवेलीले गर्दा मेरो मगजमा बृषबहादुरलाई उछिनेर बुद्धिसागर नै हावी भैरहे । कल्पनाको भरमा मात्रै त्यो बेलिविस्तार सम्भव छैन भन्ने कुराले न्याकिरह्यो । आखिर बुद्धिसागरलाई बृषबहादुर उपनाम दिएर पठन अगाडि बढाएपछि मेरो मानसिक वातावरण अलिक सहज भयो । पठन यसकारण पनि रोचक बन्यो कि म हुर्केको गाउँ मटारेजस्तै थियो । बृषबहादुरको सुद्धि झन्-झन् चञ्चल भइरहेको क्षणको कटासे मेरो दिक्तेल बजारको बसाइजस्तै थियो । फरक यतिमात्र हो विद्यालयको परिक्षाहरूमा उत्तिर्ण हुन मैले हातको कापेमा चिट च्याप्नुपरेन । हाँसका ठाउँमा काँक्राहरू चोरेर बिगार गरेपनि चौकीसम्मको यात्रा चाहिँ तय गर्नुपरेन । उमेरको संवेग अनुसार मेरा इच्छाहरू पनि त्यसरी नै बढिरहेका थिए । कालो लेदरको ज्याकेटमा त्यति चाख नभएपनि वाल्कमेनले मेरो घिघिडो धेरै नै बढाएको थियो । अनि, त्यसरी नै म वर्षदिने दशैँ मनाएर काठमाडौँ फर्किन बाटो लाग्ने बेला गला अवरुद्ध गरेर आँसु चुहाउँदै ममी र हजुरआमाका गोडामा निहुरिन्थेँ । मलाई बुद्धिसागरको मसीका माध्यमबाट आफ्नै बितेको जीवनलाई एउटा फरक धारबाट पढेजस्तै अनुभव भयो ।   

एउटा साथी आफ्नो सुरक्षित रुपमा मोटरसाइकल कुदाउने बानीलाई अत्यधिक जोस, हँकाइ, दूर्घटना र अनुभवपछि प्राप्त सफलता भनेर बताउने गर्थ्यो । कर्नाली ब्लुज पढ्दा मलाई यस्तै सहजता र सरलता अनुभव भयो । यो सरलता बुद्धिसागरले पठन, लेखन र वैचारिकताको लामो मिहिनेतपछि हासिल गरेको हुनुपर्छ । नेपाली लेखहरू पढ्दा मलाई नेपाली लेखकहरू अत्यन्तै पूर्वाग्रही भएको महसुस हुन्छ । त्यहाँ उनीहरूको अहंपना सदृश झुन्डिएको अनुभूति हुन्छ । एक असफल आख्यानको आरम्भ लेख्न ध्रुवचन्द्र गौतम त्यसै बाध्य भएनन् होला । नेपाली लेखकहरू लेख लेखिरहेका हुन् या ती शब्दहरूमा आफ्नो शिक्षा र सर्टिफिकेटको प्रमाणपत्र झुन्ड्याइरहेका हुन् छुट्ट्याउन धुम्धुम्ती पर्छ । क्लिष्टताप्रतिको उनीहरूको प्रेमले गर्दा म कतिपय लेखहरूको एक अनुच्छेद तुर्न पनि असमर्थ हुन्छु ।

शब्दको सरलताले गर्दा नै मैले कर्नाली ब्लुजमा रम्न सकेँ । शब्द-शब्दमा खित्का छोड्न र चुहिन सकेँ । मैले सुरुमा कवि भनेर चिनेको बुद्धिसागरका घुमाउरा शब्दका जङ्गलमा बाटो समात्न कोतरिनु परेन । म त केबल बुद्धिसागरलाई पढिरहेको थिएँ जो बालखामा बढो चकचके र बदमास थियो; जहिले पनि बिठ्याईँ गरिरहन्थ्यो; जसको बाबुले बढो कष्ट गरेर घर थामिरहेका थिए; छोराको कुनै सपनालाई पनि तुहिन दिएका थिएनन्; र, आसपास दु:ख सधैँ उकालो बढ्दो थियो; तर कर्नाली सधैँ दख्खिन बग्दो थियो ।        
  

कर्नाली ब्लुज सरल भाषा र उत्कृष्ट अभिव्यक्तिमा वर्णित सङ्घर्षपूर्ण जीवनको निचोड हो । नेपाली व्याकरण र बुद्धिजिवीहरूको भाषालाई किताबमा नै छोडेर बोलिचालिको सरल भाषालाई प्राथमिकता दिनु नै यो उपन्यासको सबल पक्ष हो । अरू नेपाली लेखकहरूले अब जटिल भाषामा तुकहीन र अस्पष्ट विषयवस्तु केलाएर बस्नुभन्दा सरल भाषामा सानोतिनो ब्रह्माण्ड बताउन प्रयास गरे मजस्ता पाठकको हित होला । अब भने बल्ल मलाई यो उपन्यास किनेर आफ्नो मिनि-लाइब्रेरीमा राख्ने जाँगर चलेको छ । अब मेरो सानो पुस्तकको र्र्याकमा भूपि शेरचनका कविता, शङ्कर लामिछानेका निबन्ध र विपिका आख्यानहरूछेउ बुद्धिसागरको कर्नाली ब्लुज एउटा बलियो स्थान ओगटेर बस्नेछ ।  
 .........
 राजन कठेत
 जुन २३, २०११
 काठमाडौँ

Monday, July 4, 2011

Must watch 'Delhi Belly'

The large poster of 'Double Dhamal' was being replaced by that of 'Delhi Belly' at QFX Jay Nepal as I was waiting for my friends, with booked tickets already boarded into my pocket. Amir Khan's involvement in movies- be it as an artist or a mere member of production crew, is always a luring substance for audiences. He has again come up with a compelling work under Amir Khan's productions- 'Delhi Belly.'

If I'm to remember recent Bollywood flicks that laid on Forever Diamond for the chief turning points then the movies like Phir Hera Pheri, Golmal and others that I couldn't point out suddenly come into my memory. Recent Bollywood comedies are most of the times centered into the characters running after money, drugs, arms and diamond. Amir Khan's much talked Delhi Belly is another flick based on the run for diamond, but it surely is a brilliant interruption to cheap Bollywood manufactures.

Tashi Malhotra (Imran Khan), the lead person of the film, has best averted from his previous lover-boy character. He has managed well to reflect both punk and shabby personality at the same time. His other two roommates Nitin (Kunaal Roy Kapur) and Arup (Vir Das) have combined well to form a perfect crooked trio. These trio protagonists form a very compact gang which do several innocent, smart and at the same time stupid and crooked stuffs.

These three room partners are living a stinking life despite having resources and ability to live a good and well managed life. They accidently come in bad terms with a team of gangstars longing for some missed pieces of diamonds. There's nothing new and exceptional things in the plot except some nudity and explicit languages which the makers have put in openly.

There is no Katrina like drug or Akshya like joker for an unnecessary hook, but a class combination of acts and dialogues. There are many substances, which cannot be viewed with our family/ relatives aside, but it is a refreshing and laugh-to-abdomen-crack package otherwise watched with friends or a partner.

Music is necessarily loud at some points but no pointless dances and songs. Amir Khan's disco dancer performance at the end is also worth watching. Cinematography has best omitted exaggerated colors and clichés of Bollywood, which is heroic, filmy and well managed or an over-ruined lifestyle. It has captured best textures of ruined and corrupted lifestyles, unharmonious relations and unplanned infrastructures of Indian cities.

Abhinay Deo has proved himself after his debutant and super-flop 'Game.' He exemplifies that movie is not about the story and conclusion, but how the ideas are portrayed logically in the audio-visual form. Other below the margin comedy filmmakers will surely be inspired to produce class comedies in coming days. Delhi Belly is a very good entertainer.  

  Rajan Kathet
1st July 2011
Kapan, Kathmandu 
Film Laws Please!!!
यो फोटो सेन्सर बोर्डलाई समर्पित
In the midst of these political hassles, we can expect almost no good things from the government controlled institutions. At the time when political gangstars and mafias are being protected by the political parties, citizens not linked to any political powers have no option but to stay silent to every happening.

Restriction of screening of much talked ‘Delhi Belly’ of Amir Khan Productions was another ridiculous act by the Government based Censor Board. Since there is no clear film law in the nation, politically appointed members of the Board are doing anything they like. Their background is another and they have been appointed to judge what a good film is and what is not. The restriction to recent ‘Buds Film Fiesta 2010’ is followed by the sudden and stupid barring of ‘Delhi Belly.’ 

Lack of film laws is what encouraging these uneducated fellows in the moving chairs to act on their own authority and supremacy. The current trend is that films are graded not censored. One of several reasons behind the restriction of ‘Delhi Belly’ can be that the crowd was overflowing only to watch this film in the major cities of Nepal and other Nepali producers were just counting to find an excuse so that their below margin films could breathe at least.  The other reasons can be that the Board members want to prove their supremacy as long as their party remains in the government.

Modernization does not only mean to lead a Western like lifestyle but to upgrade to the good practices others have applied in their lives. So, my sincere request to our fellas is that they should try to acquire some knowledge on how a good world is moving. Although there are minimal chances of constitution drafting within the remaining two months, we can at least expect, if drafted to shock of all, it will come up with clear laws on films and film festivals too.

July 4, 2011
Alpaviraam

Saturday, June 4, 2011

चितामा

चितामा 
 
पुरिइसके बाग्मतीहरू
थुनिइसके ढुङ्गेधाराहरू
छेकिइँदैछन् धरहराहरू
जीर्ण हुँदैछन् देवलहरू
मर्दै जाँदैछ कान्तिपुरी नगरी ।।


राजन कठेत
जुन ०५, २०११

*****

Saturday, May 14, 2011

सिक्स् क्याराक्टर्स् इन सर्च अफ एन अथर

AAKAR POST DOT COM

वैचारिक द्वन्द्व
अगस्ट २२, २०१० आइतबार

आखिर “सिक्स् क्याराक्टर्स् इन सर्च अफ एन अथर” को अभ्यास भोलिबाट सुरु हुने नै भो । महान् नाटककार पिरान्डेलो अब काठमाडौँ विश्वविद्यालयका विद्यार्थीहरूको प्रयासमा पुनर्जिवित हुने हुन् वा उनको खराब मृत्यु हुने हो त्यो त भविष्यमा हाम्रो पासुलामा देखिने लगावले सूचित गर्ने नै कुरा हो ।

सुरुमा पिरान्डेलोको यो नाटकको मञ्चन गर्ने कुरा उठ्दा धेरै जना तातेका थियौँ । म जति धेरै सायदै कोही तातेको थियो होला । जताततै हल्ला फिजाएको थिएँ । फुरफर नै भा’को थिएँ । तर उत्साहमा समय र परिस्थितिले धमिरा लाउँदो रहेछ । अभ्यासको घडीले ढोका ढक्ढक्याउँदा हामी लगभग सेलाउन लागिसकेका थियौँ । सबै आ-आफ्नै दुनियाँ र कामहरुमा व्यस्त हुन थालिसकेका थियौँ । त्यो सुरुको जोस इतिहास हुने कुरा लगभग निश्चित जस्तै बनेर गिज्ज्याउन थालिसकेको थियो । फेरी नाटक संयोजनको अभिभारा मेरो थाप्लामा परेकाले मलाई ठूलै टाउको दुखाइ थियो ।

READ FULL STORY from AAKAR-POST
******

Friday, May 6, 2011

मुक्ति

एक्कासी चल्लाहरुको चिउँचिउँले मेरो एकाग्रता र मग्नतालाई चिरिदियो ।

वर्षमा एकचोटी घर आउने छोरो दशैँको बेला- त्यै भर मलाई कसैले कामहरूमा सघा भन्ने जमर्को गर्दैनन् । गरेनन् । त्यसमा पनि म गाउँघरतिरको काम गर्न त्यस्तो सौखिन मान्छे चाहिँ परिनँ । लाज नमानी व्यक्त गर्नुपर्दा मलाई यी गाउँले कामदेखि सिकसिको लाग्छ । झर्को लाग्छ यी गाउँठाउँका कामकाजहरू । उतारचढाउहरू ।

फेरि हुर्केको चाहिँ म गाउँमा नै हो । त्यहिँको माटोमा गोडा

Sunday, April 17, 2011

बद्लिएको आकाश

एउटा निलो आकाश,
यति निलो
जस्को खुल्लापनदेखि पन्छिरहेको छ बादल पनि,
उडिरहेछन् चराहरू घरीघरी त्यहाँ
एकै सुरमा
एकै

Tuesday, January 25, 2011

गाँसेको धागो

...



गाँसेको धागो



च्वाट्ट चुँडियो



या त,

नेपथ्य

...

नेपथ्यमा उडिहिन्ने चरी कति राम्रो ।।




कोईली पनि

Wednesday, January 12, 2011

ए! नतान् न मलाई

मलाई त्यो आकाशमा विचरण गराउने कुरा नगर तँ
तँ ठोकिने क्षितिज त मैले देखिसकेको छु ।
तँ वायुमा उडेको कुरा गर्छस्
तर तलाईँ स्वयम थाहा छ तँ

Tuesday, January 4, 2011

रानी

बिहान बिहान
पीठ्यूँमा सुन र चाँदी बिच्छ्याइएको हाती
उसलाई लिन आउँथ्यो ।
ऊ त्यो हातीमा चढेर
सहरको सयर गर्न निक्लिन्थी ।

राती राती