Sunday, April 17, 2011

बद्लिएको आकाश

एउटा निलो आकाश,
यति निलो
जस्को खुल्लापनदेखि पन्छिरहेको छ बादल पनि,
उडिरहेछन् चराहरू घरीघरी त्यहाँ
एकै सुरमा
एकै
तालमा
एकै लयमा
जसको सङ्गीतमा मूक छ सारा विश्व पनि,


ठीक त्यसैको मुनि
फिँजिएको एउटा सुन्दर बगैँचा
जहाँ
सबै मानिसजस्तै एक मानिस सुतिरहेको छ
निस्फिक्री
आकाशतिर हेरेर
घरीघरी हाँस्दै
घरीघरी टोलाउँदै ।


सडकमा थोत्रे ट्रक मिसिएपछि
बिलाउँछ त्यो मानिस
जसै खुल्छन् मेरा आँखाका ढिक,
अनि डुलाउँछु आँखा झ्यालबाट बाहिर
ओहो धुम्म परिसकेछ आकाशपनि
त्यसमाथि मिसिइरहेको कारखानाको धुवाँ
जसबीचमा घरीघरी देखिन्छ
बाटो बिराएर छट्टपटाइरहेको जहाज
जसको
न कुनै सुर छ
न कुनै ताल छ
न कुनै लय छ ।।



- राजन कठेत
१५ अप्रिल २०११

No comments: