Friday, May 6, 2011

मुक्ति

एक्कासी चल्लाहरुको चिउँचिउँले मेरो एकाग्रता र मग्नतालाई चिरिदियो ।

वर्षमा एकचोटी घर आउने छोरो दशैँको बेला- त्यै भर मलाई कसैले कामहरूमा सघा भन्ने जमर्को गर्दैनन् । गरेनन् । त्यसमा पनि म गाउँघरतिरको काम गर्न त्यस्तो सौखिन मान्छे चाहिँ परिनँ । लाज नमानी व्यक्त गर्नुपर्दा मलाई यी गाउँले कामदेखि सिकसिको लाग्छ । झर्को लाग्छ यी गाउँठाउँका कामकाजहरू । उतारचढाउहरू ।

फेरि हुर्केको चाहिँ म गाउँमा नै हो । त्यहिँको माटोमा गोडा टेक्न सिकेँ । त्यहीँ बोल्न सिकेँ । आजभोली त्यही माटो सिकसिको लाग्छ । बच्चाबेला जतिबेला मेरा समकालीनहरू स्याउला झारिरहेका हुन्थे, सोतर काटिरहेका हुन्थे, त्यो बेला आफूलाई एउटा कोठामा सिमित गरेर म रूख, पहाड, सु्र्योदय, हात्ती, घोडा, भगवान आदिका चित्रहरू कोरिरहेको हुन्थैँ; स्कूलको गृहकार्य गरिरहेको हुन्थेँ । जङ्गल-मेलाबाट हजुरआमा थाकेर घर आउनुहुन्थ्यो र अगेनोमा आगो खोस्रँदै मलाई बोलाउनुहुन्थ्यो- ए सुत्केरी !

तर, कुरो अस्ति दशैँको । केही दिन भित्रैमा नै जीवनको बाइसौँ शरद ऋतु मबाट बिदाबारी हुने तर्खर गरिरहेको थियो । तर गाउँ आएको बेला अझै पनि काममा सघाउ पुर्र्याउने जोस उम्रिन मानेको थिएन । बरू एक ठेली उपन्यास पढेर तु्र्न आँटेको थिएँ । दिनभरी निधारका नसा घाममा सेकाउँदै पढ्थेँ, अल्छी लागे त्यहिँ सुकुल ओछ्याएर पल्टिदि पनि हाल्थेँ । मेरो चालढाल बुझेर घरकाले मलाई सुहाउने काम छाडेर मेला जाने गरेका थिए- अगेनामा बसालेको खाजामा आगो घचेड्ने, भर्खर कोरलेका चल्लालाई चारो हाल्ने, सुकाएका लुगा उठाएर कतै नभिज्ने ठाउँमा थुपारिदिने आदिहरू ।

म एकसुरले अफ्गानी लेखक खालिद होस्सेइनीको दोस्रो उपन्यास ए थाउजेन्ड् स्प्लेन्डिड् सन्स् पढिरहेको थिएँ । दशैँ तुरिइसकेको थियो । साथसाथै केही दिनदेखि झरी पनि थामिएको थियो । आकाश उदाङ्ग थियो । सर्वाङ्ग निलो । पश्चिमतिर पाइला चाल्दै गरेको घामले पनि धरती सेकाइरहेको थियो । घामको तापमा निधार र नाक खुम्च्याउँदै म उपन्यासको अन्तिम पानाहरूमा तल्लिन थिएँ ।

एक्कासी चल्लाहरुको चिउँचिउँले मेरो एकाग्रता र मग्नतालाई चिरिदियो ।

अगाडि डोकोमा छोपिराखेको माउ र चल्लाहरूतिर नहेरी हा! गर्दै म पुस्तकमा एकाग्र हुन प्रयासरत रहेँ । दुई अक्षर पनि कोट्याउन नपाउँदै मेरो ध्यान फेरी भङ्ग भयो । बढ्दो चिउँचिउँको मात्राले डोकोतिर टाउको घुमाउन बाध्य भएँ । देखेँ कि डोकोभित्रबाट अनुशासन भङ्ग गर्दै एउटा चल्लो बाहिर निक्लेर कराउँदै बेतमासले डोकाको वरिपरि दौडिरहेको थियो । त्यो बेलाबेलामा आफ्नो पिठ्युँमा चुच्चोले ठुङ्ग्दै डोकाको चक्कर काटिरहेको थियो । आफ्नो ध्यानलाई अझै केन्द्रित गरेर चल्लोलाई हेरेँ । कठै! त्यो बालाको पिठ्युँमा एउटा कठोर मौरीले चिलिरहेको रहेछ । त्यो कुदिरहेको थिएन। पीडाले आत्तिएर छट्पटाइरहेको थियो । बल्लतल्ल त्यसको चुच्चोले मौरीलाई  टिप्न पायो । मैले शान्तिको सास फेरेँ ।   

कठीनसाथ मैले पुस्तकमा ध्यान केन्द्रित गर्न खोजिरहेँ । सफल चाहिँ भइनँ । दिमागमा अघिको घटना खेलिरहेकाले म एउटै लाईन बारम्बार दोहोर्र्याइरहेको रहेछु । तत्काल सबै चल्लाहरूको चित्कारमा मौरीहरूको भुँ भुँ पनि थपियो । आश्चर्यमा डरलाई घोल्दै आँखा उठाएँ । अघिको चल्लोमा अरू तीनचार वटा मौरीहरू धुरिएका थिए ।  चल्लो आत्तिएर यताउती दौडिरहेको थियो । त्यो माथि अरू मौरीहरू पनि थपिँदै थिए । डोकोभित्र पनि केही मौरीहरू छिरेर चल्लामाथि आक्रमण गरिरहेका थिए । पोथीमाउले केही मौरीहरूलाई आफ्नो ढाडबाट टिप्दै चुच्चोले भुईँमा टक्टक्याइरहेको थियो । चल्लाहरू असहाय देखिन्थे । छेउछेउका अरू कुखुराहरू पनि यताउती दौडिरहेका थिए । मौरीहरूको खनिने मात्रा बढिरहेको थियो ।

मलाई चल्लाहरूको नलाग्नु माया लाग्यो । खासगरी त्यो डोको बाहिरको अभागिको । मौरीहरूप्रति घृणा जागेर आयो । मिल्ने भए सबैलाई मुठ्ठीमा किच्याएर अचार पारिदिने रिस व्याप्त भयो ममाथि ।

केहीदिन अघि एउटा अरिङ्गाल मौरीको घारबाहिर मौरीहरूलाई आक्रमण गरिरहेको थियो । मौरीहरू असहाय भएर यताउता भुँ भुँ गर्दै ज्यान जोगाउन तल्लीन देखिन्थे । मलाई ती मौरीहरूप्रति असाध्यै करूणा जागेर आएको थियो । एउटा बाँच्न अर्को बलि चढ्नुपर्ने कति दुष्ट नियम हो यो प्रकृतिको ! एउटाको हाँसो अर्काको गलाको पासो ! पछि काकाले कुचोले हानेर अरिङ्गाललाई कौसीको फलेकमा लडाइदिनुभयो । त्यसपछि त्यो त्यहिँ छट्पटाउँदै मर्यो । तर, त्यो बेला त्यसप्रति मलाई केही दयाभाव पलाएर आयो ।

यो करुणा भन्ने चीज पनि अचम्मको छ । एउटा अपराधी निर्धो छ भनेपनि मन चिसिएर भारी भएर आउँछ । जाडोमा सेकिइरहेको मूर्ति देख्दा खास्टो लगेर ढाकिदिउँ जस्तो लाग्छ । भोकले छट्पटाइरहेको बाघ देख्दा करूणा पलाएर आउँछ । फेरी तिनै बाघले एउटा मृगलाई घेराउ गरेर छोप्न लाग्दा ती प्रति नजाग्नु घृणा जागेर आउँछ । तत्कालै बन्दुक उठाएर सास निभाइदिउँजस्तो !

मैले हिम्मत गरेँ । किताबलाई एकातिर पन्छाएर गर्मीले गर्दा फुकालेर काखमा च्यापिराखेको ज्याकेटलाई उठाएँ । सबै खल्तीहरू खाली गरेर दौडिँदै त्यो पीडित चल्लोनजिक गएँ । त्यो अभागीमाथि बेतमास ज्याकेटलाई घुमाएँ । दूर्भाग्य ! मौरीहरू त मतिर पो खनिए । अगाडि के छ पर्वाह नगरी म दौडिएर भुईँतलाको भान्छाकोठाभित्र छिरेँ । शिरमाथि ज्याकेट घुमाउँदै नदौडेको भए दुई-तीनवटा मौरीले खिल गाडीछाड्ने पक्का थियो । म त जोगिएँ ।

ढोकाको सानो छेडबाट बाहिर आगनमा हेरेँ । डोकाभित्र धेरै मात्रामा मौरीहरू छिरिसकेका थिए । डोको बाहिरको अभागीचाहिँ मौरीहरूलाई आत्मसमर्पण गर्न तम्तयार भइसकेको थियो । गुहार गर्न मन लाग्यो । बसेर रुन मन लाग्यो । आफ्नै कपाल बेस्कन भुत्ल्याउन मन लाग्यो । रीसको मात्रा चरम सिमामा पुगिसकेको थियो । फेरी म मरे डुमै राजाको अवस्था मलाई मान्य थिएन । आफूभित्र मानिस जीवितै मलाई घच्घच्याइरहेको थियो । यताउता हेरेँ ।

खाटमा राडी बिछ्याइएको थियो । मेरी हजुरआमाले उहिले घरमै पालेका भेडाको ऊनले बनेको राडी । हजुरआमासँग म पनि कैयौँ पटक साप्सुखोला, तारेभिरतिर भेडा हेर्न गएको थिएँ । भेडाको जात न हो । एउटा पात छ्यास्र्याक्क खसेपनि तर्सेर उफ्रँदै कुद्ने । त्यो एउटा मूर्खलाई फेरी सबै भुलक्कडले दौडिन साथ दिने । गोठालोलाई थला नै पार्थे सैयाँहरू । पछि छोरानाती पढाइ र कामको सिलसिलामा पाखा लाग्न थालेपछि भेडाको स्याहारसुसार गर्ने कोही भएन । त्यसपछि भेडाहरू बिस्तारै बेचिँदै गए । मासिँदै गए । त्यसपछि मेरो घरमा राडी र लुकुनी बुन्न पनि छाडियो । अहिले चर्खा कतैकुनामा खिइरहेको होला सुसारे नभएपछि त्यै अभागि चल्लोजस्तै । 

राडीलाई तानेर टाउको छोप्दै जिउमा पनि बेरेँ । हेर्नलाई एउटा सानो प्वालको चाहिँ व्यवस्था गरेँ । मैले हिम्मत गर्दै ढोका खोलेँ र सकेको बलमा दौडिएर डोको पल्टाइदिएँ । अनि, पछाडि हेर्दै नहेरी घर पछाडितिर भागेँ । बिस्तारै लम्किँदै घरमास्तिर अवस्थित धारोछेउ पुगेँ । चकित र थकित हुँदै आगनतिर नजर लाएँ । डोकोभित्रको पोथीमाउ चल्लाहरू लिएर एकातिर भागिसकेछ । त्यो अभागीमात्र त्यहाँ निर्धो र असहाय भएर सुस्तसुस्त पाइला चालिरहेको थियो- मानौँ त्यसले पीडा र वेदना भोग्न सिकिसक्यो । त्यसले जस्तोसुकै दु:ख खेप्न जानिसक्यो । त्यसलाई आफ्नो दु:खको भारदेखि कुनै आपत्ती छैन ।

त्यसको जीउभरी मौरीको गोलो थियो । त्यो चाहिँ बिस्तारै बिस्तारै गति गुमाउँदै पाइला चालिरहेको थियो ।  मलाई खपिनसक्नु भयो । मेरो सहने शक्ति रित्तिसकेको थियो । लगभग अपाहिच नै हुन आँटिसकेको थिएँ फेरी । ममता नउम्लिनु उम्लिसकेको थियो । बौलाएझैँ गरेर म माटो खोस्रिन थालेँ । अनि मुठ्ठीका मुठ्ठी माटो बटुलेर आगनतिर हुइक्याउँन थालेँ । घारबाहिर बौलाएर निक्लिँदै गरेका मौरीलाई माटोले प्रहार गर्न थालेँ । हैन, आज किन यसरी बौलाएका यी मौरीहरू ? घारमा जनसङ्ख्या बढेर र रानी बढि भएर छुट्टिनु परेपनि सरक्क जान्थे एकातिर उडेर । तर आज किन यसरी होस गुमाएका ? मौरीको घार नै खन्निएर हाँस र कुखुराका चल्लाहरू पूरै मेटेको कथाहरू सुनेको थिएँ । आज यिनीहरू किन यसरी यी निमूखाहरूलाई सिध्याउन पछि परेका छन् ? फेरी मलाई मौरी भगाउने उपाए पनि त थाहा छैन ।

आगन र घार छेउछाउ माटो थुप्रिएपछि मौरीहरू केही मत्थर भए । केही कम भए । म बिस्तारै आगनतिर झरेँ । राडीलाई सिकुवाको खाटमा फ्याँकेर म कम्मरमा हात राख्दै आगनमा कम हुन थालेका मौरी र माटाको थुप्रोतिर हेर्न थालेँ । देखेँ, त्यो अभागी सकी-नसकी जिउभरी मौरी बोकेर मतिर आइरहेको थियो । त्यसको जताततै मौरी । आँखाबाहिर मौरी, चुच्चोभरी मौरी सार्है करूणादायी थियो त्यसको अवस्था । युद्दमा ज्यानको बाजी थापेर घायल सेनाजस्तै- जो आफ्नो चोटलाई सहस्र स्वीकार गर्दैछ । उसले बाँचीबाँची मृत्यु देखेजस्तै । सास फेर्दैछ तर ऊ मरिसक्यो । यो उसलाई पनि थाहा छ । बाँच्नुमा कुनै उमङ्ग छैन उसलाई ।

सार्है नै भयभीत । कस्तो अभागी त्यो । जन्मिन पाएको छैन मृत्युलाई अँगालिसक्यो । तर कति दर्दनाक मृत्यु । बरू च्वाट्ट छिनिएर मरेको भए उसलाई न पीडाको आभास हुन्थ्यो, न मृत्युको । दु:खले घोच्ने थिएन । मैले त्यो अभागी बालाको पीर थाम्न सकिनँ । त्यसको पीडा बाँड्न चाहेँ । यसलाई मुक्ति दिन चाहेँ । यो दु:खको सागरबाट पूरै मुक्ति । यो पत्थरले छाइएको सँसारबाट पुरै मुक्ति । मैले चप्पल लाएको आफ्नो खुट्टालाई दुईफिट जति माथि उचालेर बेस्कन त्यो चल्लामाथि बजारेँ । कस्तो तीतो संजोग ? मलाई सन् १९७५ को ओस्कार विजेता चलचित्र वान फ्लिउ ओभर दि कुक्कुज् नेष्ट को झल्याँस्स सम्झना भयो ।      

- राजन कठेत
अक्टोबर २६, २०११  (२०६७ कार्तिक ९, बिहान ७ बजे)
निर्मली डाँडा-५, खोटाङ


Comment from a Friend

राजन,

तिमीले चल्लाको हालत कस्तो थियो भनेर बखानी सकेपछि पनि मलाई तिमीले
चल्लालाई दिएको 'मुक्ति' जायज थियोजस्तो लागेन। आखिर तिमीले के आधारमा
चल्लाको मृत्यु निश्चित थियो भनेर ठम्याउन सक्यौ ? अनि तिमीलाई 'यमराज'
हुने हक कसले दियो?

मृत्यु गाह्रो हुन्छ भनेर जानेपछि मैले पनि मेरा पैताला मुनी आएर मर्न
नसकेका कमिलालाई धेरै पटक 'मुक्त' गरेको छु। तर, हालसालै झमक घिमिरेको-
जीवन काँडा कि फूल पढेपछि चाहिँ मलाई लाग्यो मैले जे गरें गलत थियो।
अलिकति झमकबाटै शब्द सापटी लिनु राम्रो होला- समाजका केही बुज्रुकहरु
भन्थे- "बिचरा यस्तो अपहत्ते भएर बाँच्नुभन्दा दु:ख लुकाउनु बेस।" हुन
पनि हो मेरो जिन्दगी अपहत्ते नै थियो। तर के मेरो अगाडि त्यसो भन्नु ठीक
थियो? कस्तो संवेदनाविहीन व्यावहार? यो समाजका बाठाहरुको दिमागले यो कुरा
किन सोच्न सकेन? मान्छेको मृत्यु मात्र सबैथोकको समाधान हो त? बस्,
त्यसबेला हाम्रो घरमा आउने सबै मान्छे मेरो मृत्यु माग्थे। उनीहरु मबाट
परिबार प्रताडित होस् भन्ने चाहँदैनथे, मेरो जिन्दगी पनि दुखमय भएर
बितोस् भन्ने चाहँदैनथे। यी दुवैको समाधान थियो मेरो मृत्यु!
आलेखमा तिमीले चल्लालाई मारिसकेपछि 'मलाई वान फ्लियु ओबर त कुकुज्
नेष्टको सम्झना भयो' भनेका छौ। हुनसक्छ। तर मलाई लाग्छ तिमीले चल्ला मर्न
गरेको निर्णयको एउटा कारण सायद त्यो फिल्म पनि हो। तिमिलाई पनि पारेछ
प्रभावमा फिल्मले।

अनि, कुखुरालाई च्वाट्ट काट्दाचाहिँ दुख्दैन भनेर तिमीले कसरी भन्न
सक्यौ? जनावरलाई मारेर खाँदा तिनीहरुमा मृत्युको डरले विभिन्न रसायन
(मानब शरिरलाई हानिकारक) उत्पन्न भई शरिरमा रहनेहुँदा मासु खानु हुँदैन
भन्ने किसिमका तर्कहरु अहिले बाहिर आएका छन्। अनि कसरि तिम्रो तर्कसँग म
सहमत हुनसक्छु र? तिमीले त्यो चल्लालाई जे गर्‍यौ त्यो एउटा टिप्पर
चालकले एउटा गलत साइडबाट आएर टिप्परमा ठोक्किएको जँडियालाई ब्याक गरेर
मारेपछि "गल्ती पनि उस्कै थियो अनि मर्ने पक्का भएकाले पिल्साई दिएँ"
भन्नुभन्दा कसरि फरक भो' र?

लेखाइ राम्रो छ। तिम्रो लेखाइको पुरानै प्रशंसक हु म। तर, मेरो लागि यो
आलेखचाहिँ फिल्म हलबाट भर्खर निस्किएको एउटा जवानले हिरोको अभिनय
गरेभन्दा फरक भएन।
 
अमोल आचार्य
 धुलिखेल

***** 

 

3 comments:

Aakar said...

बबाल छ ! मन पर्‍यो, त्यही नि आफ्नो माटो देखि 'सिकसिको' चैँ नलागे झन् राम्रो हुन्थ्यो ।
:)

rajankathet said...

Aakar, thanks yaar..... i deleted my facebook because i was doing it more than anything... aba hamro bhet blogsansar ma hune bishwass ka saath :)

praveen samuel said...

Loved reading it, man life has not been that easy! well, there are certain that we like and some we don't. keep the good work!