Saturday, July 9, 2011

‘कर्नाली ब्लुज’- सरलतामा मीठास

नेपालका चुने-गनिएका पत्रिका, मैले चिनेका साथीभाइ, बुद्धिजिवी र अन्य पाठकका माझ बुद्धिसागरको प्रथम उपन्यास 'कर्नाली ब्लुज'को अत्यधिक चर्चा भएको थियो । एकजना साथीले त 'कर्नाली ब्लुज' ले मारि नै दिन्छ समेत भन्न भ्यायो । चलचित्र क्षेत्रमा सङ्घर्षरत एकजना दाईले यो पुस्तक फिल्मका लागि बलियो स्क्रिप्ट बनेको कुरा बताए । म अन्योलमा थिएँ यो बढाइचढाइको प्रसिद्धि हो या त उपन्यास नै यत्तिको सबल छ । फेरी मलाई पुस्तक पढ्न कहिल्यै हतार भएन । राम्रो कृति छ भने यो जुनै कालमा पढेपनि बेस्वादिलो नहोला भन्ने विचार पैदा भइसकेको थियो ।

उपन्यासले रापिलो प्रसिद्धिबाट गुज्रेको करिब ६ महिनापछि मैले एउटा साथीलाई यो पुस्तक पढ्न दिनको लागि अनुरोध गरेँ । पुस्तकको मूल्य कसैले रू.३५०/- भनेर बताइसकेको थियो । कोठामा एक चाङ उपन्यासले आफ्नो पालो कुरिरहेको बेलामा मलाई यो पुस्तक किनेर चाङमा थप्न जाँगर चलेन । आँट पनि आएन । आखिर साथीबाट नै उधारो लिनुपर्यो । अन्तत: बसबाट धुलिखेल धाउँदा-फर्किँदा, चियापसलहरूमा बस्दा, कतै कसैलाई कुर्नुपर्दा, कोठामा बस्दा मेरो हातमा पनि 'कर्नाली ब्लुज' देखिन थाल्यो जुन काम मेरा निकट साथीहरूले उहिल्यै गरिसकेका थिए । 

यो पुस्तकमा कैयौँ पाठकहरूले आफ्नै कथा देखे होलान् । आफ्नै बा, बुवा, पापा र ड्याडीलाई आफूले देखे र भोगेसम्मका दु:ख र उतारचढावहरूसँग गाँसेहोलान् । कसैले दाउराको भारी बिसाएर निधारमा नाम्लोले पारेको गहिरो खोपिल्टोबाट पसिना उघ्घाइरहेक बाको पीडा आत्मसात गरे होलान्, कसैले टाढाको कार्यालयबाट लखतरान भएर घर फर्किरहेका बुवाको उकालोको स्याँ स्याँ सम्झेहोलान् त कसैले कारबाट ब्याग र खेलौना झिक्दै व्यवसाय खस्केर आम्दानी कम भएको कुरा चिट्चिट् पसिना काढ्दै मम्मीलाई सुनाइरहेका ड्याडीलाई झल्झली याद गरेहोलान् । 'कर्नाली ब्लुज'को पठनका क्रममा आ-आफ्ना बाहरू आ-आफ्नै परिस्थिति र दु:खकष्टलाई उजागर गर्दै फेरी प्रस्तुत भए होलान् । मैले पनि दशैँताका चारदिने बाटो काट्दै ठूलो झोला भिरेर घर फर्किने आफ्ना शिक्षक बुवालाई दिमागमा नचाइरहेँ ।   

बुद्धिसागरले आफ्ना बाको जीर्ण हुँदै गइरहेको जीवनको एउटा झ्यालबाट चिहाएको बाको र आफ्नो बितेका दिनका सङ्घर्ष मेरो दिमागमा सदृश प्रस्तुत भइरहे । घटनाहरूका बुनिएका खुलस्त नालीवेलीले गर्दा मेरो मगजमा बृषबहादुरलाई उछिनेर बुद्धिसागर नै हावी भैरहे । कल्पनाको भरमा मात्रै त्यो बेलिविस्तार सम्भव छैन भन्ने कुराले न्याकिरह्यो । आखिर बुद्धिसागरलाई बृषबहादुर उपनाम दिएर पठन अगाडि बढाएपछि मेरो मानसिक वातावरण अलिक सहज भयो । पठन यसकारण पनि रोचक बन्यो कि म हुर्केको गाउँ मटारेजस्तै थियो । बृषबहादुरको सुद्धि झन्-झन् चञ्चल भइरहेको क्षणको कटासे मेरो दिक्तेल बजारको बसाइजस्तै थियो । फरक यतिमात्र हो विद्यालयको परिक्षाहरूमा उत्तिर्ण हुन मैले हातको कापेमा चिट च्याप्नुपरेन । हाँसका ठाउँमा काँक्राहरू चोरेर बिगार गरेपनि चौकीसम्मको यात्रा चाहिँ तय गर्नुपरेन । उमेरको संवेग अनुसार मेरा इच्छाहरू पनि त्यसरी नै बढिरहेका थिए । कालो लेदरको ज्याकेटमा त्यति चाख नभएपनि वाल्कमेनले मेरो घिघिडो धेरै नै बढाएको थियो । अनि, त्यसरी नै म वर्षदिने दशैँ मनाएर काठमाडौँ फर्किन बाटो लाग्ने बेला गला अवरुद्ध गरेर आँसु चुहाउँदै ममी र हजुरआमाका गोडामा निहुरिन्थेँ । मलाई बुद्धिसागरको मसीका माध्यमबाट आफ्नै बितेको जीवनलाई एउटा फरक धारबाट पढेजस्तै अनुभव भयो ।   

एउटा साथी आफ्नो सुरक्षित रुपमा मोटरसाइकल कुदाउने बानीलाई अत्यधिक जोस, हँकाइ, दूर्घटना र अनुभवपछि प्राप्त सफलता भनेर बताउने गर्थ्यो । कर्नाली ब्लुज पढ्दा मलाई यस्तै सहजता र सरलता अनुभव भयो । यो सरलता बुद्धिसागरले पठन, लेखन र वैचारिकताको लामो मिहिनेतपछि हासिल गरेको हुनुपर्छ । नेपाली लेखहरू पढ्दा मलाई नेपाली लेखकहरू अत्यन्तै पूर्वाग्रही भएको महसुस हुन्छ । त्यहाँ उनीहरूको अहंपना सदृश झुन्डिएको अनुभूति हुन्छ । एक असफल आख्यानको आरम्भ लेख्न ध्रुवचन्द्र गौतम त्यसै बाध्य भएनन् होला । नेपाली लेखकहरू लेख लेखिरहेका हुन् या ती शब्दहरूमा आफ्नो शिक्षा र सर्टिफिकेटको प्रमाणपत्र झुन्ड्याइरहेका हुन् छुट्ट्याउन धुम्धुम्ती पर्छ । क्लिष्टताप्रतिको उनीहरूको प्रेमले गर्दा म कतिपय लेखहरूको एक अनुच्छेद तुर्न पनि असमर्थ हुन्छु ।

शब्दको सरलताले गर्दा नै मैले कर्नाली ब्लुजमा रम्न सकेँ । शब्द-शब्दमा खित्का छोड्न र चुहिन सकेँ । मैले सुरुमा कवि भनेर चिनेको बुद्धिसागरका घुमाउरा शब्दका जङ्गलमा बाटो समात्न कोतरिनु परेन । म त केबल बुद्धिसागरलाई पढिरहेको थिएँ जो बालखामा बढो चकचके र बदमास थियो; जहिले पनि बिठ्याईँ गरिरहन्थ्यो; जसको बाबुले बढो कष्ट गरेर घर थामिरहेका थिए; छोराको कुनै सपनालाई पनि तुहिन दिएका थिएनन्; र, आसपास दु:ख सधैँ उकालो बढ्दो थियो; तर कर्नाली सधैँ दख्खिन बग्दो थियो ।        
  

कर्नाली ब्लुज सरल भाषा र उत्कृष्ट अभिव्यक्तिमा वर्णित सङ्घर्षपूर्ण जीवनको निचोड हो । नेपाली व्याकरण र बुद्धिजिवीहरूको भाषालाई किताबमा नै छोडेर बोलिचालिको सरल भाषालाई प्राथमिकता दिनु नै यो उपन्यासको सबल पक्ष हो । अरू नेपाली लेखकहरूले अब जटिल भाषामा तुकहीन र अस्पष्ट विषयवस्तु केलाएर बस्नुभन्दा सरल भाषामा सानोतिनो ब्रह्माण्ड बताउन प्रयास गरे मजस्ता पाठकको हित होला । अब भने बल्ल मलाई यो उपन्यास किनेर आफ्नो मिनि-लाइब्रेरीमा राख्ने जाँगर चलेको छ । अब मेरो सानो पुस्तकको र्र्याकमा भूपि शेरचनका कविता, शङ्कर लामिछानेका निबन्ध र विपिका आख्यानहरूछेउ बुद्धिसागरको कर्नाली ब्लुज एउटा बलियो स्थान ओगटेर बस्नेछ ।  
 .........
 राजन कठेत
 जुन २३, २०११
 काठमाडौँ

4 comments:

Aakar said...

बुध्दिसागर को 'कर्नाली ब्लुज' ले मेरो चित्त बुझाएको छ, मेरा पनि अतित का तितामिठा पलहरु को स्मरण गराइदिएको छ ! मलाई नारायण वाग्लेको 'पल्पसा क्याफे' जति सरल लागेको थियो, त्यो भन्दा पनि सरल 'कर्नाली ब्लुज' लाग्यो । मलाई लाग्छ, यी दुइ कृतिहरु नेपाली चलचित्रमा उतार्न सक्ने हो भने, नेपाली चलचित्र पनि धेरै अघि बढ्न सक्छ । जसले यी कृतिहरुलाई चलचित्रमा न्याय गर्न सक्ला, त्यसक्षण बाट नेपाली चलचित्र को स्वर्णयुग आरम्भ हुनेछ ! खासमा भन्ने हो भने, यी कृतिहरुमा कसैले चलचित्र बनाइदिए हुन्थ्यो भन्ने लागिरहेको छ !

अनि तिम्रो 'रिभ्यु' पनि खुब चित्त बुझ्यो ! :)

binokary said...

यो 'कर्नाली ब्लुज' पढ्नै पर्ला जस्तो पो छ त। बाटोमा हिँड्दा-ओर्दा किताब पसल अगाडी राखेको विज्ञापनमा त देखिराखेको हो तर धेरै विज्ञापन गरेको वस्तु त्यति राम्रो हुँदैन कि भन्ने लागेर आँखा घुमाएर हिँड्ने गर्थेँ। तिम्रो मिनी-लाईब्रेरीमा कहिले राख्ने हो भनिराखे है, मिनी-लाईब्रेरी कार्ड बनाउन आउँछु म पनि।

Sweta said...

Yeah Buddhisagar's book touches heart so easily..it captures ourselves in the flow of the words.. and your review reminded me of my one of the fav books :) Keep on posting dear

saurab said...

dai maile pani yo kitab khub manparayera padhe. maile aaile samma kunai nepali upanyas ghat manera padeko thyena tara maile pailo chapter aarthat pailo din ko scene padda kheri nai tesko sabda le kaukuti lagayo ma kati thau ma roula jasto bhaye ra kati thau ma haso le pt futla jasto bhayo sachi nai yo kitab ta yauta master piece lagyo malai kitab ka sabdha bhitra ma ramna sake maile kunai samaya tyo kitab ko patra ma aafulai pani paye