Sunday, October 30, 2011

मैले चिनेको राजेश हमाल

Rajesh Hamal, As I Know
also published at Mero Cinema Dot Com

Rajesh Hamal at Nepal Tourism Board (April 18, 2010)
टेलिभिजनको एउटा अन्तर्वार्ता कार्यक्रममा राजेश हमाललाई निम्त्याइएको रहेछ । राजेश हमालको अन्तर्वार्तामा सोधकर्ताले नछुटाउने प्रश्न भनेको 'तपाईँ कहिले बिहे गर्नुहुन्छ?' नै हो । नेपाली रजतपटका महानायक कहलिएका हमालले यो प्रश्नलाई यसोउसो बताएर टारेपछि कार्यक्रम सञ्चालक कार्यक्रमको अन्त्य गर्नतिर लागे । कार्यक्रमको बीट मार्ने तर्खर गर्दै सञ्चालकले बढो नरम बोलीमा राजेश हमालको चाँडै राजनीतिमा आउने इच्छा भएको कुरा व्यक्त गर्दा नायक हमाल आँखामा स्वीकारोक्ति जनाउँदै चिउँडो र तल्लो ओठलाई हत्केलाले छोपेर बसेका थिए । कास्टिङ् ठीक्क यहाँ खतम हुन्छ र कथा यसरी सुरु हुन्छ ।

मैले हेरेको राजेश हमाल अभिनित प्रथम चलचित्र 'देवकी' हो । त्यो पनि दिक्तेलमा छिमेकीको घरमा पाल-डेकमा हेरेको हुँ । त्यो बेला म करिब आठ वर्षको हुँदो हुँ । घरमा भर्खर टि.भि. आएको थियो । त्यो बेला 'सिनेलहर', 'गितान्जली', 'क्ल्याप बोर्ड' ईत्यादीजस्ता चलचित्रसँग सम्बन्धित कार्यक्रमहरू थुप्रै मात्रामा प्रसारण हुन्थे । यी कार्यक्रमहरूमा देखाउने चलचित्रहरूको एक्सन् भरिपूर्ण ट्रेलरले मलाई नेपाली चलचित्र हेर्न लोभ्याउँथे । हिन्दी बुझ्दिनथेँ त्यहि भएर नेपाली चलचित्रहरू हेर्न मन लाग्थ्यो । भएको एउटा मात्रै फिल्म हल पनि केही वर्ष अघि नै बन्द भइसकेको थियो । त्यही भएर डेकमा फिल्म हेर्ने चलन बढ्दै गएको थियो ।
While shooting 'Saurya'- Rajesh Hamal (at Chovar) - Feb 10, 2011

राजेश हमाललाई चलचित्रमा प्रथम पटक हेर्दै थिएँ । काँधमुनिसम्म फैलिएको लामो कपाल, अग्लो र खाइलाग्दो ज्यान, जोसिला आँखा, मोटो स्वर जुन ठ्याक्कै अहिले पनि त्यस्तै छन् शिवाय उनका चाउरी पर्दै गएका गाला र भाँसिदै गएका आँखा । अप्ठ्यारो र असुहाउँदो तालमा उनले गरिरहेको नृत्य कुनबेला सकिएला र उनको 'चामत्कारिक फाइट' सुरु होला भन्ने प्रतिक्षामा थिएँ म । यस किसिमको प्रतिक्षा मैले उनका लगभग सबै चलचित्रहरूमा नै गरेँ । त्यो बेला राजेश हमालद्वारा अभिनित 'भाउजु' मेरो सबैभन्दा प्रिय चलचित्र थियो किनभने त्यसमा लगभग ७ देखि ८ वटा 'फाइट'हरू थिए । चलचित्रको 'लास्ट फाइट' पनि मज्जाको थियो । कुकुरको 'फाइट'मा त मैले ताली नै पिटेको थिएँ ।

'देवकी'मा मैले करिब १४ वर्ष अघि हेरेको राजेश हमाल आज 'साहसी'मा आइपुग्दा पनि उस्तै छन् । एकदमै शुरा, बलिष्ठ, नाच्न फिटिक्कै नजान्ने र कडा संवाद बोल्न उस्तै सिपालु । उनले खेल्ने चलचित्रहरू पनि त्यस्तै छन्- फेद पनि उस्तै टुप्पो पनि उस्तै । केबल उनको उमेर उनले निभाउने भूमिकाहरूको लागि असुहाउँदो हुँदै गइरहेको छ । अनि, बद्लिएको छ त उनले अभिनय गरेको चलचित्रहरूको सङ्ख्या । राजेश हमालका सुरुसुरुका चलचित्र र अहिलेकालाई दाँजेर हेर्दा उनले आफ्नो नाममा चलचित्रहरूको सङ्ख्या बढाउने काममात्र गरेछन् जस्तो महसुस हुन्छ ।

Nandita Das, Manjushree Thapa & Rajesh Hamal at NTB (April 18, 2010)
नेपाल पर्यटन विकास केन्द्रमा करिब १ वर्ष अघि भारतीय चलचित्रसँग सम्बन्धित सानो गोष्ठी भएको थियो, जसमा भारतीय अल्टरनेटिभ धारका हस्तीहरू गोविन्द निहलानी र नन्दिता दास पनि आएका थिए । उक्त गोष्ठीमा नेपालबाट छिरिङ रितार शेर्पा, कनक दिक्षित, राजेश हमाल र मञ्जुश्री थापालाई निमन्त्रणा गरिएको थियो । कार्यक्रममा सबै अतिथीहरूले आ-आफ्नो अभिव्यक्ति प्रस्तुत गर्नु थियो । संयोगवस म पनि त्यहाँ नन्दिता दासलाई आफ्नो र क्यामराको लेन्सबाट हेर्न भनेर पुगेको थिएँ । र, अभिव्यक्तिको पालो घुम्दैघुम्दै हाम्रै राजेश हमालको पोल्टोमा आइपुग्यो ।

मलाई याद भएसम्म उनको प्रस्तुति यस्तो थियो । सुरुमा उनी नेपाली दर्शकहरूतिर हेरेर मज्जाले हाँसे । अनि भन्न लागे- 'आजको विषय आर्ट र अल्टरनेटिभ फिल्ममाथि छ तर म भने यहाँका हार्डकोर कमर्सियल चलचित्रहरुको नायक हुँ । अघिल्लो हप्ता म सायद रुखमाथिबाट हाम फालिरहेको थिएँ या त जमिनबाट आकाशतिर उचाल्लिरहेको थिएँ ।" उनले केही यस्तै भाव आउने कुरा मिलेको अँग्रेजी भाषामा फरर भनेका थिए । चलचित्रसम्बन्धी उनले आफूले पढेको, बुझेको तर अहिले सम्म गर्न नपाएका कुराहरूको थप प्रस्तुति दिएर आफ्नो भागको अभिव्यक्तिको अन्त्य गरिदिए । दर्शकहरूले नि हाम्रो नायकले कडै प्रस्तुति दियो भनेर गडड तालिको वर्षा गरिदिए । यति गरेपछि राजेश हमाललाई कुनै चलचित्रको छायाँकनको लागि ठूल्ठुला रुख भएका कुनै जङ्गलमा पुग्नु थियो क्यारे, उनी हिँडि पनि हाले । म पनि नन्दिता दासका केही फोटोहरू कैद गरेर डेरातिर फर्किएँ ।

राजेश हमाल एउटा चलचित्र खेलेबापत ३ लाखको हाराहारीमा पैसा लिने गर्छन् । यति रकम दिन निर्माण पक्ष तयार छ भने उनलाई कथावस्तु, निर्देशक, आफ्नो भूमिका केहीको पनि मतलब हुँदैन रहेछ । ऐतिहासिक विषयमाथि बनेको भनिएको चलचित्र ‘सौर्य’मा स्टील फोटोग्राफीमा म अनुबन्ध हुनुले राजेश हमाललाई चिन्ने मौका झनै थपिदियो । छायाङ्कन स्थलमा भेला भएको दर्शकको भीँड राजेश हमाल आएपछि सुटिङ छोडेर उनीतिरै झुम्मियो । ऐतिहासिक गेटअपमा उनको मेकअप भएपछि उनी त्यो दिनमा दिनुपर्ने सट्हरूको स्कृप्ट पढ्न थाले । उनको सर्वाधिक व्यस्तताका कारण उनलाई उनको भूमिका के हो, उनले गर्नुपर्ने के हो जस्ता कुराहरू सबै छायाँकन स्थलमा नै जानकारी गराइयो । राजेश हमाल ३ दशकदेखि यसरी नै चलचित्र खेल्दै आएका रहेछन् । हुन पनि उनले निभाउने चरित्रहरू सधैँ एकनासे नै छन् त्यहि भएर आफूले गर्नुपर्ने काम उनलाई स्कृप्ट पढ्नु अगावै थाहा भइसक्दो हो । उनलाई अलिक फरक र पृथक विषयवस्तु बोकेका आशालाग्दा चलचित्रहरूकाबाट प्रस्ताव नि आउँदो रहेछ तर व्यवसायिकताका लागि बनेका सस्ता चलचित्रमा बिकिरहेका यी नायकलाई कम पैसामा निर्माण गरिने ती गुणात्मक चलचित्रका लागि अनुबन्ध गर्न नसकिँदो रहेछ ।

राजेश हमालले नेपाली चलचित्रको इतिहासलाई आफ्नो करिब ३ दशक लामो सहभागिताले के गुण लगाए त ? उनले नेपाली समाजमा चलचित्रहरूको थुप्रो त ओहिराइदिए तर ती चलचित्रहरूले नेपालको प्रतिनिधित्व गर्न सकिरहेका छैनन् । राजेश हमाल चलचित्रप्रति अलिकति पनि संवेदनशील हुँदा हुन् त उनले कम्तिमा पनि नृत्य गर्न सिक्दा हुन् । यसअर्थमा हेर्दा उनी बौद्विक नायक कम र शारीरिक नायक बढि हुन् किनभने आफ्नो ज्याङ्गो शरीर र स्वरकै भरमा उनी मजबुतिका साथ टिकिरहेका छन् । उनको ‘साइनिङ एमाउन्ट’ चुलिइ नै रहेको छ । अरू नायकहरू फ्याट्टफुट्ट उनका प्रतिस्पर्धी बनेर आउँछन् र केही समयमा नै हराएर जान्छन् । तर राजेश हमाल सधैँ उस्तै छन् । उनको मागमा कुनै कमी छैन । उनको व्यस्तता सधैँ चुलिँदो नै छ ।
While shooting 'Saurya'- Rajesh Hamal (at Chovar) - Feb 10, 2011

म केटाकेटी छँदा राजेश हमाल मेरा लागि संसारका सबैभन्दा बलिष्ठ मानव थिए । उनी संसारका सबै द्विविधाहरूको अन्त्य गरिदिन सक्छन् जस्तो लाग्थ्यो । अहिले उनी मेरा लागि ती व्यक्ति हुन् जो खुबी भएर पनि केही गरिरहेका छैनन् । उनलाई कहिलेकाहीँ नेपाली चलचित्रसँग जोडेर हेर्छु तर मैले उनलाई अभिनेता मान्न सकिरहेको छुइनँ । त्यहि पनि उनीबाट केही आशाहरू भने जीवितै राखेको छु । उनले कस्ता चलचित्रलाई उत्कृष्ट भन्ने गरिन्छ भनेर राम्ररी बुझेका छन् । आफू हिँडिरहेको बाटोबारे उनी पूर्णरूपमा सचेत छन् । उनले देखीदेखी जे गर्न पाएका छैनन् भन्दा पनि जे गरेका छैनन् त्यो अब गर्नेछन् भन्ने आशा राखेको छु ।

सारांशमा, मैले महसुस गरेअनुसार राजेश हमालले पैसाका लागि मात्र चलचित्र खेल्ने गरेका रहेछन् । दुईसयको हाराहारीमा चलचित्रहरू अभिनय गरिसकेका यी नायकको पोल्टामा मुश्किलले औँलामा गन्ती गर्न सकिने जति पनि स्तरीय चलचित्रहरू छैनन् । तसर्थ राजनीतिजस्तो नयाँ र चक्रव्युहपूर्ण क्षेत्रमा अभिमन्यु बन्न खोज्नुभन्दा आफूले तीन दशक अघिबाटै सुरु गरेको तर गर्न नसकेको कामलाई उत्कृष्टताकासाथ गरेर देखाइदिनुमा नै राजेश हमाल, नेपाली चलचित्रप्रेमी र सम्पूर्ण नेपाली जनताहरूको पनि भलो हुन जाला !!

शब्द/ तस्विर : राजन कठेत
चौथो वर्ष, मिडिया स्टडिज, काठमाडौँ विश्वविद्यालय
जुलाई ७, २०११

Friday, October 21, 2011

एक असफल आख्यानको आरम्भ

भूमिका बाँध्न चाहन्छु । उपन्यास सम्बन्धी मैले इच्छाएका कुरा पोख्नु अघि ‘यो’ किन्दाको पृष्ठभूमिलाई चिहाउन मन लाग्यो । २०६६ साल जेठ ७ गतेका दिन एक पुस्तक प्रदर्शनीबाट यो उपन्यास किनेको थिएँ- अर्किड बुक्स सेक्सनबाट नै । ध्रुवचन्द्र गौतम मैले लगभग सुनेको मात्र नाम थियो । पढेको नाम थिएन । बेलामौका पत्रपत्रिकामा त्यो गोलाकार हँसिलो आवरण देख्नु अर्कै कुरा हो । 

फेरी मैले यो उपन्यास नै किन छानेँ त? उपन्यासभन्दा पनि यसलाई पुस्तक भन्दा वेस होला । स्पष्ट पार्न चाहन्छु- ‘यो’ किन्दा मलाई थाहा थिएन यो कुनै उपन्यास हो वा संस्मरण । फेरी मैले राजेश केसीको उत्कृष्ट आवरण तस्विरका लागि पनि ‘यो’ किनेको हैन । न त ‘एक असफल आख्यानको आरम्भ’ नाममा युनिक्नेस नै भेट्टाएर हो । गोप्यताको ढक्कनलाई खोल्नुपर्दा – एकदिन आरोहण गुरुकुलमा मैले यो पुस्तक पढिरहेको अवस्थामा भेटेको थिएँ – सुनिल पोखरेललाई ।
*****

‘एक असफल आख्यानको आरम्भ’ प्रयोगात्मक उपन्यास हो । प्रयोगात्मक यसकारण कि यसले आख्यानात्मकता भन्दा पनि निबन्धात्मकतालाई प्रचुरमात्रामा शिरोपण गरेको छ । संस्मरणात्मकता पनि यत्रतत्र फेला पर्दछ । व्यङ्गात्मकता त यस उपन्यासको भुँडी हुँदै हो । ध्रुवचन्द्र गौतमको प्रयोगात्मकताले आख्यानका मुटुफोक्सो लगायत आन्द्राभुँडीहरू मजाले चेप्टिएका छन् भन्दा अभर नपर्ला । 
एक वाक्यमा समेट्नुपर्दा ‘एक असफल आख्यानको आरम्भ’ आधुनिक नेपाली लेखकहरूमा पाईने मपाईँवादप्रतिको घोचपेच हो । उपन्यास नेपाली लेखकहरूमा देखिएको र देखिन थालेको विकृतिमाथि प्रहार गरिएको झटारो हो । तर, कथाका पात्रहरूलाई किनारमा पन्छाएर उपन्यासको कथाचाहिँ ध्रुवचन्द्र गौतमका समकालीन, उँदाउँदै गरेका र अन्य लेखकहरूका कमजोरी र विकृतिहरू कोट्याउनमा केन्द्रीत छ । उपन्यासमा विषयविमुखताले पनि प्रशस्तै मात्रामा खुट्टा हालेको छ । गौतम प्रशस्तै मात्रामा बरालिएको भान हुन्छ । 
यस उपन्यासको मुटुलाई छाम्दा नेपाली लेखकहरू असल बन्न छोडेर सफलताउन्मुख मात्र हुन थालेको पाईयो । उनीहरूबाट संवेदनशीलता नामको चीजले अस्तित्व हराएको कुरा पनि छर्लङ्गियो । एउटै लेख (कृति) लेखेर लेखक सफलताको शिखरमा झण्डा फहराउने कुण्ठाप्रति मात्र अग्रसर बन्न थाले । पारिजातले भनेझैँ अरुको गल्ती र कमजोरी हेर्न माइक्रोस्कोप प्रयोग गर्ने तर आफ्नो हेर्न टिनको चस्मा भिर्ने प्रवृत्तिले आधुनिक नेपाली लेखक समाज गलेको देखियो । जसकारण इमान्दारीताको नाउमा तैरिन खोज्ने ‘आधार शर्मा (मुख्य पात्र)’ बीचैमा डुब्न विवश छ भने जीवनलाई सफलता र सम्पन्नताको तराजुमा जोख्ने र भोग्ने ‘सुषुम्ना’, पहिले ठाउँ नभेट्टाउन्जेल आधारकी प्रेमिका र पछि अनेकौँ सफल व्यक्तित्वकी प्रेमिका र विलासकी रानी, सफलताको उपल्लो कोटीमा पुग्न सफल हुन्छे । यहाँ असल लेखकहरू भोकभोकै डुल्छन् र कलम गुण्डा, अरू लेखकहरूलाई गाली गर्न र गिराउनमा आफ्नो लेखकीय जीवन समर्पित गरेका, हरू विलासिताका पौडिबाज बन्छन् । एउटा लेखक गिर्दा अर्कोले प्रसन्नताको मुद्रा छर्ने र एउटा सफल हुँदा अर्को ईर्ष्या र ग्लानीले भयभीत र छेदविछेद हुने प्रवृत्तिले  नेपाली लेखक समाज ढाकिएको छ । यही दोषोन्मुखताको अगेनामा नेपाली लेखन जगत गल्दैछ र यहाँ प्रशस्तै असफल लेखकहरू जन्मिँदैछन् । यहाँ एक असफल आख्यानको आरम्भ हुँदैछ ।   
समग्रमा ‘एक असफल आख्यानको आरम्भ’ मपाईँवादी र अवसरवादी लेखकहरूलाई गरिएको गाली हो । सिङ्गो गाली हो । चाटुकारी समाजमा हुर्किँदै गरेको विपन्न लेखनविरुद्द व्यक्त गरिएको छेड हो । आधुनिक र उत्तरआधुनिक भनेर कहल्लिएका लेखकहरूप्रति ध्रुवचन्द्र गौतमले गरेको व्यङ्ग्य हो ।

-   राजन कठेत
२०६७ कार्तिक १९, शुक्रबार
निर्मलीडाँडा- ५, खोटाङ

Thursday, October 20, 2011

ओ सिट्

ओ सिट्

छिप्पिँदै गरेको धुलाम्मे रातमा
यता बाट हुइकिँदै गइरहेछ एउटा दुईपाङ्ग्रे
जसको गतिलाई धावा बोल्न उताबाट आइरहेछ त्यस्तै अर्को,
ती दुई एकअर्काको सामुन्ने परेपछि
यताको दुईपाङ्ग्रेलाई थाहा हुन्छ
उसतिर बढिरहेको त चारपाङ्ग्रे हो
जसको टाउकाको एउटा लाइट बिग्रिएको छ,
त्यसपछि,
झ्याराम्म सिसा फुटेको,
केही ढलेको
आवाज फैलिन्छ
– काठमाडौँ ।


- राजन कठेत
अक्टोबर २०, २०११
त्रिपुरेश्वर

Tuesday, October 18, 2011

‘आचार्य’ – हजार सपनाहरूको माया लागेर आउँछ


“जहाँ छन् बुद्दका आँखा, स्नीग्ध, शान्त र सुन्दर
त्यहाँ छ शान्तिको क्षेत्र, मेरो राष्ट्र मनोहर”
यो गीत मैले त्यो बेला सुनेको थिएँ जबकी मलाई यो गीत हो भन्ने नै थाहा थिएन । हजुरबुवाको रेडियोमा प्रायजसो बिहानपख बज्ने यो मान्छेको स्वरमिश्रीत धुन सुगारटाइ बनेर मेरो मष्तिष्कमा छिपिएको थियो । जब बज्थ्यो म चिनिहाल्थेँ यो त्यहि धुन हो भनेर । टिभीको सङ्गत सुरु भएपछि यो परिचित धुन टाढा हुँदै गयो ।
भक्तराज आचार्य मैले कता कता सानैदेखि सुनेको नाम थियो । नारायणगोपाल उदाएको युगको गायक भनेर ठम्याउँदथेँ म भक्तराजलाई । भक्तराज आचार्यप्रतिको मेरो सम्मान र उनको गायनप्रतिको चाख काठमाडौँ विश्वविद्यालय छिरेपछि मात्र चुलियो । पुराना नेपाली साङ्गितिक सृजनाहरूमा चासो राख्ने सहपाठीहरू वरिपरि हुनाले बच्चुकैलाश र भक्तराजजस्ता स्रष्टाहरूलाई अत्यधिक मात्रामा सुन्न थालेँ । त्यसपछि पुराना गायकहरूमा नारायणगोपाललाई मात्र अत्यधिक मात्रामा चिन्ने हाम्रो समाजमा मैले बच्चुकैलाश र भक्तराज आचार्यलाई नारायणगोपाल बिराजमान भएको श्रेणीमा राखेर सुन्न थालेँ ।
भजनशिरोमणीको उपाधीले प्रख्यात भक्तराज आचार्यमाथि चलचित्र बन्दैछ भन्ने कुरा सुन्न पाउनु एउटा ठूलो हर्षको विषय नै थियो । प्रशान्त रसाईली जसले कागबेनी जस्तो कोसेढुङ्गासाबित चलचित्रमा काम गरिसकेका थिए र जसले ‘काइटस्’मा अनुराग बासुको सहनिर्देशक भई बलिउड उद्योगबाट अनुभव बटुलीसकेका थिए, उनीद्वारा नै यो चलचित्र निर्देशन हुँदैछ भन्ने सुन्न पाउनु झनै ठूलो आशाको कारक थियो ।    
जब मुलुक भुईँचालो, जहाज दुर्घटना र एक मुस्लिम नेताको हत्याजस्ता हृदयविदारक घटनाहरुबीच गुज्रिरहेको थियो, मलाई त्यहिबेला भक्तराज आचार्यमाथि बनेको भनिएको चलचित्र ‘आचार्य’ हेर्न जुर्यो । अहिले हामी साथीहरूबीच नेपाली चलचित्र ‘एक्स्पेक्टेसन’ नबोकी हेर्न जानुपर्छ भन्ने विचारको खेती हुन थालेको छ । जहाँसम्म मलाई यो हाम्रो विचार अपकर्षित लाग्नुको सट्टा सही नै लाग्छ किनभने विदेशी चलचित्रहरूको पर्फेक्सन हेर्ने बानीले हामी दर्शकको स्तर पनि परिपक्व हुँदै गइरहेको छ । यस यथार्थबीच कम लगानी र छोटो समयमा निर्माण हुने हाम्रा नेपाली चलचित्रले हामी नेपाली दर्शकलाई पूर्णरुपमा सन्तुष्टी प्रदान गर्न नसक्नु एउटा कमजोरी नभएर एउटा सत्य हो । तसर्थ, ‘आचार्य’मा मैले भक्तराज आचार्यलाई खोज्न जानुको सट्टा एउटा सुन्दर नेपाली चलचित्र हेर्न जानुपर्थ्यो ।
मैले देखेको सत्य- भक्तराज आचार्यको निधन भएको अर्को दिन प्रायजसो सबै खबरपत्रिकाहरूले छाप्लान्- ‘भक्तराज आचार्य नारायणगोपाल भन्दा कुनै पनि कोणले कम थिएनन् । भन्ने हो भने उनी नारायणगोपालकै स्तरका थिए।’ यो नितान्त मैले देखेको भविष्य जसले सत्य हुनु कुनैपनि जरुरत राख्दैन । ‘आचार्य’मा फर्किनुपर्दा, भक्तराज आचार्य मेरा निमित्त ती स्रष्टा हुन्, जसको वजनलाई आगामी दिनमा निर्माण हुनसक्ने कुनैपनि सङ्गीत या दृश्यहरूमा समेट्न असम्भव नै हुन्छ । ‘आचार्य’मा भक्तराज एकदम नै न्यूनरुपमा समेटिनुलाई चलचित्रको कमजोरी भनुँ या त भक्तराजको भार ?
मैले भक्तराजका थोरै गीतहरू सुनेको छु, तर जति सुनेको छु, हृदयबाट सुनेको छु । चलचित्र अवधिभर ममा एउटै कुरा खट्किरह्यो, चलचित्र निर्माण सुरु हुनु अगावै निर्देशक र लेखकले भक्तराजका सृजनालाई किन राम्रोसित सुनेनन्, ती उत्कृष्ट सृजनालाई किन हृदयबाट नै सुन्न खोजेनन् । चलचित्रमा जहाँ जहाँ भक्तराजकै ओरिजिनल स्वर गुञ्जिन्छन्, पर्दामा देखिने दृश्यहरू एकदमै कमजोर र खल्ला महसुस हुन्छन् । त्यो गहिरो साङ्गितिक प्रकटनमा चलेका दृश्यहरू फिक्का र खल्ला लाग्छन् - यस्तो लाग्छ त्यहाँ केही गहिरो अनुभूति देखिनु जरुरी छ ।
‘आचार्य’को कमजोर पक्ष भनेको यसको कथावस्तु हो । कथावस्तुमा भक्तराज आचार्य एकदम नै कम समेटिए । एउटा पत्रकारलाई दिइएको अन्तर्वार्ताको पक्षबाट यी सर्जकको कथा भनिनु नै मलाई चलचित्रको कमजोर पक्ष लाग्यो । भक्तराजका सङ्घर्षका क्षणहरू त प्रस्तुत हुन्छन् तर ती फितला र सतहीजस्तामात्र लाग्छन् ।    
'आचार्य'मा मैले भक्तराजमाथि बनेको चलचित्रभन्दा पनि छोराहरूले एउटा बाउलाई दिएको ट्रिब्युट हावी भएको देखिरहेको थिएँ । भक्तराज पात्र एउटा मानवभन्दा बढी एउटा फिल्मी नायकजस्ता देखिए । भक्तराजका जीवनका अनेकौँ पाटा र मनस्थितीहरूलाई फिल्ममा नसमेट्नु कमजोर पक्ष हुन् । यी भजनशिरोमणीका भजनहरू छायाँमा परेका छन् । उनका श्रोताहरूमाझ परिचित केही गीतहरूमात्र समेटिएका छन् । भक्तराजको गीत ‘म कहीँ कतै हराएँ’जस्तै फिल्मबाट भक्तराज पनि हराएकाजस्ता लाग्छन् ।
‘गुलाम अली – भक्तराज’ दृश्यको साटो भक्तराजको जीवनमा प्रभाव पारेका अरू कुनै घटनाहरू समेटिएको भए वेस हुन्थ्यो । गुलाम अलीको उचाइलाई भक्तराजको कथा मजबुत पार्नका लागि चलचित्रमा जोडेको भए पनि यसले चलचित्रको गुदीमा खासै फरक पारेको छैन । गुलाम अलीले गरेको प्रशंसा र प्रोत्साहन बिना पनि भक्तराजलाई सबल देखाउन सकिन्थ्यो ।
चलचित्रमा देखिने सबै कलाकारहरूले आ-आफ्नो भूमिका राम्ररी निभाएका छन् । चलचित्रमा छोटो भूमिकामा देखिएका सौगात मल्लको अभिनय प्रशंसायोग्य छ । उनले खेलेको गुण्डाको भूमिकामा उनी ज्यादै सुहाएका छन् । त्यस्तै अर्का कलाकार आशान्त शर्मा, जो घरीघरी राजपाल यादवको याद दिलाउँछन्, उनले पनि तारिफयोग्य काम गरेका छन् ।   
अहिले नेपाली चलचित्र उद्योगमा जुन किसिमले चलचित्रहरू ओहिरिरहेका छन्, तीभन्दा ‘आचार्य’ धेरै उत्कृष्ट छ । यो सरल चलचित्र हो- यसमा दैनिक जीवनका हाउभाउहरू सरल रुपमा प्रस्तुत छन् । निर्देशन पक्ष पनि बलियो छ । भक्तराजको जीवन बिर्सेर चलचित्रको रुपमा मात्रै हेर्ने हो भने ‘आचार्य’ झनै राम्रो लाग्छ ।
अन्त्यमा, मेरो मोबाइल या कम्प्युटरमा जब भक्तराजको ‘हजार सपना’ बज्छ, त्यो बेला म यो गीतका अगाडी अपाहिज बनेर लठ्ठिन्छु, गीत शरिरभरी लाग्छ; ‘आचार्य’मा पनि यो गीतका अगाडि विच्छ्याइएको दृश्यले यस सृजनाको भार थाम्न प्रयत्न गर्नुपर्थ्यो ।   

राजन कठेत
सेप्टेम्बर २७, २०११
अल्पविराम प्रा. लि.