Tuesday, October 18, 2011

‘आचार्य’ – हजार सपनाहरूको माया लागेर आउँछ


“जहाँ छन् बुद्दका आँखा, स्नीग्ध, शान्त र सुन्दर
त्यहाँ छ शान्तिको क्षेत्र, मेरो राष्ट्र मनोहर”
यो गीत मैले त्यो बेला सुनेको थिएँ जबकी मलाई यो गीत हो भन्ने नै थाहा थिएन । हजुरबुवाको रेडियोमा प्रायजसो बिहानपख बज्ने यो मान्छेको स्वरमिश्रीत धुन सुगारटाइ बनेर मेरो मष्तिष्कमा छिपिएको थियो । जब बज्थ्यो म चिनिहाल्थेँ यो त्यहि धुन हो भनेर । टिभीको सङ्गत सुरु भएपछि यो परिचित धुन टाढा हुँदै गयो ।
भक्तराज आचार्य मैले कता कता सानैदेखि सुनेको नाम थियो । नारायणगोपाल उदाएको युगको गायक भनेर ठम्याउँदथेँ म भक्तराजलाई । भक्तराज आचार्यप्रतिको मेरो सम्मान र उनको गायनप्रतिको चाख काठमाडौँ विश्वविद्यालय छिरेपछि मात्र चुलियो । पुराना नेपाली साङ्गितिक सृजनाहरूमा चासो राख्ने सहपाठीहरू वरिपरि हुनाले बच्चुकैलाश र भक्तराजजस्ता स्रष्टाहरूलाई अत्यधिक मात्रामा सुन्न थालेँ । त्यसपछि पुराना गायकहरूमा नारायणगोपाललाई मात्र अत्यधिक मात्रामा चिन्ने हाम्रो समाजमा मैले बच्चुकैलाश र भक्तराज आचार्यलाई नारायणगोपाल बिराजमान भएको श्रेणीमा राखेर सुन्न थालेँ ।
भजनशिरोमणीको उपाधीले प्रख्यात भक्तराज आचार्यमाथि चलचित्र बन्दैछ भन्ने कुरा सुन्न पाउनु एउटा ठूलो हर्षको विषय नै थियो । प्रशान्त रसाईली जसले कागबेनी जस्तो कोसेढुङ्गासाबित चलचित्रमा काम गरिसकेका थिए र जसले ‘काइटस्’मा अनुराग बासुको सहनिर्देशक भई बलिउड उद्योगबाट अनुभव बटुलीसकेका थिए, उनीद्वारा नै यो चलचित्र निर्देशन हुँदैछ भन्ने सुन्न पाउनु झनै ठूलो आशाको कारक थियो ।    
जब मुलुक भुईँचालो, जहाज दुर्घटना र एक मुस्लिम नेताको हत्याजस्ता हृदयविदारक घटनाहरुबीच गुज्रिरहेको थियो, मलाई त्यहिबेला भक्तराज आचार्यमाथि बनेको भनिएको चलचित्र ‘आचार्य’ हेर्न जुर्यो । अहिले हामी साथीहरूबीच नेपाली चलचित्र ‘एक्स्पेक्टेसन’ नबोकी हेर्न जानुपर्छ भन्ने विचारको खेती हुन थालेको छ । जहाँसम्म मलाई यो हाम्रो विचार अपकर्षित लाग्नुको सट्टा सही नै लाग्छ किनभने विदेशी चलचित्रहरूको पर्फेक्सन हेर्ने बानीले हामी दर्शकको स्तर पनि परिपक्व हुँदै गइरहेको छ । यस यथार्थबीच कम लगानी र छोटो समयमा निर्माण हुने हाम्रा नेपाली चलचित्रले हामी नेपाली दर्शकलाई पूर्णरुपमा सन्तुष्टी प्रदान गर्न नसक्नु एउटा कमजोरी नभएर एउटा सत्य हो । तसर्थ, ‘आचार्य’मा मैले भक्तराज आचार्यलाई खोज्न जानुको सट्टा एउटा सुन्दर नेपाली चलचित्र हेर्न जानुपर्थ्यो ।
मैले देखेको सत्य- भक्तराज आचार्यको निधन भएको अर्को दिन प्रायजसो सबै खबरपत्रिकाहरूले छाप्लान्- ‘भक्तराज आचार्य नारायणगोपाल भन्दा कुनै पनि कोणले कम थिएनन् । भन्ने हो भने उनी नारायणगोपालकै स्तरका थिए।’ यो नितान्त मैले देखेको भविष्य जसले सत्य हुनु कुनैपनि जरुरत राख्दैन । ‘आचार्य’मा फर्किनुपर्दा, भक्तराज आचार्य मेरा निमित्त ती स्रष्टा हुन्, जसको वजनलाई आगामी दिनमा निर्माण हुनसक्ने कुनैपनि सङ्गीत या दृश्यहरूमा समेट्न असम्भव नै हुन्छ । ‘आचार्य’मा भक्तराज एकदम नै न्यूनरुपमा समेटिनुलाई चलचित्रको कमजोरी भनुँ या त भक्तराजको भार ?
मैले भक्तराजका थोरै गीतहरू सुनेको छु, तर जति सुनेको छु, हृदयबाट सुनेको छु । चलचित्र अवधिभर ममा एउटै कुरा खट्किरह्यो, चलचित्र निर्माण सुरु हुनु अगावै निर्देशक र लेखकले भक्तराजका सृजनालाई किन राम्रोसित सुनेनन्, ती उत्कृष्ट सृजनालाई किन हृदयबाट नै सुन्न खोजेनन् । चलचित्रमा जहाँ जहाँ भक्तराजकै ओरिजिनल स्वर गुञ्जिन्छन्, पर्दामा देखिने दृश्यहरू एकदमै कमजोर र खल्ला महसुस हुन्छन् । त्यो गहिरो साङ्गितिक प्रकटनमा चलेका दृश्यहरू फिक्का र खल्ला लाग्छन् - यस्तो लाग्छ त्यहाँ केही गहिरो अनुभूति देखिनु जरुरी छ ।
‘आचार्य’को कमजोर पक्ष भनेको यसको कथावस्तु हो । कथावस्तुमा भक्तराज आचार्य एकदम नै कम समेटिए । एउटा पत्रकारलाई दिइएको अन्तर्वार्ताको पक्षबाट यी सर्जकको कथा भनिनु नै मलाई चलचित्रको कमजोर पक्ष लाग्यो । भक्तराजका सङ्घर्षका क्षणहरू त प्रस्तुत हुन्छन् तर ती फितला र सतहीजस्तामात्र लाग्छन् ।    
'आचार्य'मा मैले भक्तराजमाथि बनेको चलचित्रभन्दा पनि छोराहरूले एउटा बाउलाई दिएको ट्रिब्युट हावी भएको देखिरहेको थिएँ । भक्तराज पात्र एउटा मानवभन्दा बढी एउटा फिल्मी नायकजस्ता देखिए । भक्तराजका जीवनका अनेकौँ पाटा र मनस्थितीहरूलाई फिल्ममा नसमेट्नु कमजोर पक्ष हुन् । यी भजनशिरोमणीका भजनहरू छायाँमा परेका छन् । उनका श्रोताहरूमाझ परिचित केही गीतहरूमात्र समेटिएका छन् । भक्तराजको गीत ‘म कहीँ कतै हराएँ’जस्तै फिल्मबाट भक्तराज पनि हराएकाजस्ता लाग्छन् ।
‘गुलाम अली – भक्तराज’ दृश्यको साटो भक्तराजको जीवनमा प्रभाव पारेका अरू कुनै घटनाहरू समेटिएको भए वेस हुन्थ्यो । गुलाम अलीको उचाइलाई भक्तराजको कथा मजबुत पार्नका लागि चलचित्रमा जोडेको भए पनि यसले चलचित्रको गुदीमा खासै फरक पारेको छैन । गुलाम अलीले गरेको प्रशंसा र प्रोत्साहन बिना पनि भक्तराजलाई सबल देखाउन सकिन्थ्यो ।
चलचित्रमा देखिने सबै कलाकारहरूले आ-आफ्नो भूमिका राम्ररी निभाएका छन् । चलचित्रमा छोटो भूमिकामा देखिएका सौगात मल्लको अभिनय प्रशंसायोग्य छ । उनले खेलेको गुण्डाको भूमिकामा उनी ज्यादै सुहाएका छन् । त्यस्तै अर्का कलाकार आशान्त शर्मा, जो घरीघरी राजपाल यादवको याद दिलाउँछन्, उनले पनि तारिफयोग्य काम गरेका छन् ।   
अहिले नेपाली चलचित्र उद्योगमा जुन किसिमले चलचित्रहरू ओहिरिरहेका छन्, तीभन्दा ‘आचार्य’ धेरै उत्कृष्ट छ । यो सरल चलचित्र हो- यसमा दैनिक जीवनका हाउभाउहरू सरल रुपमा प्रस्तुत छन् । निर्देशन पक्ष पनि बलियो छ । भक्तराजको जीवन बिर्सेर चलचित्रको रुपमा मात्रै हेर्ने हो भने ‘आचार्य’ झनै राम्रो लाग्छ ।
अन्त्यमा, मेरो मोबाइल या कम्प्युटरमा जब भक्तराजको ‘हजार सपना’ बज्छ, त्यो बेला म यो गीतका अगाडी अपाहिज बनेर लठ्ठिन्छु, गीत शरिरभरी लाग्छ; ‘आचार्य’मा पनि यो गीतका अगाडि विच्छ्याइएको दृश्यले यस सृजनाको भार थाम्न प्रयत्न गर्नुपर्थ्यो ।   

राजन कठेत
सेप्टेम्बर २७, २०११
अल्पविराम प्रा. लि.
 

1 comment:

RaaZ said...

:) I was just planning to watch Acharya. Now I decided to watch it.