Monday, November 21, 2011

ओरालो लाग्दै निगम

also published at Jhoomka Dot Com as दोषी एक भागीदार अनेक


सबै तस्विरहरू इन्टरनेटबाट लिइएको हो

"ओरालो लागेको निगमलाई मुसाले पनि लखेट्छ "


NAC को जहाजमा मुसा 'धुम मचाले' गर्दै
‘लिभिङ्’ म्यागाजिनको नोभेम्वर संस्करणमा प्रकाशित "थाई एयर-दि वर्ल्डस् बेस्ट" विज्ञापन हेरेको केही मिनेट पनि नबित्दै कान्तिपुर दैनिकको कात्तिक २९ मा प्रकाशित "निगममा भद्रगोल" सम्पादकीय हेर्न पुगेछु । सुरुमा आयल निगममा के भद्रगोल भएछ त भन्ठानेर पढ्न सुरु गरेको उक्त सम्पादकीय राजनीतिक नियुक्ति, संरक्षण र हस्तक्षेपबाट थला परिरहेको नेपाल वायुसेवा निगमबारे रहेछ । पचास वर्षभन्दा लामो इतिहास बोकेको निगमको त्यो लज्जास्पद स्थिति पढेपछि पाइलट पढ्न भनेर विदेशिएका नेपाली युवापीँढिहरूप्रति करूणा पलाएर आयो ।

वायु सेवा निगमको दुर्गति त आफ्नै ठाउँमा छँदैछ, तर यसले पाइलटको जागिर खोजिरहेका र पाइलट पढाइका लागि विदेशिएका युवापीँढीको भविष्य पनि अन्योलमय बनाइदिएको छ । त्यसो त पाइलट पढाइ भनेको महङ्गो विषय हो जुन साधारण हैसियत भएकाहरूका लागि धेरै परको कुरा हो । एक त नेपालमा पाइलट पढाइ हुँदैन । केही वर्ष अघि भरतपुरमा पाइलट पढाइ सुरु गरेको शिवानी एयर पनि व्यवस्थापनको कमजोरी र हेलचेक्र्याइँका कारण तीन वर्ष पनि टिक्न नपाउँदै आफैँ उखेल्लिइसकेको छ । अष्ट्रेलिया, अमेरिका, साउथ अफ्रिका वा फिलिपिन्समा गएर पाइलट पढ्न तीस लाखभन्दा बढी खर्च लाग्छ । यति खर्च गरिसकेपछि पनि पाइलटको जागिर नपाएपछि देशका पाइलट विद्यार्थीहरू हतोत्साहित हुँदै गइरहेका छन् । ऋणमा पाइलट पढेकाहरूको स्थिति त एकदम नै नाजुक छ ।

अन्य नीजि वायुसेवा निगममा जागिर भेट्नु चानचुने कुरा होइन । पाइलटको जागिर हतपत्त खुल्दैन र पाइलट चाहिएको खण्डमा आफ्ना नजिककालाई अनुबन्ध गराइहालिन्छ । अहिले देशमा २५० भन्दा बढी युवा पाइलटहरू बेरोजगार स्थितिमा छन् । त्यसमा पनि वर्षेनी ५० को हाराहारीमा विद्यार्थीहरू पाइलट बनेर भित्रिने क्रम जारी छ ।

नेपाल वायुसेवा निगमको इतिहासलाई हेर्ने हो भने यसको स्थापनाकालमा योसँग ट्विनअटर र बोइङ गरी १९ वटा जहाजहरू थिए जसको सङ्ख्या अहिले लोपोन्मुख हुँदै ५ को हाराहारीमा झरेको छ । निगमसँग भएका सुचारु २ वटा बोइङ्को पनि अब २०१४ को आसपासमा म्याद सकिँदै छ । निगमसँगै स्थापना भएको थाइ एयरवेज एउटा ब्रान्ड एयरवेजको रुपमा स्थापित भइसक्दा हाम्रो निगम भने वैतरणीको अवस्थामा पुगेर लम्पसार परेको छ । एउटा विमान भित्रियो भने कैयौँ पाइलट, अपरेटर तथा अन्य साना टेक्निसियनहरूले रोजगारी पाउन सक्छन् जसअनुसार पाइलट बेरोजगारी घटाउन चाहेको खण्डमा नेपाल वायु सेवा निगमलाई त्यस्तो ठूलो र गाह्रो कसरत केही पनि गरिरहनु पर्दैन ।

 निगममा जहाज थपिने सम्भावना प्रचुर मात्रामा हुँदाहुँदै पनि दुई खेमामा विभाजित कर्मचारीहरूको ‘कमिसन मोह’ले त्यसलाई असम्भव बनाउँदै गइरहेको छ । तसर्थ, राजनीतिक नियुक्तिका कारण पिल्सिरहेको निगमले कर्मचारीको भुँडी भर्ने काम बाहेक अरू ठूलो उपलब्धी केही पनि हासिल गर्न सकेको छैन ।

सडक पुग्न नसकेका ठाउँमा जहाजबाट यात्रा गरिरहेका स्थानीय यात्रु र पर्यटकहरू पनि निगमका कम जहाजका कारण विभिन्न सास्ती खेपिरहेका छन् । एउटा टिकट पाउन सांसदकै फोर्स लाउनुपर्ने र कहिलेकाहीँ दलालीमार्फत दोब्बर रकममा टिकट खरिद गर्नुपर्ने जस्ता विकृतिहरू सामान्य लाग्न थालेका छन् । वायु सेवा निगमबाट लगातार आइरहेका कर्मचारीबीचको झगडा, मुसा छिरेका, पाङ्ग्रा हराएका, गिएर हराएका आदिजस्ता विकृत र लज्जास्पद खबरहरूले राजनीतिको कारणले देशको डुब्दो अवस्थालाई उजागर गरिरहेका छन् ।

जहाँ जहाँ राजनीतिक नियुक्ति र हस्तक्षेपले खुट्टा हाल्छ त्यहाँ त्यहाँ संस्था र मानवशक्तिहरू खोक्रा र बेकाम हुँदै गइरहेका छन् । यस्ता संस्थाहरुलाई राजनीतिबाट अछुत राख्न सम्भव नभएमा सरकारले नीजि क्षेत्रलाई नै यिनको व्यवस्थापन र कार्यभार सुम्पिनु उचित हुन्छ । यसो गर्नाले पाइलट बेरोजगारी र हवाइ यातायातका समस्याहरू घट्नेमात्र नभएर सम्पूर्ण देशको अर्थ र इज्जतमा नै परिवर्तन आउन सक्छ ।



- राजन कठेत
सहायक स्रोत: एक पाइलट साथी
नोभेम्बर १६, २०११
काठमाडौँ
 

No comments: