Wednesday, December 7, 2011

मिडनाइट What?

मलाई यत्ति डर छ झुक्किएर यो लेख पढ्नेले ‘यसले हावादारी दर्शन छाडेछ’ भन्लान् भन्ने । म सायद कसैलाई यो सुनाउन लेखिरहेको पनि छैन । लेख्दैछु बस् यत्ति लागेकोले कि यो मेरो मनमा अहिले भुत्भुत्तिरहेको कुरा कतै पोखिएर खरानी बन्नै पर्छ  

म मान्दिनँ मेरो कुलको लहरो तन्काउन मात्र जन्माइएको हुँ म । तर मैले मान्नै पर्छ सामाजिक आवश्यकता पूर्तिका लागि म जन्माइएँ । परिवारमा डाक्टर, इन्जिनियर या मन्त्रालयको सचिवको खाँचो भएर मेरो सृजना भएन होला । म केबल सन्तानका लागि जन्माइएँ र यसैमा म बढी गर्व गर्छु । म जन्माइएँ त जन्माइएँ, अब के ? राम्रोसित बाँच्नु नै हो त मेरो अन्तिम उपाय । सुखको सास फेर्नु मात्रै होर बाँच्नुको सार्थकता ? फेरी सुख भनेको के हो- डिनरका साथ वाइन्? कालो सिसाभित्रको रेबन चस्मा? नेपालको कन्टेक्समा क्यु. एफ्. एक्स् ?

‘म’ बाँच्नु भनेको के हो- यसको उत्तर सिर्फ म मात्रै महसुस गर्न सक्छु । ‘डार्क नाइट’मा जोकरले पैसाको पहाडमा आगो लगाएपछि ‘मलाई’ त्यो जोकर पात्रले पनि बुझ्न सक्छ कि जस्तो महसुस भएको थियो ।

बल्ल त ग्राज्युएट भइयो । सायद अब जे अगाडि पर्नेछन् ती मेरा सङ्घर्षका निमित्त भनेर आउनेछन् । जेजेले मलाई कुल्चिनेछन्, ती कुल्चिने वस्तु सायद मेरा दु:खका कारक हुनेछन् । हिँजोसम्म म जेलाई दु:ख भन्दै थिएँ या त नबुझेर या त भ्रमित भएर अहिले पनि भनिरहेको छु, ती सायद दु:ख थिएनन् । सायद ती मात्र क्षणिक तिर्खा थिए । म भोको पेटलाई दु:खको नाम दिइरहेको थिएँ । विद्यालय र कलेजका परिक्षाका बेला म बाँचेका अनिदा रातलाई म सायद दु:ख भनिरहेको थिएँ । खुट्टा नसर्ने उकालो र घुँडा खुम्चिने भिरालोलाई सायद म दु:ख भनिरहेको थिएँ । यो भ्रम अझै छ ममा ।

Photo By: Shail Shrestha (June 2010)
मेरो बुवा मलाई अब थन्क्याउन चाहनुहुन्छ । उहाँ मलाई धेरै माया गर्नुहुन्छ र सायद मलाई भोको पेट दौडिएको रत्ति पनि कल्पना गर्न चाहनुहुन्न । एउटा राम्रो आम्दानी दिने रुखमा म कसैगरी अल्झिदिए उहाँ सायद सन्तोषको सास फेर्नुहुन्थ्यो, अफसोच यो अल्झाइ मेरो जीवनको अन्त्य लाग्छ मलाई । कसैले यो मेरो कुरालाई ‘तेरो उमेरको जोस, हामीले नि त्यो भोग्या हम् क्यारे’ भन्यो भने म उसलाई गलत ठान्दिनँ । आजसम्म आइपुग्दा हिँजो गरेका धेरै कुराहरूलाई बल्ल आझ बुझ्दैछु । त्यहि पनि पाएको एउटा जीवन, अर्को जन्ममा रिसाहा लाहुरेको घरको ‘पेट डग’ भएर जन्मिने पो होकि भन्ने डर पनि कता कता । यही बेला पाएको मान्छेको जुनि अब आफ्नै तरिकाले कसो नघिसारूँ त भन्ने मनोक्रान्ति पनि कता कता हुर्किरहेको अवस्था । आफ्नो सपनाको पछि पछि त लखेटिनै पर्छ । समाजमा झुटो आडम्बर देखाएर आफू भित्र भित्रै सल्किए मजा नै कहाँ भयो र ! 

यात्रामा बाघभालुको डरले बीच जङ्गलबाट नै फर्किए के मजा ! त्यो डरलाई कुल्चिँदै जङ्गल काटेपछि आफ्नो अगाडि तेर्सिन सक्ने त्यो मनोहर पाखा र डाँडालाई बाघभालुको डरले साँचो हुनबाट रोके भने त यात्रा नै कहाँ भयो र । मलाई त त्यो मनोरम पाखामा ‘स्ट्रीपर’ बन्नु छ । जन्मदाको अवस्थामा झरनामुनि थापिनु छ । एकबारको जुनि, क्रिश्चेन भए माटोमुनि, हिन्दु भए बगेर कता पुग्ने हो कुन्नि !

यी तथानाम जथाभावी म किन लेखिरहेको छु त? न मैले लेखेका र पोखेका प्राय विचारले मेरो अथोरिटी नै जनाउन सक्छन् ।  पहिलो सत्य- १० बजे लोडसेडिङ सकिएर बत्ति आयो । मलाई १.३०मा म्यानचेस्टर युनाइटेडको खेल हेर्नुछ । यो बीचको ३ घण्टा काट्ने एउटा राम्रो र फलदायी उपाय । दोस्रो- राम्रो लेखाइ निरन्तर लेखाइको उपज हो, लेख्न कदापि छाड्नुहुन्न- सायद यो कुरा सबैमा लागु हुन सक्ला । म केबल यही कुरालाई ममा पनि लागु गराउन आफूभित्र जन्मिने कुराहरूलाई मात्र अक्षरी रुप दिइरहेको छु । बाँकीको आधा घण्टा नेस्क्याफेलाई !! ह्याप्पी विन्टर !!

@ FACEBOOK
.०० ए.एम्.
डिसेम्बर ८, २०११
काठमाडौँ